काठमाडौं । माओवादी केन्द्रको बैठकमा प्रचण्डले प्रस्तुत गरेको प्रस्ताव परिमार्जन सहित पारित भएको छ । काठमाडौंको प्रज्ञा भवनमा सम्पन्न केन्द्रीय समितिको बैठकमा प्रचण्डले केन्द्रीय समिति भंग गरेर महाधिवेशन आयोजक समिति बनाउने प्रस्ताव राखेका थिए ।जसलाई केन्द्रीय समितिले स्वीकार गरेको छ ।
योसँगै माओवादी केन्द्रीय समिति महाधिवेशन आयोजक समितिमा रूपान्तरण भएको छ । आयोजक समितिको संयोजकमा प्रचण्ड नै रहनेछन् । आगामी मंसिरमा विशेष महाधिवेशन गर्ने प्रचण्डको प्रस्ताव पनि सदर भएको छ । वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र उपमहासचिव जनार्दन शर्माको असहमति महाधिवेशनसम्म छलफलमा लैजाने बैठकले निष्कर्ष निकालेको छ।
बिहीबार सम्पन्न केन्दीय समितिको बैठकले यस्तो निर्णय गरेको माओवादीका प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए। वरिष्ठ उपाध्यक्ष श्रेष्ठले आगामी फागुन २१ मा हुने प्रतिनिधि सभाको चुनाव पछाडि महाधिवेशन गर्नु उपयुक्त हुने बताएका थिए । नेतृत्वको सन्दर्भमा अध्यक्ष प्रचण्डले छोड्ने र कार्यवहाक अध्यक्ष आफूले पाउनुपर्ने प्रस्ताव राखेका श्रेष्ठले राखेका थिए । उक्त प्रस्ताव अस्वीकृत भएको छ ।
यस्तै उपमहासचिव जनार्दन शर्माले सबै पदाधिकारी नआउने गरी नयाँ टिम ल्याउने प्रस्ताव राखेका थिए । हाल रहेका पदाधिकारी निर्देशक समितिमा रुपान्तरित भएर रहने शर्माको प्रस्ताव थियो । शर्माको यो प्रस्ताव पनि अस्वीकृत भएको छ ।
यद्दपि, प्रचण्डले प्रस्तुत विचारलाई समेत ख्याल गरेर अगाडि बढिने बताएका छन् । तर श्रेष्ठ र शर्मा पक्षधर केही सदस्यहरुले असन्तुष्टी जनाएका छन् ।





























प्रतिक्रिया