सिंहदरबार आगलागीमा बोले बालेन- ‘राज्य’ ठप्प हुँदा पनि महानगर पछि हटेन

सिंहदरबार आगलागीमा बोले बालेन- ‘राज्य’ ठप्प हुँदा पनि महानगर पछि हटेन

५५ पटकभन्दा बढी स्थानमा दमकल परिचालनको विवरण सार्वजनिक

केन्द्रबिन्दु
42
Shares

काठमाडौं । गत भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा भएको आगजनी र तोडफोडलाई लिएर काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले गम्भीर आरोप र प्रश्नहरूको सार्वजनिक रूपमा खण्डन गरेका छन्।

विशेषगरी सिंहदरबारको आगलागीको विषयमा उठेका प्रश्नहरूलाई सम्बोधन गर्दै महानगरले उक्त भयावह परिस्थितिमा पनि आफ्नो दायित्वबाट पछि नहटेको दाबी गरेको छ।

मेयर शाहले एक लामो स्पष्टीकरण जारी गर्दै भनेका छन्, “यत्रो सिंहदरबार जल्दा काठमाडौँ महानगरको दमकल कहाँ गयो?”, “तीन दिनसम्म जलेको हेरेर बस्यो?” र “सिंहदरबार जलाउने नै बालेन शाह हो!” जस्ता प्रश्न र आरोपहरू तथ्यहीन र अफवाह मात्र हुन्।

महानगरले भदौ २४ गतेको अवस्थालाई ‘देश नै अस्तव्यस्त’ र ‘राज्य नै ठप्प’ भएको पूर्ण अराजक स्थितिको रूपमा चित्रण गरेको छ। “न सरकार थियो, न सुरक्षा संयन्त्र, न प्रहरीले आफ्नो चौकी जोगाउन सके,” स्पष्टीकरणमा भनिएको छ।

सिंहदरबारमा आगलागी सुरु भएलगत्तै दमकल पठाउने प्रयास गरिए पनि आन्दोलनकारीको अवरोधका कारण जान नसकेको महानगरको भनाइ छ। नेपाली सेनाको दमकल सिंहदरबारभित्रै हुँदा पनि भिडले काम गर्न नदिएको उल्लेख गर्दै मेयर शाहले आन्दोलनकारीको भिड अलिक शान्त हुनेबित्तिकै भदौ २४ गते राति ८:१५ बजेभित्रै काठमाडौं महानगरको दमकल त्यहाँ पुगेको दाबी गरेका छन्।

५५ पटकभन्दा बढी स्थानमा दमकल परिचालनको विवरण

आफ्नो जिम्मेवारी र कार्यसम्पादनको तथ्य पुष्टि गर्न महानगरले भदौ २३ देखि २८ गतेसम्मको दमकल परिचालनको विस्तृत तथ्याङ्क सार्वजनिक गरेको छ। काठमाडौं महानगरसँग जम्मा ५ वटा दमकल (न्युरोडमा २, बालाजुमा २ र रामहिटीमा १) रहेको र सीमित जनशक्ति (१४ नगर प्रहरी र ३० सशस्त्र प्रहरी, प्रति शिफ्टमा बढीमा ३ जना मात्र) भए पनि महानगरको टोली जोखिम मोलेर खटिएको उल्लेख छ।

भदौ २३ गते: संसद भवन अगाडिको एम्बुलेन्स, सुन्धारा र शान्तिनगरको बिजुलीको पोलमा आगो निभाउने कार्य।

भदौ २४ गते: राति ८:१५ देखि नै सिंहदरबार मा ४ पटक (२४, २५ र २६ गते), विशाल बजार जनसेवा प्रहरी वृत्त, हिमालयन बैंक र राष्ट्रिय वाणिज्य बैंक बानेश्वर, नयाँ बसपार्क लगायतका स्थानमा।

भदौ २५ र २६ गते: संसद भवन, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, डिल्लीबजार कारागार, सर्वोच्च अदालत परिसर लगायतका स्थानमा आगलागी नियन्त्रण र महत्त्वपूर्ण कागजपत्र जोगाउने कार्य।

अन्य स्थानहरूमा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, बबरमहल जिल्ला अदालत, चुच्चेपाटि भाटभटेनी, जिल्ला प्रशासन कार्यालय, यातायात व्यवस्था विभाग, शहरी विकास विभाग, ग्राण्डि अस्पताल नजिकैको गोदाम, थापाथली डाटा सेन्टर, नक्साल हिलटन होटल, बालुवाटार भाटभटेनी लगायत ५५ पटकभन्दा बढी स्थानमा दमकल पुगेको महानगरले जनाएको छ।

आगलागी नियन्त्रणका अतिरिक्त महानगरले उक्त कठिन अवधिमा मानवीय सहयोग र स्वास्थ्य व्यवस्थापनमा पनि महत्त्वपूर्ण भूमिका खेलेको स्पष्ट पारेको छ। घाइतेको उपचारमा सङ्घीय सरकारको घोषणाअघि नै महानगरभित्रका सम्पूर्ण अस्पताललाई निशुल्क उपचारको लागि समन्वय, आवश्यक औषधि, रगत र स्वास्थ्यकर्मी व्यवस्थापन गरिएको थियो।

बिरामी र कुरुवाहरूका लागि निशुल्क खाजा/खाना, सुत्नको लागि म्याट लगायत अन्य लजिस्टिक व्यवस्थापनमा महानगरको टोली खटिएको थियो।

उपचारका लागि अभिभावक नभएका बिरामीहरूको अभिभावकत्व महानगरको टोलीले लिएको र अपरेशनका लागि आवश्यक पर्ने ‘इन्फर्म कन्सेन्ट फर्म’मा समेत नगर प्रहरीले जिम्मेवारी लिई हस्ताक्षर गरेको संवेदनशील विवरण सार्वजनिक गरिएको छ।

परिवारलाई आउने जाने, खाने बस्ने व्यवस्थापन र नेपाली सेना लगायतको सहकार्यमा लाशलाई घरसम्म पुर्याउने व्यवस्था समेत महानगरले गरेको जनाएको छ।

मेयर शाहले अन्त्यमा जनतालाई तथ्य र डाटा विश्लेषण नगरी निष्कर्ष निकाल्ने विश्लेषक र अफवाह फैलाउनेहरूबाट सचेत रहन अपिल गरेका छन्। उनले यस्ता गलत आरोपले दिनरात जोखिम मोलेर खटिने टिमको मनोबल गिराउने भन्दै, मिडियालाई पनि सत्य तथ्य खोजेर मात्र समाचार लेख्न विशेष अनुरोध गरेका छन्।

‘हामी महानगरको टिम दिन–रात, जिउज्यानको जोखिम मोल्दै खटिएका थियौ, मलाई यसको कुनै जस चाइएको छैन कमसेकम आगो निभाउन, घाइतेको उपचार गर्न, बिरामीलाई खाना र औषधि उपलब्ध गराउन, लास व्यवस्थापन गर्न, उद्धार कार्यमा सहयोग गर्न खटिनेलाइ त सम्मानजनक दृष्टिले हेर्नुहोस । जनतासँगको भरोसा, हाम्रो जिम्मेवारी र आपत्कालिन व्यवस्थापनका लागि हामी सधैं खटिरहनेछौं। सत्य बुझौं, अफवाह फैलाउने काम नगरी, सबै मिलेर सुरक्षित, सचेत र मानवताप्रधान समाज बनाऔँ।अन्त्यमा देशलाई एकता र साचो कुराको खाचो छ हल्ला र झुटको हैन ।’ उनले भनेका छन् ।

Logo