काठमाडौं। नेकपा (माओवादी केन्द्र) का नेता सुदन किराँतीले पार्टीको आन्तरिक संकटलाई सम्बोधन गर्दै रूपान्तरणको लागि पाँचवटा प्रस्ताव अघि सारेका छन्। एकीकृत समाजवादीसँगको एकता प्रक्रियालाई रोक्नुपर्ने माग गर्दै किराँतीले यो कदमलाई पार्टी, जनविद्रोह र जेन–जी आन्दोलनको मर्म विरुद्धको संज्ञा दिएका छन्।
उपमहासचिव जनार्दन शर्माको असन्तुष्टि बीच किराँतीको यो आवाजले पार्टीभित्र नयाँ बहस सुरु गरेको छ। यो एकता व्यक्तिगत स्वार्थका लागि हो, अपूर्ण र अपवित्र भएको किराँतीले चेतावनी दिएका छन्। विशेष गरी भ्रष्टाचार मुद्दाहरूको छानबिन चलिरहेका बेला यस्तो एकता तत्काल रोक्नुपर्ने उनको माग रहेको छ ।
किराँतीले पार्टी संरक्षकलाई आवश्यक परे पार्टी विघटन गरी महाधिवेशन घोषणा गर्ने अधिकारसहित नयाँ संरचना निर्माण गर्नुपर्ने,अधिकारको विकेन्द्रीकरण र बाँडफाँट अनिवार्य हुनुपर्ने, प्रचण्डलाई सर्वमान्य संरक्षक बनाउने र प्रचण्ड लाई संरक्षक वा सर्वमान्य नेता घोषणा गरी पदाधिकारीहरूलाई ुनिर्देशक कमिटी मा रूपान्तरण गर्ने माग अगाडी सारेका छन् ।
उनले पुराना नेताहरूको केन्द्रीय राजनीतिक समिति, स्थायी समितिदेखि वरिष्ठ नेताहरू समेटेर एउटा शक्तिशाली केन्द्रीय राजनीतिक समिति गठन गर्ने र राष्ट्रिय महत्वका निर्णय, सांसद छनोटजस्ता अधिकार यसैलाई दिने विधान व्यवस्था गर्नुपर्ने बताएका छन् ।
उनले युवा तथा तेस्रो पुस्तालाई मुख्य जिम्मेवारी सुम्पेर पुलको भूमिका निर्वाह गर्न र पुरानो अनुभव र जेन–जी पुस्ताको उर्जालाई जोडेर पार्टीमा नयाँ गति दिने वा संकटबाट उद्धार गर्ने रणनीति अपनाउनुपर्ने सुझाव दिएका छन् ।
तत्काल समाजवादी सँगको एकताले पार्टीको मूल भावनालाई कमजोर बनाउने तर्क गर्दै उनले भ्रष्टाचार छानबिन पूरा नहुँदासम्म एकता स्थगित गरी आन्तरिक सुधारमा केन्द्रित हुनुपर्नेमा जोड दिएका छन् ।
किराँतीको यो प्रस्तावले माओवादी केन्द्रभित्र नयाँ तरंग ल्याएको छ।





























प्रतिक्रिया