काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले देशमा दशकौँदेखि व्याप्त कुशासन, भ्रष्टाचार र राजनीतिक बेथितिको युग समाप्त भएको सन्देश दिएकी छन् ।
सिंहदरबारमा आयोजित सर्वदलीय बैठकमा १२५ दलका नेताहरूलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले आफ्नो सरकार युवा पुस्ताको ‘जायज आक्रोश’ र परिवर्तनको आन्दोलनको जगमा बनेको स्पष्ट पारेकी हुन् । उनले भनिन्, “युवाहरूले एउटा स्पष्ट सन्देश दिए, अब पुग्यो! भ्रष्टाचार, कुशासन र पहुँचको राजनीति अब चल्दैन ।”
साथै प्रधानमन्त्री कार्कीले आगामी फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन सम्पन्न गर्नु सरकारको ‘संवैधानिक दायित्व र जनताप्रतिको अटल राजनीतिक प्रतिबद्धता’ भएको दोहोर्याएकी छन् । उनले निर्वाचनको अनिवार्यताका बारेमा सरकारको प्रतिबद्धता दह्रिलो र स्पष्ट रहेको बताउँदै संवैधानिक अडानमा कुनै अलमल नभएको स्पष्ट पारिन् ।
‘हाम्रो संवैधानिक अडानमा कुनै अलमल छैन। निर्वाचनको अनिवार्यताका बारेमा पनि हाम्रो प्रतिबद्धता दह्रिलो र स्पष्ट छ। तर, निर्वाचनको घोषणापछि पनि कुनैकुनै दलमा राजनीतिको छेउकुनामा देखिएको अन्योल, संसद् पुनःस्थापनाको माग र सरकारको वैधानिकतामाथि प्रश्न उठाउने कार्यले राष्ट्रलाई फेरि अस्थिरताको चक्रमा धकेल्न सक्छ।’ उनले भनिन् ।
साथै उनले संसद् पुनःस्थापनाको अडान लिने कार्यले केवल विगतको राजनीतिक दुर्घटनालाई दोहोर्याउन खोजेको पुष्टि हुने उल्लेख गर्दै अब राजनीतिक बहसलाई ‘संवैधानिक निकासको बाटो अर्थात् निर्वाचनमा केन्द्रित’ गर्न आग्रह पनि गरिन् ।
लोकतन्त्रमा विश्वास गर्ने शक्तिहरूका लागि निर्वाचनबाट भाग्नु कुनै विकल्प नभएको बताउँदै उनले लोकतन्त्रमा विश्वास गर्ने कुनै पनि दलले जनमतको सम्मान नगरी पुनःस्थापनाको कुरा गरेर संवैधानिक दायित्वबाट पलायन नहोस् भनी विशेष आग्रह गरिन् ।
“लोकतन्त्रका वाहक शक्ति राजनीतिक दल नै हुन्। दलको साथ, सहयोग र सहभागिताबिना चुनावको परिकल्पना पनि असम्भव हुन्छ,” प्रधानमन्त्री कार्कीकाे भनाइ थियाे ।





























प्रतिक्रिया