काठमाडौं । नेकपा एमालेनिकट नेपाल खेलकुद महासंघका संयोजक पर्शुराम बस्नेतले हाल ‘जेन–जी’ नाममा देखिएको अराजकता र त्यससँग जोडिएका भिडन्तमूलक घटनाप्रति चिन्ता व्यक्त गर्दै सरकारलाई कडा चेतावनी दिएका छन् ।
उनले देशभर हिंसात्मक गतिविधि र सामाजिक अराजकता फैलिन सक्ने जोखिम तीव्र भएको भन्दै यसको सम्पूर्ण दायित्व सरकारकै काँधमा पर्ने बताए । बस्नेतका अनुसार पछिल्ला गतिविधिले राजनीतिक स्थिरता र निर्वाचनको वातावरण दुवै असुरक्षित बन्दै गएको छ । ‘हिंसात्मक घटना मच्चाउने, सामाजिक अराजकता फैलाउने, जेन–जीका नाममा उत्पात मच्चाउनेविरुद्ध देशव्यापी प्रदर्शन गर्न निर्देशन जारी गर्छौं’, उनले भने ।
एमाले लोकतान्त्रिक मूल्य–मान्यतामा दृढ रहेको र हिंसाका हरेक स्वरूपको विरोधी रहेको भन्दै उनले यस्तो गतिविधि सहन नसकिने चेतावनी दिए । ‘यदि नेकपा एमालेलाई लक्षित गरेर निरन्तर आक्रमण, हिंसा र अराजकता मच्चाइने हो भने प्रतिवाद गर्न बाध्य भइने छ, नेता–कार्यकर्ताहरू देशव्यापी रूपमा परिचालित भएर जस्ताको तस्तै जवाफ दिन तयार छन्’, बस्नेतको भनाइ छ ।
उनले सरकार शान्ति–सुरक्षामा असफल भएको बताएका छन् । ‘हामी शान्तिपूर्ण रूपमा जनताको काममा खटिएका छौँ, जनताको सुरक्षाको ग्यारेन्टी राज्यले दिनुपर्छ, अहिले जति एमालेलाई लक्षित गरेर आक्रमण भइरहेको छ, यसले हिंसा निम्त्याउँछ, त्यस्तो घटना भयो भने क्षतिको जिम्मेवारी सरकारले लिनुपर्छ,’ बस्नेतको चेतावनी छ ।
प्रधानमन्त्री सुशीला कार्कीप्रति असन्तुष्टि प्रकट गर्दै बस्नेतले २४ घण्टाभित्र राजीनामा दिन चुनौतीसमेत दिए । ‘सरकारले जनतालाई पाउनु पर्ने नैसर्गिक अधिकारसहितको सुरक्षित वातावरण दिन सक्दैन भने प्रधानमन्त्रीले तुरुन्त राजीनामा दिनुपर्छ,’ उनले भने ।
पछिल्लो परिस्थितिले निर्वाचनको वातावरण नै समाप्त पार्न थालेको बस्नेतको निष्कर्ष छ । ‘निषेध, घेराबन्दी र हिंसाबाट देश अस्थिर दिशामा धकेलिएको छ, ‘जेन–जी’ का नाममा गठन भएको सरकारले यही नाम देखाएर देशभर हिंसा भड्काइरहेको छ, यो रोकिएन भने ठूलो क्षति हुन्छ,’ उनको भनाई छ ।
बस्नेतले सरकारले तत्काल कडा कदम चालेर हिंसा रोक्न, राजनीतिक स्वतन्त्रतामा अवरोध नगर्न र शान्ति–सुरक्षाको वातावरण पुर्नस्थापना गर्न जोडदार माग गर्नु भएको छ ।































प्रतिक्रिया