काठमाडौं । जेनजी लिडर सुदन गुरुङले गृहमन्त्री ओमप्रकाश अर्यालमाथि आशा मरिसकेकाे टिप्पणी गरेका छन् ।
गुरुङले गृहमन्त्रीले जनताको भरोसा तोडेको आरोप लगाउँदै तत्काल पदबाट राजीनामा दिन चुनाैती दिएका छन्। हत्यारा र भ्रष्टाचारीलाई कारबाहीको माग उठ्दा पनि कुनै परिणाम नदेखिएको उनको भनाइ छ।
उनले सामाजिक सञ्जालमार्फत भनेका छन्, “ओमप्रकाश अर्याल ज्यू, अब त्यो समय आएको छ किनभने अब दुई महिना हुन लागिसक्यो न त कुनै भ्रष्टाचारलाई कारबाही भो न त कुनै हतियारालाई। अहिलेसम्म के हुन्छ कि भनेर देशको हितको लागि लड्दा मैले भ्रामक समाचार द्वारा यत्रो अपमान देखि चरित्र हत्या समेत सहेर बसे । कुनै स्पष्टीकरण पनि दिन उचित ठानिन्न किनभने मैले सोचेको थिएँ कामले देखाउँछ र कामले बोल्छ अनि नेपाली जनताले बुझ्नेछन् एकदिन,र अझै पनि देश बन्छ भने, करोडौँ अट्याकहरू सहन तयार छु तर अब तपाईंबाट आशा मरिसकेको छ।”
उनले यसअघि भनेका छन्- “देशभरबाट “हत्यारालाई कारबाही गर” “भ्रष्टाचारीलाई कारबाही” गर भन्ने आवाज उठ्दा “जेन्जीलाई कारबाही” गर सुन्ने गृह मन्त्रीको पदमा टाँसिएर बस्नु राष्ट्रप्रति अपमान हो।”
काम गर्न नसके पद छोड्ने भनी गृहमन्त्रीले गरेको वाचा सम्झाउँदै गुरुङले अब त्यो समय आएको बताएका छन्। दुई महिना बित्न लाग्दा पनि भ्रष्टाचार वा हत्याको कुनै ठूलो कारबाही नभएको उनले उल्लेख गरेका छन्।
साथै गुरुङले यो आन्दोलन ‘चुनाबको नाटक’ का लागि नगरिएको स्पष्ट पारेका छन्। उनले भनेका छन्, “चुनाबको नाटक नचलोस्। ८४ को चुनाव ८२ मा सार्नलाई गरिएको आन्दोलन होइन यो । नेपाली जनता र जिन्जीका मागहरू सम्बोधन हुँदैन भने यसपालिको चुनाव हुन दिइने छैन।”





























प्रतिक्रिया