सारथीले छोडेका ईश्वर पोखरेल, एमाले अध्यक्षमा ओलीसँग भिड्दै

सारथीले छोडेका ईश्वर पोखरेल, एमाले अध्यक्षमा ओलीसँग भिड्दै


काठमाडौं । नेकपा (एमाले)को ११औँ महाधिवेशन मंसिर २७ देखि २९ गतेसम्म हुँदैछ। एमाले मुख्यालय च्यासलमा गएको बिहीबार करिब ८ घण्टा बसेको सचिवालय बैठकमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले औपचारिक रूपमा आफ्नो उम्मेदवारी प्रस्तुत गरेका छन्।

बैठकमा वरिष्ठ उपाध्यक्ष पोखरेलले पार्टी आन्दोलन संकटको अवस्थामा पुगेको, नेतृत्वको अभिव्यक्ति र कार्यशैलीका कारण संकट आएको भन्दै यसको निकास दिने गरी आफूले प्रतिस्पर्धा गर्न चाहेको स्पष्ट मत राखेका थिए । अध्यक्ष केपी शर्मा ओलीले तेस्रो कार्यकाल पनि नेतृत्व लिँदा पार्टी कमजोर बन्ने जिकिर गर्दै औपचारिक रूपमा बिदा लिएर सर्वसम्मत अध्यक्ष बनाउने काममा सहयोग गर्न उनले ध्यानाकर्षणसहित आग्रह गरेका थिए ।

ओलीसँग नवौं महाधिवेशनमा माधव नेपाल र दशौंमा भीम रावलले प्रतिस्पर्धा गरेका थिए। नवौं महाधिवेशनमा उपाध्यक्ष निर्वाचित भएका पोखरेल दशौं महाधिवेशनमा विशेष पद सिर्जना गरेर वरिष्ठ उपाध्यक्ष बनेका थिए।

पोखरेलले अध्यक्षमा उठ्ने चाहना व्यक्त गरेपछि अध्यक्ष ओलीलाई चुनौती दिने एमालेभित्र नयाँ समूहको उदय भएको ठानिएको छ। सचिवालय बैठकमा अन्य नेताहरूको दरिलो साथ पाएका पोखरेलले अध्यक्ष पदमा दाबी गरेपछि ओलीले सकभर मिलेर एकमना एकताको साथ जान आग्रह गरेका थिए। तर, पोखरेल पछि नहट्ने अडान राखेपछि ओलीले स्वस्थ प्रतिस्पर्धा हुने बताउँदै महाधिवेशनको जिम्मेवारी बाँडफाँड गर्दै बैठक निष्कर्षबिनै सकिएको थियो।

दुई कार्यकाल महासचिव र एक कार्यकाल वरिष्ठ उपाध्यक्ष रहेका पोखरेल २०३२ मा स्थापित कोअर्डिनेशन केन्द्रका संस्थापक सदस्य हुँदै करिब ५० वर्षदेखि लगातार केन्द्रीय कमिटीमा छन्। उनी २०३५ सालमा नेकपा (माले) गठन गर्दाका संस्थापक केन्द्रीय सदस्य पनि हुन्। त्यतिबेला मालेको १२ सदस्यीय केन्द्रीय कमिटी थियो। मालेको चौथो, मार्क्सवादीसँग एकता भएपछि पाँचौँ हुँदै लगातार केन्द्रीय कमिटीमा रहेका पोखरेल २०६५ मा बुटवलमा भएको आठौँ महाधिवेशनबाट महासचिव निर्वाचित भएका थिए।

कित्ताकाट–आस्था फर्किएको नभए पनि उनी आफू निकट जिल्ला नेता–कार्यकर्तासँग ओलीको पक्षमा लाग्ने बताउन थालेका छन्।

नवौं महाधिवेशनमा पनि महासचिव निर्वाचित भएका पोखरेल माओवादी केन्द्रसँग एकता भएपछि महासचिवबाट हटाइएका थिए। दसौँपछि वरिष्ठ उपाध्यक्ष छन्।

पोखरेलले आठौंमा झलनाथ खनाललाई र नवौंमा ओलीलाई जिताउन भूमिका खेलेका थिए । १० औँ महाधिवेशनमा पनि ओलीको आग्रहमा सर्वसम्मत वरिष्ठ उपाध्यक्ष बने । ओलीसँग प्रतिस्पर्धा गरेका खनाल, नेपाल र रावल अहिले पार्टी बाहिर छन्।

११औँ महाधिवेशनमा उनले अध्यक्षमा उम्मेदवारी घोषणा गर्दा उनको समूहमा उपाध्यक्ष सुरेन्द्र पाण्डे, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, सचिवहरू गोकर्ण विष्ट र योगेश भट्टराई, कर्ण थापा, गोकुल बाँस्कोटा लगायत छन्। उनीहरूले उपाध्यक्ष विष्णु पौडेल र उपमहासचिव पृथ्वीसुब्बा गुरुङलाई पनि आफ्नो समूहमा जोड्ने प्रयास गरिरहेका छन्।

गत साउन ५ र ६ गते बसेको केन्द्रीय कमिटी बैठकले सङ्गठित सदस्यता नवीकरण नगर्ने निर्णय गरेपछि दुई पटक पार्टी उपाध्यक्ष रहेकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी एमालेको राजनीतिबाट बाहिर पुगेकी थिइन्। आसन्न एघारौँ महाधिवेशनमा भण्डारीको दरिलो साथ ईश्वर पोखरेलले पाउँदैछन्।

