जेनजी आन्दोलनका सहिदः परिवारको भविष्यको चिन्तामा अमर प्रहरी अमृतको परिवार

जेनजी आन्दोलनका सहिदः परिवारको भविष्यको चिन्तामा अमर प्रहरी अमृतको परिवार

केन्द्रबिन्दु
15
Shares

गण्डकी। परिवारले मुख्य सहारा गुमाएको दुुई महिना बितिसकेको छ । जेनजी आन्दोलनका क्रममा नेपाल प्रहरीका सहायक हबल्दारका रुपमा राष्ट्रसेवामा कार्यरत अवस्थामा ज्यान गुमाएका कास्कीको रुपा गाउँपालिका–५ रामदीका अमृत गुरुङको परिवार यतिखेर आफन्त गुमाउनुुको असह्य पीडामा छ । दुुई वर्षको नाबालक छोरासँगै परिवारको भविष्यको चिन्ता पनि उत्तिकै छ ।

आफन्त वियोगमा अमृतकी श्रीमती कान्ति र बुुबा हस्तबहादुरको आँखा अझै ओभाउन सकेका छन् । रुपा गाउँपालिका–५ मा २०५१ पुस १० गते जन्मिएका अमृत गुरुङले नेपाल प्रहरीमा सेवा गरेको पनि यही असोज १५ गते १२ वर्ष पूरा भएको थियो । सेवामा नै रहँदा यस्तो अकल्पनीय घटना होला भन्ने कसले पो सोचेको थियो र ! गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा भएको अमानवीय आक्रमणमा उनले अल्पायुमै ज्यान गुमाउन पुगे ।

आन्दोलनका क्रममा उनी काठमाडौँको कोटेश्वर प्रहरी प्रभागमा सेवारत थिए। श्रीमती कान्तिका अनुसार उनी त्यस समयमा केही दिनदेखि नै रुघाखोकीका कारण अस्वस्थ थिए । जेनजी आन्दोलनका कारण ठाउँठाउँमा भैरहेका झडप आदिका समाचारले श्रीमती कान्तिलाई कताकता चसक्क बिझाएको थियो । गत पुसमा आमा बितेका कारण यसवर्ष टिका नभएको र गएको जेठमा घरमा आएका अमृत यसपटक दशैंमा घरमा नआई जागिरमा नै रहेका थिए । दशैंमा नआए पनि परिवारलाई आफू तिहारमा आउने बताउनुुभएका उनले घरमा नै जान नपाई सेवामा नै रहेका अवस्थामा अमानवीय आक्रमणमा परी ज्यान नै गुमाउनुुप¥यो ।

रुघाखोकीका कारण शरिर अस्वस्थ भए पनि आन्दोलनका कारण निरन्तर ड्युटीमै खटिरहेका अवस्थामा उनी कार्यरत प्रहरी प्रभाग कोटेश्वर भदौ २४ गते तनावग्रस्त बनेको थियो । भदौ २३ गते सुरु भएको आन्दोलन २४ गते अझै अराजक तथा हिंसात्मक गतिविधितर्फ उन्मुख थियो । त्यसक्रममा ढुङ्गामुढा हुनुका साथै भीड पनि नियन्त्रण बाहिर गइसकेको थियो ।

प्रहरी प्रभागमा आन्दोलनकारीबाट हातहतियार खोसेर उल्टै प्रहरीमाथि प्रहार गर्न थालेसँगै भीड प्रहरीको नियन्त्रण बाहिर गएको थियो । त्यसै क्रममा प्रहरी कार्यालयमा आगजनी, प्रहरीलाई कुटपिट आदिसँगै अमृतको सम्पर्क एकाएक टुटेको थियो । भदौ २४ गते बिहान १०.०० बजेसम्म अमृतसँग भिडियो कल भएको बताउँदै उनकी श्रीमती कान्तिले त्यसपछि भने पटकपटक सम्पर्क गर्न खोज्दा पनि सम्पर्क हुन नसकेको जानकारी दिइन्।

