काठमाडौं । शिक्षामन्त्री महाविर पुनले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट), शिक्षा तथा मानव श्रोत विकास केन्द्र, र पाठ्यक्रम विकास केन्द्र मा महत्त्वपूर्ण छलफल गर्नुका साथै विभिन्न विषयमा निर्देशन दिएका छन् ।
मन्त्री पुनले बुधबार नास्टमा करिब दुई घण्टा बिताएर त्यहाँका प्रयोगशाला (ल्याब) हरूको अवलोकन गरे । उनले नास्टको ३७ करोडको बजेटमध्ये २७ करोड रुपैयाँ प्रशासनिक खर्चमा र १० करोड रुपैयाँ मात्र अनुसन्धान तथा नवप्रवर्तनमा छुट्याइएकोमा चासो व्यक्त गरेका थिए । नास्टलाई उच्चकोटीको अनुसन्धान केन्द्र कसरी बनाउने भन्नेबारे यसै हप्ताभित्र सुझाव पेस गर्न उनले सबै कार्यरत कर्मचारीहरूलाई निर्देशन दिएका छन् ।
भवन र ल्याब उच्च कोटीका भए पनि सोही अनुसारको उच्चकोटीको काम हुनुपर्ने कुरामा उनले जोड दिए ।
साथै शिक्षा तथा मानव श्रोत विकास केन्द्रमा मन्त्री पुनले करिब तीन घण्टा छलफल गरे । साे क्रममा शिक्षकहरूको दरबन्दी मिलान गर्ने कार्यलाई प्राथमिकता दिने, विद्यार्थी सङ्ख्या ज्यादै न्यून भएका विद्यालयहरूलाई मर्ज (गाभ्ने) गर्ने कार्यविधि बनाउने, विद्यालयहरूमा योग्य र सक्षम प्रधानाध्यापक हरूको नियुक्ति गर्न देशभरि लागु हुने गरी कार्यविधि बनाउने र अनलाइन सिकाइका लागि डिजिटल शैक्षिक सामग्रीहरू निर्माणमा जोड दिने गरी कार्यक्रम बनाउन उनले निर्देशन दिएका छन् ।
साथै पाठ्यक्रम विकास केन्द्रमा दुई घण्टाको छलफलका क्रममा मन्त्री पुनले पाठ्यक्रमको विकास गर्दा अत्यन्तै गम्भीर भएर काम गर्न निर्देशन दिएका छन् ।
सामुदायिक र संस्थागत विद्यालयहरूको पाठ्यक्रम विकास गर्दा गम्भीरतापूर्वक काम गर्नुपर्ने, पाठ्यक्रमको परिमार्जन र अध्यावधिक समयमै गर्ने, मातृभाषाको पाठ्यपुस्तक हरूको विकासमा सहयोग गर्ने, पाठ्यपुस्तकमा नैतिक शिक्षा, व्यावहारिक शिक्षा, इतिहास र संविधान सम्बन्धी ज्ञान दिने कुरालाई उच्च प्राथमिकता दिने विषयमा छलफल भएकाे छ ।
आगामी वर्षदेखि कक्षा ९ र १० मा १०० पूर्णाङ्कको कम्प्युटर विषय अनिवार्य गरिने भएकोले सोही अनुसारको पाठ्यक्रम विकास गर्न पनि निर्देशन दिइएको छ।





























प्रतिक्रिया