जेनजी आन्दोलन : वीरगन्ज महानगर र प्रहरीको दाबी फरक–फरक

जेनजी आन्दोलन : वीरगन्ज महानगर र प्रहरीको दाबी फरक–फरक

केन्द्रबिन्दु
0
Shares

वीरगन्ज । आन्दोलनका क्रममा वीरगन्ज महानगरपालिकामा तोडफोड, आगजनी तथा लुटपाटबाट भएको क्षतिको विवरणबारे विवाद देखिएको छ ।

भदौं २४ गते महानगरपालिकामा भएको क्षतिको विषयमा कार्यालय र प्रहरीको दाबी फरक–फरक छ । महानगरपालिकाले १ सय १५ करोडभन्दा बढीको धनमाल नष्ट भएको दाबी गरेको छ भने जिल्ला प्रहरी कार्यालय पर्साले भने मात्र १३ करोड बराबरको क्षति भएको प्रतिवेदनमा उल्लेख गरेको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साले उपलब्ध गराएको जानकारी अनुसार, भदौं २४ गते अपराह्न महानगरपालिकामा प्रवेश गरेका आन्दोलनकारी समूहले कार्यालयभित्र रहेका सवारीसाधन तथा भवनमा आगजनी र लुटपाट गर्दा करिब १३ करोड रुपैयाँ बराबरको धनमाल क्षति भएको छ ।

यस विषयमा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अरविन्दलाल कर्णका अनुसार, प्रहरीले प्रतिवेदन तयार गर्दा कार्यालयसँग कुनै सहकार्य नगरेकाले तथ्याङ्कमा फरक आएको हो । उनले कार्यालयमा रहेका १७ वटा सवारीसाधन, १२ वटा मोटरसाइकल र ४ वटा भवनमा रहेका सम्पूर्ण सामान जलेर नष्ट भएको बताए ।

आन्दोलनकारीले लगाएको आगलागीमा तीनवटा भवन पूर्ण रूपमा क्षतिग्रस्त भई प्रयोगविहीन बनेका छन् भने नगर प्रमुख र उपप्रमुखको कार्यालय रहेको भवनमा आंशिक क्षति भएको अधिकृत कर्णले जानकारी दिए ।
उनका अनुसार सम्पत्तिको विस्तृत विवरण कार्यालयसँगै रहेको भए पनि प्रहरी प्रतिवेदनमा समन्वयको अभावले आकडा फरक परेको हो ।

भदौं २४ गते भएको आगलागीमा १२ वटा सरकारी कार्यालयमा तोडफोड तथा आगजनी भएको थियो। प्रहरी प्रतिवेदनअनुसार, ती कार्यालयमा जम्मा १७ करोड २४ लाख रुपैयाँ बराबरको क्षति भएको छ ।
जसमा
आन्तरिक राजस्व कार्यालय रु ६० लाख

नेपाल टेलिकम घटाघरस्थित कार्यालय रु २ करोड

वीरगन्ज महानगरपालिका रु १३ करोड

वीरगन्ज महानगरपालिका वडा नं. १० कार्यालय रु ६ लाख

वडा नं. २६ कार्यालय रु १० लाख

वडा नं. १४ कार्यालय रु ३ लाख

जिरा भवानी गाउँपालिका कार्यालय रु ५० लाख

वीरगन्ज कारागार रु ३ लाख

विर्तास्थित वाल सुधार गृह रु ७ लाख

पोखरिया नगरपालिका कार्यालय रु १५ लाख

चिनी मिलस्थित उच्च अदालत अस्थायी कार्यालय रु २० लाख

भूमि जलस्रोत तथा सिंचाइ कार्यालयमा रु ५० लाख बराबरको क्षति भएको छ ।

Logo