एमाले बैठकमा उषाकिरण तिम्सेनाको प्रश्न: स-साना नानीहरुको कत्लेआम गर्नेको जिम्मा कसले लिने हो ?

एमाले बैठकमा उषाकिरण तिम्सेनाको प्रश्न: स-साना नानीहरुको कत्लेआम गर्नेको जिम्मा कसले लिने हो ?

केन्द्रबिन्दु
24
Shares

काठमाडौँ । नेकपा (एमाले) की केन्द्रीय सदस्य उषाकिरण तिम्सेनाले पार्टी अध्यक्ष केपी शर्मा ओलीले नैतिकताका आधारमा तत्काल राजिनामा दिनुपर्ने बताएकी छन् । एमालेको जारी बैठकमा बोल्दै तिम्सेनाले अध्यक्षले राजीनामा गरेर मुलुकको राजनीतिक गतिरोधको ढोका खोल्नुपर्ने धारणा व्यक्त गरिन् । एमालेको वर्तमान संरचनामा चुनाव वा आन्दोलनमा जान नसकिँने। भन्दै तिम्सेनाले अध्यक्ष ओलीलाई बिदा लिएर अभिभावक बन्न आग्रह गरिन् ।

अब पनि नचेते फेरी फेरी इतिहासले हामीलाई नै धिक्कार्नेछ भन्दै उनले एक जना व्यक्तिको महत्त्वाकांक्षाका लागि सिंगो पार्टीको विकाश र प्रगति अवरुद्ध पार्न नहुने बताईन् र्। एमाले जस्तो लामो र गौरवपूर्ण इतिहास भएको पार्टी प्रतिक्रियात्मक हुन मिल्दैन। यो संगठन जति जिम्मेवार र गम्भीर हुन्छ, आगामी राजनीति त्यस्तै हुन्छ। म जिम्मेवार निर्णय लिन नेतृत्वलाई विनम्रतापूर्वक आग्रह र अनुरोध गर्दछु,’ उनले भनिन्।

यस्तै उनले विध्वंश, विनाश र वियोगान्तपछि केन्द्रीय कमिटी बैठक बसिरहेको तर बैठकमा नेतृत्व पंक्तिका प्रमुख व्यक्तिहरू सफल छन् भनिरहँदा असफल भएको हो? भन्दै प्रश्न गरिन्। उनले भदौ २३ गतेको जेनजी विद्रोहमा मारिएका २४ जनाको जिम्मा कसले लिने भन्दै पनि प्रश्न गरिन्।

‘बैठकमा नेतृत्वका प्रमुख व्यक्तिहरू सफल छन् भनिरहेका छौं। उसो भए अहिले असफल भएको चाहिँ को हो? अस्ति भर्खर ससाना नानीहरूको कत्लेआम भयो। खर्बौंको सार्वजनिक र निजी सम्पत्तिमा आगजनी भयो। ती सबैको नैतिक जिम्मा कसले लिने हो? गोली हान्ने प्रहरीको हवलदारले लिने हो कि प्रहरी प्रमुखलाई भागीदार बनाउने हो? वा यसको नैतिक जिम्मेवार तत्कालको प्राधिकारको हुन्छ कमरेड?,’ उनले प्रश्न गरिन्।

बैठकमा भदौ २३ र २४ गतेको विद्रोह षड्यन्त्र भनिरहँदा एमालेविरूद्ध लाग्ने शक्तिहरू किटान हुनुपर्ने पनि धारणा राखिन्।
‘यतिखेर हामी कुन षड्यन्त्रको कुरा गरिरहेका छौं? कुनकुन वैदेशिक निकायहरू हुन् एमाले विरुद्ध लागेका? के हामी तिनलाई किटान गर्न सक्छौं? के कुनै दूतावासका अधिकारीहरू बोलाएर कुरा गर्न सक्छौं?,’ उनको प्रश्न थियो।

