काठमाडौं । जेन जी आन्दोलनका बेला मारिएका प्रहरीको हत्या आरोपमा थप पाँच जना पक्राउ परेका छन् । प्रहरी वृत्त महाराजगञ्जका असई मिलन राय र जवान उत्तम थापाको हत्या आरोपमा थप पाँच जनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा गोरखाका २१ वर्षीय सोमबहादुर गुरुङ, तनहुँका २१ वर्षीय राजीव गुरुङ, युनिक श्रेष्ठ, सर्लाहीका १७ वर्षीय सुमित तितुङ र रामेछापका १६ वर्षीय दीपक मगर रहेका छन् ।
उनीहरूलाई पक्राउ गरेर अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईले जानकारी दिए। यसअघि प्रहरी हत्याको आरोपमा पक्राउ परेका चार जना पुर्पक्षका लागि कारागार चलान भइसकेका छन् । असई रायको हत्या आरोपमा सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका– ४ घर भएका ६२ वर्षका होमप्रसाद पौडेल र उदयपुरको चौदण्डीगढी नगरपालिका–१० हडिया घर भएका २८ वर्षीय टिकाराम विक यस अगाडी नै पक्राउ परेका थिए ।
उनीहरूविरुद्ध कर्तव्य ज्यान र आपराधिक उपद्रवको कसुरमा मुद्दा दर्ता भएकोमा दुवै जना पुर्पक्षका लागि कारागार चलान भएका छन् । त्यसैगरी प्रहरी जवान उत्तम थापाको हत्या आरोपमा काभ्रेको रोशी गाउँपालिका–९ राजवास घर भएका २८ वर्षीय युवराज क्याप्छाकी र मकवानपुरको थाहा नगरपालिका–७ बतासे घर भएका २१ वर्षीय सोनाम तामाङ भन्ने बुद्धिलाल थिङ पक्राउ परेका थिए । उनीहरू पनि पुर्पक्षका लागि कारागार चलान भएका छन् ।
जेनजी आन्दोलनको क्रममा उनीहरुका साथै प्रहरी प्रभाग कोटेश्वरका हवल्दार अमृत गुरुङको पनि आन्दोलनकारीले हत्या गरेका थिए ।





























प्रतिक्रिया