सुरक्षा फिर्ता भएपछी पूर्वजनमुक्ति सेनाको घेरामा प्रचण्ड

सुरक्षा फिर्ता भएपछी पूर्वजनमुक्ति सेनाको घेरामा प्रचण्ड

केन्द्रबिन्दु
0
Shares

काठमाडौं। नेपाल सरकारले अनुत्पादक खर्च कटौती गर्ने उद्देश्यले पूर्वप्रधानमन्त्री तथा अन्य पूर्वपदाधिकारीहरूको अतिरिक्त सुरक्षाकर्मीहरू फिर्ता बोलाउने निर्णय गरेको छ। यस निर्णयअन्तर्गत पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड को ३४ जना सुरक्षाकर्मीहरू फिर्ता हुने भएका हुन् ।

सोही निर्णयपछि नेकपा माओवादी केन्द्रका नेता तथा योङ्ग कम्युनिस्ट लिग (वाईसीएल) का इन्चार्ज रामप्रसाद सापकोटा (दीपशिखा) ले आक्रोश व्यक्त गर्दै प्रचण्डको सुरक्षाको लागि पूर्वजनमुक्ति सेना (पीएलए) र वाईसीएलका सदस्यहरूले नै घेरा हालेको बताएका छन्।

गृह मन्त्रालयले बिहीबार स्वीकृत मापदण्डभन्दा बढी सुरक्षाकर्मी राखेका पूर्वपदाधिकारीहरूको सुरक्षाकर्मी तत्काल फिर्ता बोलाउने निर्णय गरेको हो। यसमा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीका २७ जना र प्रचण्डका ३४ जना सुरक्षाकर्मीहरू समावेश छन्। यो निर्णय मितव्ययिता कायम गर्ने र राज्यको ढुकुटी बचत गर्ने लक्ष्यले लिएको गृहले बताएको छ ।

दीपशिखाले सामाजिक सञ्जालमार्फत लेखेका छन्, प्रचण्ड भदौ २४ गते मात्र सुरक्षा घेरामा बस्नुभएको हो। भोलिपल्टबाट पूर्व पीएलए र वाईसीएलले नै सुरक्षा दिइरहेको छ।, उनले यो निर्णयलाई (बदलाभावको सत्ता डण्डा) को रूपमा चित्रण गर्दै केपी ओलीको शैलीसँग तुलना गरेका छन्।

दीपशिखाले बृहत् शान्ति सम्झौतामा प्रचण्डजस्ता नेताहरूलाई विशेष सुरक्षा दिने व्यवस्था भएको उल्लेख गर्दै यो निर्णय शान्ति प्रक्रियाविपरीत भएको दाबी गरेका छन्।

यो घटनाले राजनीतिक वातावरणमा तनाव थपेको छ। सामाजिक सञ्जाल एक्स (ट्विटर) मा यसबारे तीव्र बहस चलिरहेको छ ।

एक प्रयोगकर्ताले लेखेका छन्, सरकारले सुरक्षाकर्मी फिर्ता बोलाएपछि पूर्वजनमुक्ति सेनाको सुरक्षा घेरामा प्रचण्ड बस्ने भनिन्छ। हाम्रो संविधानले नेपाली सेना चिन्छ, जनमुक्ति सेना चिन्दैन। फेरि जनमुक्ति सेना कहाँबाट आयो? यो आपत्तिजनक र राष्ट्रघात छ। सरकार के हेरेर बस्दैछ ?

यो निर्णयले माओवादी केन्द्र र सत्तारूढ गठबन्धनबीचको सम्बन्धमा असर पार्न सक्ने राजनीतिक विश्लेषकहरूको भनाइ छ। पूर्वपीएलएका सदस्यहरूको सक्रियताले शान्ति प्रक्रियापछि पनि तिनको भूमिकाबारे प्रश्न उठाएको छ।

Logo