प्रगतिशील लोकतान्त्रिक पार्टीको आगामी यात्रा कस्तो रहला ?

प्रगतिशील लोकतान्त्रिक पार्टीको आगामी यात्रा कस्तो रहला ?

केन्द्रबिन्दु
6
Shares

काठमाडौं । नेसपा (नयाँ शक्ति), प्रगतिशील राष्ट्रिय अभियान, रास्वपा छाडेका सन्तोष परियारसहितको एकता भएर प्रगतिशील लोकतान्त्रिक पार्टी घोषणा गरिएको छ । आइतबार राजधानीको राष्ट्रिय सभा गृहमा आयोजित एकता कार्यक्रमबाट नयाँ पार्टीको घोषणा गरिएको हो । पार्टीको चुनाव चिह्न नेसपा नयाँ शक्तिले प्रयोग गर्दै आएको आँखा रहेको छ भने पार्टीमा ७ सदस्यीय अध्यक्ष मण्डल समेत रहेको छ ।

कात्तिक २८ गते बाबुराम भट्टराई संरक्षक रहेको नेपाल समाजवादी पार्टी(नयाँ शक्ति), जनार्दन शर्माको नेतृत्वमा रहेको प्रगतिशील राष्ट्रिय अभियान र रास्वपाबाट विद्रोह गरी आएका परियारलगायत बिच एकता गर्ने सहमति भएको थियो । अरुले बोलेर मात्रै हिड्ने काम नगर्ने गरेकाले अहिले उक्त पार्टी खोल्नुको कारण थोरै बोल्ने धेरै काम गर्ने रहेको भन्दै अन्य पार्टीलाई व्यंग समेत हानेका थिए ।

प्रलोपको आगामी दिन दस्तावेजमा आधारित

पार्टी घोषणामो सुरुमा प्रगतिशील अभियान सञ्चालन गर्ने भनिए पनि चुनावको मिति घोषणा भइसकेकाले पार्टी नै गठन गर्नुपरेको बताइएको छ । अधिकांश माओवादी धाराका शीर्ष नेता सम्मिलित प्रलोपाको मार्गदर्शक सिद्धान्त भने परिस्कृत माक्र्सवाद हुने भनिएको छ ।

पार्टीले परिवर्तन बाहेक सबै परिवर्तनशील छन् भन्ने बुद्ध दर्शनलाई आत्मसात् गर्दै माक्र्सको समयको पहिलो औद्योगिक क्रान्तिकालको भौतिक विज्ञान र मानवशास्त्रमा आधारित द्वन्द्वात्मक र ऐतिहासिक भौतिकवादभन्दा अघि बढेको अहिलेको चौथो र पाँचौ औद्योगिक क्रान्ति कालसम्मको सापेक्षता र क्वान्टम सिद्धान्त, जेनेटिक्स र कृत्रिम बौद्धिकता लगायतका ज्ञानविज्ञानले परिष्कृत माक्र्सवादी द्वन्द्वात्मक ऐतिहासिक भौतिकवादमा आधारित विकसित विज्ञानमा आधारित समाज विकासको नविनतम् सिद्धान्त अनुरुपको नेपाली समाजवाद’ पार्टीको मार्ग निर्देशक सिद्धान्त/दार्शनिक आधार हुने, उनीहरुको पार्टीको दस्तावेजमा राखेका छन् । उनीहरुले भौतिक जगतले मानिसको चेतनालाई प्रभावित गर्ने र मान्छेको चेतनाले भौतिक जगतलाई बुझ्ने र बदल्ने भएकाले दर्शन, विचार, सिद्धान्तलाई निरन्तर पुनर्परिभाषित, पुनःसश्लेषण, समृद्धीकरण गर्दै जानुपर्ने पनि उल्लेख गरेका छन् ।

आजको युग एकसाथ ‘उत्तर पुँजीवाद’ र ‘उत्तर राज्यसमाजवाद’ को युग हो भएकाले राजनीतिक प्रणाली र अर्थतन्त्रको ढाँचा दुवै हिसाबले अब नयाँ मोडेलको खोजी र विकास गर्नुपर्ने उल्लेख गर्दै यसको चरित्र समावेशी र सहभागितामूलक लोकतन्त्रमा आधारित मौलिकतासहितको नेपाली समाजवाद हुने दस्तावेजमा स्पष्ट छ ।

दस्तावेजमा पछिल्लो राजनीतिक घटनाक्रमको पृष्ठभूमिमा जेनजी विद्रोहलाई संगठित गर्न, युवा नेतृत्वको विकास गर्न, आन्दोलनमार्फत अभिव्यक्ति युवाको आवाजलाई थप सशक्त बनाउन, देशलाई भ्रष्टाचार मुक्त गरी सुशासनको प्रत्याभूति दिन, राजनीतिक, सामाजिक, आर्थिक र राज्यका निकायको पुनःसंरचना गर्न, विज्ञान–प्रविधिको विकास र रोजगारी सिर्जनामा अग्रसर हुन, जवाफदेही प्रणाली स्थापित गरी निश्चित समयमा देशलाई समृद्ध बनाउन, प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्र प्राप्तिका खातिर भएका विगतका ऐतिहासिक जनआन्दोलन, जनयुद्ध, मधेश आन्दोलन, थारु आन्दोलन, जनजाती आन्दोलन, दलित आन्दोलन र जेनजी विद्रोहमा भएको युवा–विद्यार्थीको बलिदानी खेर जान नदिन नयाँ राजनीतिक पहल अनिवार्य बन्न गएको उल्लेख छ ।

उक्त जिम्मेवारी पूरा गर्न जेनजी युवा, युवा–विद्यार्थी बौद्धिक वर्ग, प्रगतिशील, लोकतान्त्रिक, वामपन्थी शक्ति समूह र व्यक्तित्वको संयोजनबाट द्रुत गतिमा समृृद्धि हासिल गर्न, वलियो राष्ट्र, सभ्य नागरिक, सुदृढ राज्य प्रणाली भएको समृद्ध नोपलको निर्माणका लागि प्रगतिशील लोकतान्त्रिक पार्टी गठन गरिएको दाबी घोषणापत्रमा छ । साथै राजनीतिक दलको भीडमा एउटा नयाँ दल थप्न र केही नेता उत्पादन गर्न पार्टी गठन नभएको तर्क गरिएको छ ।

जेनजी आन्दोलनको विद्रोहले निम्त्याएको यो अनौठो पार्टी घोषणा टिक्ने हो होइन भनि जनता आफैँमा अलमल छन् । ३ बर्ष अघिमात्र दर्ता भएको रास्वपा पार्टी छोडेर आएका सन्तोष परियार, विभिन्न राजनीतिक दलमा सक्रिय भएका बाबुराम भट्टराई, माओवादीबाट कहिल्यै टाढा नभएका नेता जनार्दन शर्मा, सुदन किरातीहरु मिली घोषणा भएको यो पार्टीको सबैको सिद्धान्त र भिजन भने फरक नै छ । वर्षौदेखि कसैको हुन नसकेका बाबुरामलाई जनताले भोट हाल्लान् नहाल्लान् भन्ने आफैमा अन्योल छ, जनार्दन भने प्रचण्ड नै सबैथोक मानेका उनले कसरी अरुलाई अंगाल्लान् त्यो पनि हेर्न बाँकी नै छ । यसरी फरक–फरक सिद्धान्त बोकेर हिँडेका यी नेताहरुको यात्रा कति दिनसम्म जाने हो, या निर्वाचनका लागि मात्र दर्ता भएको हो उत्सुकता सबैमा छ ।

Skip This
Skip This
Logo