भोलि बस्ला त नेकपा सचिवालय बैठक ? कस्तो छ सम्भावना ?

भोलि बस्ला त नेकपा सचिवालय बैठक ? कस्तो छ सम्भावना ?

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक मङ्सिर ३ गते (भोलि) बस्ने भएको छ । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा हुने भएको हो ।

पछिल्ला दिनमा पार्टीको शीर्ष तहमा उत्पन्न विवादबारे छलफल गर्न बैठक बस्ने बताइएको छ ।

प्रधानमन्त्री एवं पार्टीका अध्यक्ष केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा नेता माधवकुमार नेपालबीच मन्त्रिपरिषदमा हेरफेर, कर्णाली प्रदेशको अन्तरविरोध, राजदूत नियुक्ति, भारत सरकारका प्रतिनिधि भारतीय गुप्तचर संस्था ‘रअ’ का प्रमुखसँगको भेट, पार्टीको स्थायी कमिटीको निर्णय कार्यान्वयन र संवैधानिक निकायका रिक्त पदमा नियुक्ति आदिबारे अन्तरविरोध हुँदै आएको छ ।

यस अघि प्रधानमन्त्री एवं पहिलो वरियताका अध्यक्ष ओलीले पार्टीको बैठक राख्न ढिलाइ गरेको गुनासो कार्यकारी अध्यक्ष दाहालसहितका नेताले लिखितरुपमा गरेपछि अध्यक्षद्वयको परामर्शमा बैठक भएको थियो । बैठकमार्फत छलफल र संवाद शुरु भएकाले पार्टीमा तत्काल विभाजन आउन सक्ने भन्ने खतरा टरेको छ ।

आन्तरिक सहमतिका साथ गत भदौ २६ गते सम्पन्न स्थायी कमिटी बैठकको कार्यादेश बमोजिम सरकार र पार्टीका कामलाई प्रभावकारिरुपमा सञ्चालन गर्ने सङ्कल्प गरिए पनि नेकपामा पुनः विवाद बल्झिएको हो ।

गत असोज ४ गतेको सचिवालय बैठकमा सङ्घीय मन्त्रिपरिषद्का मन्त्रीहरुको हेरफेरका नीतिगत आधारबारे छलफल भएको थियो । सोही बैठकले एकताका बाँकी कामलाई पूर्णता दिन अध्यक्ष ओली र अध्यक्ष दाहालले १० दिनभित्र गृहकार्य गरी सचिवालयमा पेश गर्ने निर्णय गरे पनि त्यसको कार्यान्वयन हुन सकेको छैन ।

गत स्थायी कमिटीको बैठकमा अध्यक्षद्वय बीचको सहमतिका आधारमा गठित समस्या समाधान समितिको प्रतिवेदन परिमार्जनसहित प्रस्तुत र पारित भएपछि विवाद टुङ्गिएको थियो । सो स्थायी कमिटीको बैठकले अध्यक्ष एवं प्रधानमन्त्री ओली सरकारका काममा केन्द्रित हुने र अध्यक्ष दाहाल पार्टी काममा केन्द्रित भई कार्यकारी अध्यक्षको भूमिकामा रहने कार्यविभाजनको प्रस्ताव पारित गरेको थियो ।

नेकपाले आगामी चैत २५ देखि ३० गतेसम्म महाधिवेशन हुने तथा सोको तयारीका लागि कात्तिक १५ देखि १७ सम्म केन्द्रीय कमिटीको बैठक तय गरेकामा आगामी मङ्सिर १५ गतेका लागि केन्द्रीय कमिटीको बैठक सारिएको छ ।

Logo