घर जले पनि लोकतन्त्रको लडाइँ यहाँबाट नै अघि बढ्छ – डा. शेखर कोइराला

घर जले पनि लोकतन्त्रको लडाइँ यहाँबाट नै अघि बढ्छ – डा. शेखर कोइराला

केन्द्रबिन्दु
120
Shares

काठमाडौँ। नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले देशलाई निकास दिने एक मात्र उपाय अबको चुनाव भएको बताएका छन् ।

शनिबार विराटनगरस्थित आफ्नै निवासमा पत्रकारहरूसँग कुरा गर्दै उनले संविधानलाई क्षतविक्षत हुनबाट राष्ट्रपति रामचन्द्र पौडेलले जोगाएको र न्यूनतम क्षति गर्दै निर्वाचन घोषणा गरेको भन्दै अब सबै दल र कार्यकर्ताले चुनावको तयारीमा जुट्नुपर्ने बताएका हुन् ।

हालै बसेको कांग्रेसको कार्यसम्पादन समितिमा महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले नियमित वा विशेष महाधिवेशन मार्फत पार्टी पुनर्गठन गर्न सकिने प्रस्ताव राखेका थिए । तर, कोइरालाले त्यसबारे अहिले धारणा दिन नमिल्ने बताए । कोइरालाले भनेका छन् ‘संविधानलाई धेरै नचलाइ, न्यूनतम क्षति गरेर चुनावको घोषणा गरिएको छ । अहिले संविधान डिरेल भए पनि यसलाई ट्र्याकमा ल्याउने भनेको निर्वाचन नै हो ।’

यस्तै, उनले जेनजी आन्दोलन उठ्नुमा राजनीतिक दल र नेतृत्वको कमजोरी रहेको स्वीकार गरेका छन् । कोइरालाले भने ‘उनीहरूले उठाएका मागलाई हामीले आत्मसात गर्न सकेनौँ, विश्वास गरेनौँ। त्यो सरकारको पनि गल्ती भयो।’ उनले भदौ २३ र २४ गते भएका घटनाको निष्पक्ष छानबिन गर्नुपर्ने माग समेत गरेका छन् ।

कोइरालाले पत्रकार सम्मेलन आफ्नै निवासमा गरे, जुन केही दिनअघि जेनजी आन्दोलनकै क्रममा आगजनीमा परि जलेको थियो । भावुक हुँदै उनले भने, ‘यो घर मेरो मात्र होइन, नेपालको लोकतान्त्रिक आन्दोलनको प्रतीक हो । यो घर जले पनि लोकतन्त्रको लडाइँ यहाँबाट नै अघि बढ्छ ।’

उनले कांग्रेसभित्र नेतृत्व परिवर्तनको बहस भए पनि अहिलेको प्राथमिकता चुनाव भएको दोहो-याए।

Logo