“त्यसपछि फेसबुक, म्यासेन्जर आदिका माध्यमबाट उनका साथीभाइहरूको सम्पर्क नम्बर खोजेर पनि फोन सम्पर्क गर्ने प्रयास गरेँ, कसैसँग पनि सम्पर्क हुन सकेन”, उनले भावुक हुँदै भनिन्, “रातभर पनि कहीँ कतै उहाँका बारेमा जानकारी हुन सकेन । भदौ २५ गते बिहान मात्रै उहाँ कार्यरत कार्यालयका प्रमुख यज्ञराज भट्टसँग फोन सम्पर्क भयो ।” फोन सम्पर्क भए पनि प्रमुख भट्टले अमृतसहित केही साथीहरूसँग सम्पर्क हुन नसकेको जानकारी गराए । यसले झन परिवारमा तनाव बढायो ।

त्यस कुराले आफूलाई झनै चिन्तित बनाएको बताउँदै दिउँसो १.३० बजे कार्यालयबाट अमृत सिकिस्त बिरामी भएर बिएण्डबी हस्पिटलमा भर्ना गरिएको भन्दै कोही आफ्नो मान्छे काठमाडौंमा हुनुहुन्छ भने पठाइदिनुुहोस् भन्ने खबर परिवारलाई भएको थियो । “त्यस्तो कुुरासँगै म के बोल्ने के नबोल्ने सोच्न समेत सकिन । दिमाग शून्य भयो, एक्लै डाँको छोडेर रोएँ”, उनले भनिन्, “त्यसपछि आफन्तहरूलाई फोन गरेँ र यस कुराले उहाँहरु सबै चिन्तामा हुनुहुन्थ्यो ।”

तत्काल घर छाडेर आफू जान सक्ने अवस्था समेत नरहेका कारण काठमाडौंमा एकजना भाइ र दिदीलाई हस्पिटलमा जान भनेको उनी बताउछिन् । उनले त्यसपछि मात्रै त्यहाँको दुःखद घटनाबारे थाहा पाएको बताइन् । अघिल्लो दिन १.३० बजे हस्पिटलमा पुु¥याइएका अमृतको सोही दिन ४.४२ बजे हस्पिटलले मृत घोषणा गरिसकेको रहेछ । अमृतको शव २७ गते घर आइपुगेको र २८ गते उनको अन्त्यष्टि गरिएको थियो ।

सरकारले अमृत गुुरुङसहित ४५ जनालाई सहिद घोषणा गरेको छ । यसमा तीन जना अमर प्रहरी छन् । श्रीमती कान्तिका अनुुसार यसबीचमा सरकारका तर्फबाट परिवारलाई १५ लाख रुपैयाँ आर्थिक सहायता उपलब्ध गराइएको छ । त्यस्तै प्रहरी संगठनका तर्फबाट १० लाख रुपैयाँ राहत सहयोग उपलब्ध गराइएको छ ।

प्रहरी सङ्गठनमा अनुशासित, कर्तव्यनिष्ठ र जिम्मेवार प्रहरी अधिकारीका रूपमा आफ्नो पहिचान बनाएका अमृत सेवाकालीन समयमा उनले विभिन्न संवेदनशील ठाउँमा खटेर अपराध नियन्त्रण र समाजमा शान्तिपूर्ण वातावरण बनाउन निरन्तर योगदान दिएका थिए। उनको सक्रियता र इमान्दारितापूर्ण सेवालाई सङ्गठनभित्र प्रशंसा गरिन्थ्यो ।

राज्यका तर्फबाट आर्थिक सहायता हस्तान्तरणमा कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा, रुपा गाउँपालिकाका अध्यक्ष नवराज ओझा, जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख, सशस्त्र प्रहरी, सैनिक तथा राष्ट्रिय अनुसन्धानका प्रतिनिधिसहित जिल्ला सुरक्षा समितिका सदस्यहरू उनको घरमा नै पुुगेर परिवारलाई भेटी सान्त्वना दिएका थिए । उक्त क्रममा उनीहरूले दिवङ्गत गुरुङले राष्ट्र र जनताको सुरक्षामा गरेका अतुलनीय योगदानको स्मरण गर्दै परिवारलाई धैर्य धारण गर्न आग्रह गरेका थिए ।

