काठमाडौं ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले संसद विघटन पछिको अवस्थाले संविधान र व्यवस्थामाथि नै गम्भीर प्रश्न चिन्ह खडा भएको बताएका छन् ।
आज जिल्ला अध्यक्षहरुसङ्गको भर्चुअल बैठकलाई सम्बोधन गर्दै थापाले संसद विघटनले मुलुकमा संकट गहिरिएर गएको र संवैधानिक जटिलता पैदा भएको बताए । नयाँ नेपाल निर्माण, आमूल परिवर्तन र आर्थिक समृद्धिको लक्ष्य बोकेर भएको परिवर्तनले जनतामा सकारात्मक परिवर्तन दिन नसकेको भन्दै थापाले जनता भ्रष्टाचार, कुशासन, धर्मपरिवर्तन, वेरोजगारी र सर्वसत्तावादको जाँतोमा पिसिनु पर्ने बाध्यात्मक अवस्था आउनु दुर्भाग्यपूर्ण भएको बताए ।
पार्टीको आगामी कार्यदिशा संगठन, जनसंघर्ष र महाधिवेशन भएको भन्दै थापाले पार्टी विभाजनको पीडा अब कहिल्यै भोग्नु नपर्ने समेत स्पष्ट पारे । पार्टीको भविष्यप्रति निश्चिन्त हुन आग्रह गर्दै थापाले आफूसहित पशुपतिशमशेर राणा र डाक्टर प्रकाशचन्द्र लोहनिले पवित्र धार्मिक ग्रन्थ गीता छोएर पार्टी एकताको निमित्त प्रतिबद्ध भएकोले देश, जनता, प्रजातन्त्र र कार्यकर्ताको निमित्त राप्रपालाई मुलुककै बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्ति बनाएर छाड्ने दृढता समेत व्यक्त गरे।
देशव्यापी संगठन सुदृढीकरण अभियानमा केन्द्रीत हुन थापाको विशेष जोड थियो । बैठकमा सचिवालय प्रमुखद्वय ध्रुव बहादुर प्रधान र भाष्कर भद्राले राप्रपाको विचार र एजेन्डालाई स्थापित गर्ने विषय अहिलेको प्रमुख मुद्दा भएको भन्दै जनताको माझमा जान ढिला गर्न नहुने बताए । चरणवद्धरुपमा अध्यक्ष थापाले भर्चुअल बैठक जारी राखेको आजको बैठकमा एकतीस जिल्लाका अध्यक्ष र प्रतिनिधिहरुको सहभागीता रहेको सचिवालय सदस्य राजाराम बर्तौलाले जानकारी दिए ।































प्रतिक्रिया