काठमाडौं । नेपाली कांग्रेसका महासमिति सदस्य डा. सुनिलकुमार शर्माले जेनजी आन्दोलनलाई कम आँक्ने गल्ती गरिए भविष्यमा योभन्दा ठूलो र भयावह विद्रोह हुने चेतावनी दिएका छन् ।
राजनीतिक दलका नेताहरूले समयमै आफ्ना गल्ती र कैयौँ राजनीतिक अपराधीकरणको आत्मसमीक्षा गरी नसच्चिए र जेनजीआन्दोलनको उपलब्धि शून्य पार्ने षड्यन्त्र बुनिरहे भविष्यमा ठूलो आन्दोलन हुने उनको ठहर छ।
नेता डा. शर्माले जेन्जी युवाहरूको आन्दोलनलाई आम जनताको आन्दोलनका रूपमा लिई संविधानमै सुधार गर्नुपर्नेमा जोड दिएका छन् । उनले भावी विद्रोह टार्नका लागि तत्कालै निम्न सुधारहरू संविधानमार्फत सुनिश्चित गरिनुपर्ने बताएका छन् । ती यसप्रकार छन्-
-एक व्यक्ति दुई कार्यकाल भन्दा बढी कार्यकारी पदमा हुन नपाउने।
-एउटै निर्वाचन क्षेत्रबाट कुनै पनि व्यक्ति दुई कार्यकालभन्दा बढी सांसद हुन नपाउने र दुई कार्यकालबीच अनिवार्य अन्तराल हुनुपर्ने।
-दुई कार्यकालभन्दा बढी कोही पनि व्यक्ति पार्टी सभापति/अध्यक्ष बन्न नपाउने।
-४ वर्षमा दलहरूको अनिवार्य महाधिवेशन हुनुपर्ने।
-स्वतन्त्र न्यायपालिका निर्माण गर्न लोकसेवा आयोगजस्ता निष्पक्ष निकायबाट योग्य व्यक्तिहरूलाई न्यायाधीश नियुक्त गर्ने व्यवस्था मिलाउनुपर्ने (न्यायाधीशहरूको राजनीतिक नियुक्तिको परिपाटी हटाउने)।
-विदेशमा रहेका नेपालीहरूलाई (एनआरएन) राजनैतिक अधिकारबाहेक अन्य अधिकारहरू सुनिश्चित गर्ने।
-आर्थिकरूपमा विपन्न आमाबुबाहरूलाई छोराछोरीको उच्च शिक्षाका लागि १% ब्याजदरमा सफ्ट लोन लिन पाउने व्यवस्था गर्ने।
-१० लाखसम्मको निःशुल्क स्वास्थ्य बीमा हुनुपर्ने।
डा. शर्माले यी आम जनताका आधारभूत आवश्यकतालाई सम्बोधन गर्ने कार्य संविधानबाटै नगरिए आजको १०–१५ वर्षभित्रमा फेरि योभन्दा ठूलो आन्दोलन हुने निश्चित भएको बताएका छन् ।
“यसपटक जेन्जी आन्दोलनमा नेताहरू कुटिएमात्र, तर भविष्यको त्यो अवस्थामा नेताहरू खोजि-खोजि पाशविक रूपमा मारिनेछन्,” उनले गम्भीर चेतावनी दिँदै भने, “आफ्नै घरमा पनि मानिसहरू सुरक्षित नहुने र हामीले कल्पना गरेभन्दा पनि बढी मानिसहरूले ज्यान गुमाउने परिस्थिति आउन सक्छ। समयमा नै सबैलाई चेतना होस्।”
सांसद पदमा रहँदा तलब–भत्ता नलिने एक मात्र नेता डा. शर्माले सामाजिक र मानवीय जिम्मेवारी निर्वाह गर्दै घाइतेहरूको उपचारमा निरन्तर सहयोग गरिरहेका छन् । उनी सुदूरपूर्वदेखि सुदूरपश्चिमसम्म निःशुल्क स्वास्थ्य शिविरहरू सञ्चालन गर्दै आएका छन्। यस्ता शिविरहरूमा उपचार सम्भव नभएका बिरामीलाई काठमाडौं मेडिकल कलेज वा नोबेल मेडिकल कलेजमा ल्याई निःशुल्क उपचारको व्यवस्था मिलाउने कार्य निरन्तर भइरहेको छ। उनकै पहलमा नोबेल मेडिकल कलेजमा आफ्नै निर्वाचन क्षेत्रका लागि समर्पित ५० शय्याको निःशुल्क क्याबिन स्थापना गरिएको छ। पार्टी वा पहिचानको आधारमा नभई सबै नेपालीलाई समान रूपमा सेवा पुर्याउने प्रतिबद्धता उनले जनाएका छन्।





























प्रतिक्रिया