निर्मल पौडेल,पर्वत । नेपाली काँग्रेसको जिल्ला कार्यसमिति पर्वतले मंसिर १ गतेको बैठकबाट केन्द्रलाई स्पष्ट सन्देश पठाएको छ – “निर्वाचनअघि नै १५ औँ महाधिवेशन नगरे २०८४ को संघ–प्रदेश निर्वाचनमा फेरि लज्जास्पद हार बेहोर्नुपर्छ ।” यो निर्णय सामान्य संगठन सुदृढीकरणको प्रस्ताव मात्र होइन, यो पार्टी केन्द्रको ढिलासुस्ती र नेतृत्वको अकर्मण्यताप्रति पर्वत काँग्रेसको खुला विद्रोह हो । पर्वत एक्लैले होइन, देशभरका जिल्लाहरूमा यही असन्तुष्टि मौन रूपमा बढिरहेको छ । तर पर्वतले पहिलो पटक खरो रूपमा बोलेको छ ।
काँग्रेस पर्वतले भनेको छ, “शेरबहादुरजीको कार्यकाल सकिन लाग्यो, तर नयाँ नेतृत्व आउने टुंगो छैन” विधानअनुसार १४औँ महाधिवेशनको चार वर्षे कार्यकाल २०८२ फागुनमा सकिन्छ । त्यसपछि स्वतः महाधिवेशन हुनुपर्छ । तर केन्द्रले अहिलेसम्म मिति तोकेको छैन । पर्वत काँग्रेसले भन्यो “२१ फागुन २०८२ को निर्वाचनभन्दा अगाडि नै नयाँ नेतृत्व चाहिन्छ, नत्र फेरि गगन–विश्वप्रकाश–प्रदीप पौडेलबीचको आन्तरिक लडाइँले कार्यकर्ता र मतदाता दिक्क हुनेछन् ।”
मंसिर १ मा सम्पन्न बैठकले पार्टीको नीतिगत दिशानिर्देशअनुसार संगठनात्मक पुनर्संरचनालाई अत्यावश्यक ठहर गर्दै पार्टी नयाँ नेतृत्व चयन तथा संगठन सुदृढीकरणमार्फत २१ फागुन २०८२ मा हुने निर्वाचन हुनु अगाडि नै नियमित महाधिवेशन गर्दा उपयुक्त हुने सुझाव केन्द्रमा पठाउने निर्णय गरेको नेपाली काँग्रेस पर्वतका सचिव गुप्तनिधि शर्माले जानकारी दिए ।
यस्तै काँग्रेस पर्वतले लेवी नतिर्ने जनप्रतिनिधिलाई क्रियाशील सदस्यता नदिने सर्वसम्मतिले निर्णय गरेको छ । लेवी नबुझाउने मेयर, अध्यक्ष, सांसद, प्रदेश सांसदहरूको क्रियाशील सदस्यता नविकरण हुँदैन । यो निर्णयले ठूला–ठूला नेताका “पकेटका” जनप्रतिनिधिलाई ठाडो चुनौती दिएको छ । केन्द्रले यस्तो निर्णय गर्न डराइरहेको बेला पर्वतले यो निर्णय गरेको हो ।
आर्थिक पारदर्शिता र संगठनप्रतिको इमान कायम राख्न कठोर बन्नैपर्छ भन्दै काँग्रेसले युवा र अनुभवी दुवै पुस्तालाई समेट्ने नेतृत्व नआए काँग्रेस सकिने निष्कर्ष निकालेको छ । बैठकमा कार्यकर्ताले खुलेर भने – “बीपी कोइरालादेखि गिरिजाप्रसाद, सुशील कोइराला हुँदै शेरबहादुर देउवासम्म आइपुग्दा काँग्रेस एउटै पुस्ताको बन्धक बन्यो । अब गगन, विश्वप्रकाश, प्रदीप, चन्द्र भण्डारीहरूलाई अवसर नदिए युवा पुस्ता रुख छोड्छ ।”
पर्वतमा मात्र होइन प्रत्येक जिल्ला–जिल्लामा यस्तै असन्तुष्टि छ, तर बोल्ने हिम्मत छैन तर पर्वतले बोलेको छ । यदि २०८२ फागुनअघि महाधिवेशन गरेन भने २०८४ मा काँग्रेसले २०७४ र २०७९ को जस्तै हार बेहोर्नेछ। यो पर्वतको मात्र होइन, देशभरका इमानदार काँग्रेस कार्यकर्ताको चेतावनी हो। केन्द्र मौन बसे २०८४ मा मतदाताले जवाफ दिनेछन् भन्ने निष्कर्ष पर्वत काँग्रेसको रहेको छ ।































प्रतिक्रिया