काठमाडौँ । सरकारले सुरक्षाकर्मी फिर्ता गरेपछि माओवादी निकट भात्रृ संगठनहरुले प्रचण्डको सुरक्षार्थ तीन तहको कमाण्ड बनाएका छन् । ‘प्रचण्ड’को सुरक्षामा अहिले वाईसीएल (योङ कम्युनिस्ट लिग) का पूर्वलडाकु पृष्ठभूमिका कार्यकर्ताहरू खटिएका हुन्।
सरकारले प्रचण्डको सुरक्षामा खटाइएको सुरक्षाकर्मी फिर्ता लिएपछि वाईसीएलले आफ्नै टोलीमार्फत सुरक्षा व्यवस्था गरेको हो। वाईसीएलका अध्यक्ष पुष्प ओलीका अनुसार पछिल्लो राजनीतिक परिस्थितिलाई मध्यनजर गर्दै संयोजक प्रचण्डलाई सुरक्षा चुनौती हुनसक्ने आकलन गरिएको छ । उनले भने, “हामीले आवश्यकता अनुसारको संख्यामा वाईसीएल टोली खटाएका छौं ।”
स्रोतका अनुसार प्रचण्डको सुरक्षामा तीन तहको सुरक्षा घेरो बनाइएको छ । सबैभन्दा भित्री घेरामा विशेष तालिम प्राप्त पूर्वलडाकुहरू छन्, जसले नजिकबाट सुरक्षा गर्छन् । दोस्रो तहमा फिल्डमा सक्रिय वाईसीएल टोली परिचालन गरिएको छ भने तेस्रो तहमा गोप्य सूचना संकलनका लागि ‘इन्टेलिजेन्स’ जस्तो भूमिका निर्वाह गर्ने छुट्टै समूह खटाइएको छ ।
प्रचण्डको यात्राका क्रममा स्कर्टिङका लागि केन्द्र र सम्बन्धित जिल्लामा रहेका वाईसीएलका विशेष टोली तयारी अवस्थामा राखिएको छ । प्रचण्ड निकट स्रोतका अनुसार सुरक्षामा खटिने जनशक्ति परिस्थिति र आवश्यकताअनुसार घटबढ गर्न सकिने गरी व्यवस्था मिलाइएको छ ।
वाईसीएलका पूर्वअध्यक्ष तथा इन्चार्ज रामप्रसाद सापकोटा ‘दीपशिखा’ का अनुसार शुक्रबार बिहान १० बजेदेखि प्रचण्डको सुरक्षार्थ खटिएका सरकारी सुरक्षाकर्मीहरू फिर्ता भइसकेका छन् । अब नेपाल प्रहरी र सशस्त्र प्रहरीले सीमित संख्यामा मात्र सुरक्षा दिनेछन् भने बाँकी जिम्मेवारी वाईसीएल र पूर्व जनमुक्ति सेनाले सम्हाल्नेछन् ।
१० वर्ष लामो जनयुद्धपछि माओवादीले शान्ति प्रक्रियामा आएपछि पूर्वलडाकुहरूलाई समेत समेटेर वाईसीएल गठन गरेको थियो । तीमध्ये धेरै सदस्य अहिले पनि लडाकु पृष्ठभूमिका रहेका छन् ।





























प्रतिक्रिया