सारथीले छोडेका पोखरेल

एमालेभित्र गुट परिवर्तन, नजिक–टाढा हुने र शक्ति समीकरणअनुसार टिम फेरिने चलन निरन्तर चलिरहेकै छ । नेतृत्वको भूमिकाबारे उठ्ने असन्तोष, भावी अवसरको खोजी र पार्टीभित्र बढ्दो प्रतिस्पर्धाका कारण गुटगत परिवर्तन र शक्ति आर्जनका लागि नेताहरू टाढिने र जोडिने गर्दछन्। प्रभावशाली हुँदा जोडिने, कमजोर हुँदा छोड्ने परम्परा राजनीतिमा नौलो होइन।

दुई कार्यकाल महासचिव र एक कार्यकाल वरिष्ठ उपाध्यक्ष हुँदा साथ दिएका र उनका सारथी बनी नेता बनेकाहरूले अहिले अध्यक्षमा साथ नदिने संकेत गरिसकेका छन्। पार्टीभित्र पोखरेल पावरमा हुँदा उनी निकट मानिएका स्थायी कमिटी सदस्य तथा प्रचार विभाग प्रमुख राजेन्द्र गौतम पोखरेलको साथ छोडेर ओली पक्षमा पुगेका छन्।

कित्ताकाट–आस्था फर्किएको नभए पनि उनी आफू निकट जिल्ला नेता–कार्यकर्तासँग ओलीको पक्षमा लाग्ने बताउन थालेका छन्। शक्तिशाली नेताको पक्षमा सधैं नजिक रहने पोलिटब्युरो सदस्य तथा प्युठानबाट २०७९ मा निर्वाचित सांसद सूर्य थापाले पनि पोखरेललाई साथ नदिने बुझिएको छ। वामदेव गौतम, झलनाथ खनाल हुँदै ईश्वर पोखरेल निकट रहेका थापा २०७० र २०७४ को निर्वाचनमा प्युठान नगई काठमाडौं–५ को निर्वाचन परिचालन संयोजक रहेर पोखरेललाई साथ दिएका नेता हुन्।

निटकतमहरूको साथ चाहिएको समयमा पोखरेल निकट मानिने केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीले पनि पोखरेललाई साथ नदिने बुझिएको छ। शेरबहादुर तामाङलाई कार्यालय सचिवबाट हटाई २०७८ मंसिर अन्तिम साता बसेको सचिवालय बैठकमा ईश्वर पोखरेलकै प्रस्तावमा अधिकारी कार्यालय सचिव बनेका थिए।

निकट मानिने केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीले पनि पोखरेललाई साथ नदिने बुझिएको छ।

भदौ २०–२२ गते गोदावरीमा भएको एमाले विधान महाधिवेशनले १९ सदस्यीय पदाधिकारी घटाएर १५ बनाएको छ। राष्ट्रिय महाधिवेशनले अध्यक्ष, ३ उपाध्यक्ष, महासचिव, ३ उपमहासचिव, ७ सचिवसहित २५१ सदस्यीय केन्द्रीय कमिटीको निर्वाचन गर्नेछ।

निजामती कर्मचारी संगठन र ट्रेड–युनियन आन्दोलनमा लामो समय नेतृत्व गरेका निजामती कर्मचारी संगठनका नेता भोला पोखरेल कुनै समय पोखरेलको कोर टिमका सदस्य थिए। माओवादी–एमाले एकता भएर नेकपा बनेदेखि पोखरेलसँग टाढिएका भोला नेकपा विभाजन हुँदा माधव नेपालतिर लागे, पछि पुनः एमालेमै फर्किए। एमाले आएपछि पोखरेललाई छोडेर ओलीसँग निकटता बढाउँदै आएका छन् । अब ओली र पोखरेल प्रतिस्पर्धा गरे भोला ओलीको पक्षमा लाग्ने बताएका छन्।

युवा र विद्यार्थी राजनीतिमा ईश्वर पोखरेलका ‘खास मान्छे’ का रूपमा चिनिएका आरसी लामिछाने अहिले एमाले केन्द्रीय सम्पर्क समन्वय कमिटीका सचिव छन्। अखिलको अध्यक्षमा समिक बडालसँग पराजित भएपछि उनी पार्टी सम्पर्क समन्वय कमिटीको सचिव बनेका थिए। सम्पर्क समन्वय मातहत ७ वटा जिल्ला कमिटी र ३० भन्दा बढी महाधिवेशन प्रतिनिधि हुने संरचना छ। लामिछानेले पछिल्लो समय पोखरेलको साथ छोडेका छन्।

एमाले निकट पत्रकारहरूको संगठन प्रेस चौतारी नेपालका अध्यक्ष गणेश पाण्डेले पनि पोखरेलको साथ छाडेका छन्। पोखरेल रक्षा मन्त्री हुँदा विशेष सुविधा सहित सञ्चार सम्बन्धी जिम्मेवारी सम्हालेका पाण्डे ओली कि पोखरेल भन्ने दोधारमा परे पनि अब ओली पक्षमा खुल्ने बुझिएको छ।

पोखरेल निकट रहेर प्रवासी नेपाली मञ्चको राजनीति गर्ने र कतारबाट महाधिवेशन प्रतिनिधि भएका चाणक पोखरेल वरिष्ठ उपाध्यक्षका प्रिय पात्रमध्ये एक हुन्। उनी पनि पोखरेल र ओली रोज्नु पर्ने अवस्थामा ओलीका पक्षमा लाग्ने कुरा लगभग टुंगिसकेको छ । मंसिरको अन्तिम साता काठमाडौंमा हुने महाधिवेशनले १५ सदस्यीय पदाधिकारी, ८४ सदस्यीय पोलिटब्युरो र २५१ सदस्यीय केन्द्रीय कमिटी चयन गर्नेछ।

Logo