काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले मंगलबारदेखि मन्त्रालयमै खाने र बस्ने व्यवस्था मिलाएर कार्यभार सम्हालेका छन्। पुनले मन्त्रालयमै खाने बस्ने प्रबन्ध मिलाउन निर्देशन दिएपछी उनले भनेबमोजिम व्यबस्था गरिएको हो ।
शिक्षा मन्त्रालयका उपसचिव केदार कोइरालाले मन्त्री पुनको आग्रहअनुसार मंगलबारदेखि केशरमहलमा खाने र बस्ने व्यवस्था मिलाइएको जानकारी दिए। “मन्त्रीज्यूले मन्त्रालयमै बसेर काम गर्ने इच्छा व्यक्त गर्नुभएको छ। सोही अनुसार आजदेखि नै व्यवस्था गरिएको छ,” कोइरालाले भने। जेनजी आन्दोलनका क्रममा सिंहदरबार स्थित मन्त्रालय भवनमा भएको आगजनीले क्षति पुगेपछि मन्त्रालयलाई अस्थायी रूपमा केशरमहलमा स्थानान्तरण गरिएको छ।
मन्त्री पुनले पदभार ग्रहण गर्दै विज्ञान मन्त्रालयको प्रभावकारी सञ्चालनमा जोड दिए। उनले सम्भावनायुक्त क्षेत्र भएर पनि मन्त्रालयले अपेक्षित प्रगति गर्न नसकेको बताउँदै वैज्ञानिक खोज र अनुसन्धानलाई प्रवर्द्धन गर्न एक विशेष समिति गठन गर्ने निर्णयमा हस्ताक्षर गरेका छन्।
उपसचिव कोइरालाले यो कदमले विज्ञान र प्रविधिको क्षेत्रमा ठोस प्रगति हुने अपेक्षा गरिएको बताए। पदभार ग्रहणका क्रममा सञ्चारकर्मीले युवाहरूलाई दिएको “जे सुकै गर” भन्ने सुझावबारे सोध्दा मन्त्री पुनले आफ्नो भनाइ प्रष्ट पारे। “मैले ‘जे सुकै गर’ भनेर सुत्नु वा निष्क्रिय बस्नु भन्न खोजेको होइन। आफ्नो विवेक प्रयोग गरेर, अरूको झोला नबोकेर, आफ्नो, समाज वा देशको हितमा काम गर्नु भन्ने मेरो आशय हो,” उनले भने।
शिक्षा ऐनका सम्बन्धमा मन्त्री पुनले विज्ञहरूको सुझावलाई प्राथमिकता दिने बताए। “शिक्षा ऐनको अवस्था र आवश्यकता बुझ्न विज्ञहरूको टोली गठन गर्नेछु। उहाँहरूको सल्लाहअनुसार निर्णय लिनेछु,” उनले भने। उपसचिव कोइरालाका अनुसार मन्त्री पुनले ऐनको समीक्षा र सुधारमा जोड दिने योजना बनाएका छन्।
मन्त्री पुनले सोमबार राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथ लिएका थिए। शपथपछि उनले तत्कालै मन्त्रालय पुगेर कार्यभार सम्हालेका हुन्। उनको यो कदमले शिक्षा र विज्ञान क्षेत्रमा नयाँ गति प्रदान गर्ने अपेक्षा गरिएको छ।































प्रतिक्रिया