देश र जनताको सुरक्षार्थ सेवामा नै रहँदा अमानवीय तबरबाट हत्या गरिएका अमृतको परिवार यतिखेर राज्यबाट उचित न्याय पाउने आशासँगै परिवारको भविष्यको चिन्तामा छ । हत्याका दोषिलाई कानुुनी कारवाही हुनुपर्ने बताउँदै श्रीमती कान्तिले नाबालक छोरा र परिवारको भविष्यको चिन्ताले सताएको सुनाइन् । हत्यामा संलग्नलाई कानुनबमोजिम कडा कारबाही हुनुपर्ने बताउँदै उनले हत्याका आरोपी एकजनालाई नियन्त्रणमा लिएको भन्ने जानकारी पाए पनि त्यसपछि के भएको छ त्यसबारे आफू अनभिज्ञ रहेको बताइन्।

विसं २०७० असोज १५ गते प्रहरी सेवाका प्रवेश भई पाल्पामा पदस्थापन भएका अमृत त्यस यता मुुगु, सुर्खेत हुँदै काठमाडौंमा रही सेवा गर्दै आएका थिए । घरायसी अवस्था सामान्य भएका उनका बुुबा कृषक हुन भने आमाको नौ महिनाअघि मृत्युु भएको थियो । हाल घरमा दुुई वर्षको नाबालाक छोरा, श्रीमती, बुुबा र हजुुरबुुबा रहेका छन् ।

घरको मुख्य सहारा नै नरहेपछि चिन्तामा परिवार कृषि पेसामा रही आर्थिक रुपमा सामान्य रहेको उनीहरूको परिवारमा घरको मुख्य सहारा नै नरहेपछि यतिखेर निकै चिन्तामा छन् । दुुई वर्षको छोरा, आफूहरूको जीवनयापन तथा भविष्यले चिन्तित बनाएको श्रीमती कान्तिले भावुक हुँदै भनिन् । बुबा हस्तबहादुरको अमृत एउटा मात्र छोरा थिए । आफ्नो सहारा भनेको त्यही छोरा रहेको र उसैको आशा एवम् भरोसा रहेको बताउँदै उनले छोरा नै नरहँदा अबको आफूहको भविष्य के हुने भन्ने अन्योलमा परेको बताए ।

“म पहिला रोजगारीका लागि साउदी रहेको थिएँ, त्यसै बेला अमृतले म भर्ती भएँ अब हजुरले त्यहाँ दुःख गर्न पर्दैन घर फर्कनुहोस् भनेको अहिले पनि झलझली आउँछ”, अमृतले भर्ती हुनासाथ त्यस बेला भनेको कुरा सम्झँदै भक्कानिदै भने । राष्ट्र सेवामा रहँदा रहँदै छोराले ज्यान गुमाएको उल्लेख गर्दै उनले आफूहरू राज्यबाट उचित न्याय र संरक्षणको पर्खाइमा रहेको बताए ।

श्रीमती कान्ति स्नातक तहमा मानविकीतर्फ मुख्य विषय अङ्ग्रेजी र ग्रामीण विकास विषय लिएर उत्तीर्ण छन्। उक्त घटनापछि उनको रोजगारीको विषयमा राज्यका तर्फबाट चासो भने दिइएको छ । रोजगारीका लागि १५ दिनअघि ऊर्जा मन्त्रालयबाट उनीसँग निवेदन र शैक्षिक योग्यताका प्रमाणपत्र माग भएको थियो । त्यस्तै प्रहरी सङ्गठनमा पनि निवेदन दिन भनिएको उनले जानकारी दिए। “रोजगारीका लागि कुरा त आएको छ तर कहाँ जाने भन्ने कुरामा अझै निर्णयमा पुुग्न सकेकी छैन”, उनले भनिन्।

उनको रोजगारी तथा नाबालकको शिक्षाका लागि स्थानीय पालिकाले पनि चासो देखाएको छ । रोजगारीका लागि अन्य कुनै विकल्प नभएका अवस्थामा रुपा गाउँपालिकाका तर्फबाट अमृतकी श्रीमतीको रोजगारी र छोराका लागि शिक्षाको उचित प्रबन्ध गर्ने कुरामा ध्यान दिइएको गाउँपालिकाका प्रमुख नवराज ओझाले बताए।

Logo