प्रदेश समन्वय परिषद् बैठकको माग गर्दै मुख्यमन्त्रीलाई ज्ञापन

प्रदेश समन्वय परिषद् बैठकको माग गर्दै मुख्यमन्त्रीलाई ज्ञापन

केन्द्रबिन्दु
9
Shares

मकवानपुर। प्रदेश समन्वय परिषद् बैठकको माग गर्दै बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई बिहीबार ज्ञापनपत्र बुझाइएको छ । गाउँपालिका राष्ट्रिय महासङ्घ नेपाल, नेपाल नगरपालिका सङ्घ र जिल्ला समन्वय समिति महासङ्घ बागमती प्रदेश समितिले प्रदेश समन्वय परिषद् बैठकको माग गर्दै मुख्यमन्त्री बानियाँलाई ज्ञापनपत्र बुझाएको हो ।

ज्ञापनपत्रमा प्रदेश समन्वय परिषद्को बैठक यथाशीघ्र बोलाई वर्तमान परिस्थितिको समीक्षा गर्दै प्रदेश र स्थानीय सरकारबीचको प्रभावकारी अन्तरसम्बन्ध र सहकार्य, जेनजी प्रदर्शनका क्रममा भएको क्षतिको समीक्षा गर्दै पुनर्निर्माण तथा पुनःस्थापना योजना निर्माण, चालु आर्थिक वर्ष २०८२८३ का स्वीकृत योजना तथा कार्यक्रमको कार्यान्वयन सम्बन्धमा छलफल गरिनुपर्ने उल्लेख छ ।

बैठकमा क्षतिग्रस्त स्थानीय सरकार र जिल्ला समन्वय समितिका संरचनाको अस्थायी व्यवस्था गरी सेवा प्रवाह सञ्चालन गर्न सहजीकरण गर्न विकास साझेदार निकाय र प्रदेश तथा स्थानीय शासन सवलीकरण कार्यक्रम (पिएलजिएसपी) लगायत स्रोत साधनलाई प्रभावकारी उपयोग गर्न प्रदेश निर्देशक समितिको बैठक गरी उचित निर्णय लिनुपर्ने, राष्ट्रिय समन्वय परिषद्को तत्काल बैठक आह्वान गर्न प्रधानमन्त्रीलाई अनुरोध गर्ने र प्रदेश समन्वय परिषद्को तर्फबाट राष्ट्रिय समन्वय परिषद्मा पेस गर्नुपर्ने एजेण्डाका बारेमा छलफल हुनपर्ने जनाइएको छ ।

सङ्घरमहासङ्घले जेनजी प्रदर्शनका क्रममा निधन भएकाप्रति श्रद्धाञ्जली एवं शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् । घाइतेको निःशुल्क र प्रभावकारी उपचारको प्रबन्ध गर्न सम्बन्धित पक्षसँग माग गरिएको छ । जेनजी प्रदर्शनमार्फत अभिव्यक्त भ्रष्टाचारको अन्त्य, सुशासनको प्रत्याभूति तथा युवाको शासन व्यवस्थामा सहभागिताजस्ता जायज मागमा समर्थन जनाएका छन् ।

ज्ञापनपत्र बुझ्दै मुख्यमन्त्री बानियाँले सङ्घरमहासङ्घले उठाएका विषयलाई सम्बोधन गर्न यथाशीघ्र प्रदेश समन्वय परिषद्को बैठक बोलाउने प्रतिबद्धता व्यक्त गरेका छन् । कार्यक्रममा गाउँपालिका राष्ट्रिय महासङ्घ बागमती प्रदेश अध्यक्ष कर्णबहादुर मगर, जिल्ला समन्वय समिति महासङ्घ बागमती प्रदेश अध्यक्ष ललित घलान, सचिव सानुकाजी लुइँटेल, सहसचिव तारा ढुङ्गाना लगायतको उपस्थिति थियो ।

Logo