मन्त्रीमा सिफारिस हुँदापनि मन्त्री बन्न नपाएकाहरु

मन्त्रीमा सिफारिस हुँदापनि मन्त्री बन्न नपाएकाहरु

केन्द्रबिन्दु
75
Shares

काठमाडौं । जेनजी आन्दोलनको बलमा गठित अन्तिम सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रीका लागि सिफारिस भएकी डा‍. संगीता मिश्रा अन्तिममा मन्त्री बन्न पाइनन् । स्वास्थ्यमन्त्री बन्न अतिरिक्त स्वास्थ्य सचिवबाट राजीनामा दिएकी थिइन् । डा. मिश्रालाई स्वास्थ्य मन्त्रालयको नेतृत्वका लागि प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेकी थिइन् ।

तर उनीविरुद्ध भ्रष्टाचारसम्बन्धी आरोप रहेको र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेको विषयमा सूचना पाएपछि उनको नाम सपथ ग्रहणसम्म पुग्न सकेन ।

आज मात्रै दलित अभियन्ता खगेन्द्र सुनार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीका लागी प्रधानमन्त्री कार्कीले राष्ट्रपति पौडेलसमक्ष सिफारिस गरेकी थिइन् । दलित अभियन्ताको परिचय बनाएका सुनार विवादित पृष्ठभूमिका व्यक्ति भएको पाइएको छ । उनीमाथि सर्वोच्च अदालत जलाउने अभिव्यक्ति दिएकासहित विभिन्न व्यक्तिलाई धाकधम्की र गालीगलौज गरेको तथा ठगीमा संलग्न भएको आरोपमा दर्जनौँ उजुरी परेको देखिए पछि मन्त्री नियुक्तका लागि सिफारिस भए पनि अन्तिममा सपथ ग्रहण रोकिएको हो ।

यसैगरी प्रधानमन्त्री कार्कीले आइतबार गणपतिलाल श्रेष्ठको नाम पनि पर्यटनमन्त्रीको रुपमा सिफारिस गरेकी थिइन् । सपथको अन्तिम समयमा पर्यटन मन्त्रालयबाट उनको नाम भूमि सुधारमा सारियो । त्यसपछि श्रेष्ठलेपर्यटनबाहेक मन्त्रालयको जिम्मेवारी नलिने बताए पछि मन्त्रीको सपथ हुन सकेन ।

श्रेष्ठ सम्पदा संरक्षण अभियन्ता हुन् । उनले रानीपोखरी, बसन्तपुर दरबार क्षेत्र लगायतका सम्पदा संरक्षणमा भूमिका निर्वाह गरेका छन् । सम्पदा संरक्षण अभियानबारे श्रेष्ठले विश्वचर्चित अक्सफोर्ड युनिभर्सिटीमा गएर समेत प्रस्तुति दिइसकेका छन् ।

Logo