रवि लामिछानेको रिहाइ प्रक्रियामा कुनै गल्ती भएको छैन -डीपी अर्याल

रवि लामिछानेको रिहाइ प्रक्रियामा कुनै गल्ती भएको छैन -डीपी अर्याल

केन्द्रबिन्दु
48
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यवाहक सभापति डीपी अर्यालले पार्टी सभापति रवि लामिछानेको कारागारबाट रिहाइ प्रक्रियामा कुनै गल्ती वा कमजोरी नभएको स्पष्ट पारेका छन्।

उनले केही सञ्चारमाध्यममा आएका एकतर्फी समाचारको पछि नलाग्न आग्रह गर्दै सम्पूर्ण प्रक्रियाको समन्वय आफूले गरेको र लामिछानेलाई यस विषयमा कुनै जानकारी नरहेको बताएका छन्।

उनले लामिछाने कारागारबाट निस्किने बेला आफू त्यहीँ रहेको र पत्रको व्यहोरा र मिति आफूअगाडि नै हस्ताक्षर भएको दाबी गरे । उनले पत्रको मिति सच्याएको कुरा स्वीकार गर्दै हतार र हतासमा व्यहोरामा तलमाथि भएको हुन सक्ने बताए।

अर्यालका अनुसार कारागारबाट आएको पत्र फेक होइन। अघिल्लो पत्रका विवरणहरू डिलिट नभएकाले हतारमा व्यहोरा तलमाथि हुन गएको हुन सक्छ । मिति सच्याइएको भए पनि त्यसमा हस्ताक्षर र छाप भने लगाइएको छ।

गृहमन्त्रालय, सुरक्षा निकाय र कारागारसँग समन्वय गर्ने सम्पूर्ण जिम्मेवारी आफूले लिएको र यसमा रवि लामिछानेको कुनै दोष नरहेको उनले बताए।

यसैगरी लामिछानेलाई समयमा रिहा नगरिएको भए कारागारमा ठूलो क्षति हुन सक्ने स्वयं कारागारले स्वीकार गरेको अर्यालको भनाइ छ। उनले लामिछाने भागेर नभई सुरक्षा निकायको समन्वयमा रिहा भएको बताए।

अर्यालका अनुसार नख्खु कारागारको अवस्था अझै पनि ठिक छैन र सुरक्षा चुनौती कायम छ। उनले कारागार व्यवस्थापन र सिडिओ कार्यालयसँग नियमित समन्वय भइरहेको र सुरक्षाको प्रत्याभूति भएपछि मात्र लामिछाने कारागार जाने जानकारी दिए।

उनले सबैलाई साक्षी राखेर आफू यी कुरा गर्न तयार रहेको र पार्टी सभापतिको सुरक्षा आफ्नो लागि पहिलो प्राथमिकता रहेको कुरा दोहोर्याए।

Logo