सेवाबाट बिदा हुँदा पनि अर्थ मन्त्रालयले खोजिरहेका खनाल

सेवाबाट बिदा हुँदा पनि अर्थ मन्त्रालयले खोजिरहेका खनाल

केन्द्रबिन्दु
93
Shares

काठमाडौं । जेन–जी आन्दोलनको बलमा गठन भएको सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले आफ्नो मन्त्रिपरिषद् विस्तार शुरु गरेको छ । मन्त्रिपरिषद्मा विषय विज्ञ र आन्दोलनकारी जेन–जीसँगको परामर्शपछि पहिलो चरणमा मन्त्री हुने हरूको नाम टुंगो लागेको हो । प्रधानमन्त्री कार्कीले समाजका सबै पक्षको प्रतिनिधित्व हुने गरी मन्त्रिपरिषद् विस्तार गर्न खोजेको स्रोत बताउँछ ।

प्रधानमन्त्री कार्कीले आफ्नो मन्त्रिमण्डललाई ११ सदस्यीयभन्दा नबढाउने तयारी गरेकी बुझिएको छ । चुनाव गराउनुपर्ने जिम्मेवारी र यसका लागि सर्वस्वीकार्य टिम निर्माणमा रहेकी कार्की नेतृत्व सरकारको अर्थमन्त्रीको जिम्मेवारी पूर्वसचिव रामेश्वर खनालले सम्हाल्ने भएका छन् ।

को हुन् त रामेश्वर खनाल ?

नवनियुक्त अर्थमन्त्री खनाल अर्थ प्रशासनका विज्ञ मानिन्छन् । अर्थ मन्त्रालयको प्रशासनिक नेतृत्वमा रहँदा र त्यसपछि पनि खनालले आर्थिक सुधारको पक्षमा निरन्तर काम गरिरहेका छन् । उनलाई अर्थतन्त्रमा विशेष दख्खल भएका र इमानदार प्रशासकका रुपमा लिने चिनिन्छ । खनालले मन्त्री भएबापत पाइने अतिरिक्त सुविधा निजी सुरक्षागार्ड (पीएसओ), सवारीसाधन लगायत सेवा सुविधा नलिने शर्त राखेरै मन्त्री पद स्विकार गरेको उनीनिकट स्रोतले बताएको जनाएको छ ।

सरकारी जीवनको अधिकांश समय अर्थ मन्त्रालयमा काम गरेका खनालले २०६५ देखि २०६७ सम्म अर्थ मन्त्रालयका सचिवको रुपमा काम गरेका थिए । सचिवका रुपमा खनालले डा. रामशरण महत, डा. बाबुराम भट्टराई, सुरेन्द्र पाण्डे तथा भरतमोहन अधिकारीलगायत मन्त्रीहरूसँग काम गरेका थिए । खनाल निवर्तमान सरकारले गठन गरेको उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको अध्यक्ष भएर काम गरेका छन् ।

अर्थतन्त्रमा गर्नुपर्ने सुधारका लागि विभिन्न सिफारिस ०८१ चैतमा तत्कालीन अर्थमन्त्री विष्णु पौडेललाई बुझाएका थिए, जुन अब उनी आफैं कार्यान्वयन गर्ने स्थानमा पुगेका छन्  । डा. बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा आर्थिक सल्लाहकारको भूमिका समेत निर्वाह गरेका खनाललाई आन्दोलनबाट क्षती भएको ठुलो धनजनको क्षती ब्यहोरेको सरकारले अर्थतन्त्र बुझेको निष्पक्ष र काविल व्यक्तिले अर्थतन्त्रलाई सही ट्र्याकमा ल्याउन सक्ने विश्वास पलाएको छ ।

Logo