काठमाडौं ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले विमानस्थलहरुको सुरक्षाका लागि छुट्टै सुरक्षा युनिट गठन गर्नुपर्ने बताएका छन् । मंगलबार त्रिभुवन विमानस्थलभित्र निर्माण गरिएको सुरक्षा गार्ड भवनको उद्घाटन गर्दै मन्त्री भट्टराईले ‘विमानस्थल सुरक्षा प्रहरी’ भनेर छुट्टै युनिट बनाउनका लागि गृह, अर्थ, रक्षा र पर्यटन मन्त्रालय बीच छलफल चलिरहेको बताएका हुन् । हाल मुलुकमा ५५ वटा विमानस्थल रहेका छन् । त्यसैले केही समयभित्रै पोखरा र भैरहवा विमानस्थल अन्तर्राष्ट्रिय विमानस्थलका रुपमा सञ्चालनमा आउने भएकाले विमानस्थलको सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखेर छुट्टै युनिट बनाउनेबारे छलफल भइरहेको मन्त्री भट्टराईको भनाइ छ ।
उनले एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल भएका कारण काठमाडौं विमानस्थलमा अत्याधिक चाप हुने भएकाले सबै मानिसहरु सफा नियतले मात्रै आउँछन् भन्ने नभएको दाबी गरे । त्यसैले लागु औषधको ओसारपसार, अन्तर्राष्ट्रिय अपराधिक संगठनमा आवद्ध व्यक्तिहरुको ओहोरदोहोर जस्ता विषय उठ्ने गरेकाले यस्ता कामहरु हुन नदिन विमानस्थलको सुरक्षा मजबुत हुनुपर्ने उनको भनाइ छ । ‘विमानस्थलको सुरक्षा संवेदनशील हुन्छ’–मन्त्री भट्टराईले भने–‘विमानस्थलमा राम्रो मात्रै नियत बोकर मानिसहरु आएका हुँदैनन्, अन्तर्राष्ट्रिय अपराधिक गिरोहसँग संगठित भएकाहरु पनि आवतजात गर्ने सम्भावना रहन्छ, लागु औषध ओसारपसारका कुरा उठिरहेका छ । त्यसैले विमानस्थलको सुरक्षाको विषय चूनौती पनि हो, यसकारण छुट्टै सुरक्षा युनिट चाहिन्छ भनेर अहिले छलफल चलिरहेको छ ।’
मन्त्री भट्टराईले सुविधा सम्पन्न प्रहरी सुरक्षा भवन बनेकोमा खुशी व्यक्त गर्दै यसले प्रहरीमा थप जिम्मेवारी, सक्रियता तथा लगनशीलता वृद्वि गर्ने विश्वास समेत गरे । नेपाल नागरिक उड्डयन प्राधिकरणकरणका महानिर्देशक राजन पोखरलले लकडाउनको समयमा पनि टिआएमा दुई वटा वाईडबडी जहाज अटने पाकिङ, टयाक्सी पार्किङ, रनवे विस्तार लगायतका काम गरेको जानकारी गराउदै टिआईएको गुरु योजना पूनरावलोकन भईरहेको बताए । अहिले नेपाल प्रहरीले नै विमानस्थलको सुरक्षाको काम हेरिरहेको छ भने नेपाली सेनाले बाहिरी घेराको सुरक्षाको काम गर्दै आएको छ । तीन सय ५० जनाको क्षमता भएको तीन तले भवन ७ करोड १५ लाख १७ हजार ६ सय ५ रुपैयाँ लागतमा निर्माण गरिएको हो ।































प्रतिक्रिया