अध्यक्ष ओलीले ११ वर्षदेखि पार्टी आन्दोलनको नेतृत्व गरिहेको भन्दै ११ वर्षमा भएका अभ्यासहरूले पार्टी, वाम आन्दोलन र सिंगो कम्युनिस्ट आन्दोलन कहाँ पुर्‍यायो भन्दै प्रश्न गरेकी थिइन्।

‘कमरेड ओली यो पार्टीको अध्यक्ष हुनु भएको ११ वर्ष भयो । यो ११ वर्षमा भएका अभ्यासहरूले हामीलाई, वाम आन्दोलन र सिंगो कम्युनिस्ट आन्दोलनलाई कता पुर्‍यायो? नेकपा गठन एउटा महत्त्वपूर्ण कडी थियो तर त्यसलाई हामीले कस्ताकस्ता अभ्यास र कस्ता ध्वंशकारी अभ्यास गर्‍यौं? एक पल्ट सम्झिऊँ, नागरिकहरूमा निराशा त्यहीँबाट सुरु भएको हो। मास फ्रस्टेन छ र थियो। स्विकारौं,’ उनले भनिन्। त्यस्तै उनले पार्टीको चुनाव चिह्न सूर्य लिएर कस्ता मानिसहरू उठे भनेर त्यसको समीक्षा हुनुपर्ने पनि धारणा राखिन्।

‘एकपल्ट यो पनि सम्झिऊँ सूर्य चिह्नमा चुनाव कोको र कस्ता प्रतिगामीहरू उठे? दुर्गा प्रसाईंजस्ता चरम अराजक, प्रतिगामीलाई कसले माला लगाएर पार्टीमा भित्र्यायो? तिनको जिम्मेवारी कसले लिने हो? प्रसाईंलाई भित्र्याउँदै गर्दा को–को कमरेडहरूको राजनीतिक जीवनको कत्लेआम गरियो, त्यसका बारे यहाँ कसैले कसैलाई जवाफ दिनु पर्दैन? आत्मालोचना गर्नु पर्दैन?,’ उनले प्रश्न गरिन्।

२०७९ को निर्वाचनपछाडि सक्किने की सच्चिने भन्ने बहस चर्चामा रहेको भन्दै उनले अहिले भदौ २३ र २४ पछाडि देश सक्किनेको सीमा कहाँसम्म हो भन्ने प्रश्न खडा भएको पनि उनले बताइन्। जेनजी आन्दोलनको एउटा जबरजस्त माग पार्टीका टेस्टेड नेतृत्व र पुस्ताले बिदा लेउ भन्ने भएको बताउँदै त्यसलाई अनदेखा गर्न नमिल्ने बताइन्।

‘देशमा बरबादी छ, काम चलाऊ सरकार छ। संविधान संकटमा छ। छिटोभन्दा छिटो संविधानलाई बाटोमा ल्याउनु छ। त्यसैले अब संसद्को पुनःस्थापना होइन, निर्वाचनमा जानुपर्छ। यो समाजका अधिकांश स्टेकहोल्डरहरूले संसद् पुनःस्थापना हुन पर्छ भनेर भनेको छैन। अतः हामी चुनावमा केन्द्रित हुन आवश्यक छ। तत्कालै नयाँ नयाँ नेतृत्वमा हामी चुनावमा गयौं भने एमाले खरानी टकटक्याएर बौरनेछ,’ उनले भनिन्।

केन्द्रीय सदस्य तिम्सेनाले मीनबहादुरबाट दान वापत लिएको जग्गा फिर्ता गर्न आग्रह गरिन्। उनले यसअघि पनि उक्त जग्गा लिन नहुने भनेकी थिइन्। त्यसवापत् ६ महिना पार्टीको जिम्मेवारीबाट निलम्बन भएकी थिइन्। ‘अन्यथा नलिनु होला, मीनबहादुर गुरूङको सम्पत्तिमाथि हमला भयो, क्षती भयो, त्यसैले सहयोग फिर्ता गर्ने निर्णय गरौं,’ उनले भनिन्।

उनले भदौ २४ को घटना राष्ट्र र पार्टीको जीवनमा एउटा महादुःस्वप्न (बिग नाइटमेयर) रहेको समेत बताइन्।

Logo