प्रहरी कमाण्ड सम्हाल्दै दानबहादुर कार्की

प्रहरी कमाण्ड सम्हाल्दै दानबहादुर कार्की

केन्द्रबिन्दु
27
Shares

काठमाडौँ। नेपाल प्रहरीको सर्वोच्च पदमा आजदेखि दानबहादुर कार्कीले कमाण्ड सम्हाल्ने भएका छन्। ३० वर्षे सेवा हदका कारण निवर्तमान आईजीपी चन्द्रकुवेर खापुङ कात्तिक २६ राति १२ बजेदेखि अनिवार्य अवकाशमा गएपछि कार्कीले जिम्मेवारी ग्रहण गरेका हुन्। कात्तिक २५ गतेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई नेपाल प्रहरीको ३३औँ महानिरीक्षकमा नियुक्त गरेको थियो। आज गृहमन्त्रालयमा दर्ज्यानी चिह्न ग्रहण गरेपछि उनी प्रहरी प्रधान कार्यालय पुगी औपचारिक रूपमा पदबहाली गर्दैछन्।

चुनौतीपूर्ण जिम्मेवारीको इतिहास
कार्कीले उपत्यका प्रहरीको कमाण्ड भदौ २४ गते जनजी आन्दोलनको क्रममा सम्हालेका थिए। त्यसअघि भदौ २३ गते उपत्यका प्रहरी कार्यालय एआईजीविहीन थियो। उपत्यका कमाण्ड सम्हाल्नुअघि उनी प्रहरी प्रधान कार्यालयको मानव स्रोत तथा विकास विभाग प्रमुख थिए।

उनी डीआईजी लुम्बिनी प्रदेश प्रहरी प्रमुख,एसएसपी काठमाडौँ जिल्ला प्रहरी परिसर प्रमुख (भुटानी शरणार्थी मुद्दा अनुसन्धानको समय) र केन्द्रीय प्रवक्ताः नेपाल प्रहरीको आधिकारिक धारणा सार्वजनिक पदमा रहेर काम गरेका थिए ।

इमान्दार छवि र अनुभव

काठमाडौँ जिल्लादेखि उपत्यकासम्मको कमाण्ड सम्हालेका कार्की इमानदार र कर्तव्यनिष्ठ अधिकृतको रूपमा परिचित छन्। कुनै ठूलो आर्थिक प्रकरणमा नमुछिएका उनीसँग फिल्ड अपरेसन, सचिवालय र अन्तर्राष्ट्रिय मिसनको समेत अनुभव छ। संयुक्त राष्ट्रसंघको मिसनमा पूर्वी टिमोर र हैतीमा सेवा गरिसकेका कार्कीले विदेशी तालिम र सम्मानहरू प्राप्त गरेका छन्। नेपाल प्रहरीले अब कार्कीको नेतृत्वमा नयाँ ऊर्जा र रणनीतिक दृष्टिकोणका साथ अघि बढ्ने अपेक्षा गरिएको छ।

Skip This
Skip This
Logo