निर्मल पौडेल
काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ। विषम राजनीतिक परिस्थितिमा आयोजना हुन लागेको यो महाधिवेशनले पार्टीको नयाँ नेतृत्व चयन, नीति निर्माण र संगठनात्मक सुदृढीकरणमा जोड दिने अपेक्षा गरिएको छ। मंसिर २७ गतेदेखि २९ गतेभित्र काठमाडौं र भक्तपुरमा आयोजना हुने महाधिवेशनको उद्घाटन सत्र भक्तपुरको सल्लाघारीस्थित खुला चौरमा र बन्द सत्र काठमाडौंको भृकुटीमण्डपमा सञ्चालन हुने भएको छ।
पार्टीको केन्द्रीय कार्यालय च्यासलमा मंसिर १० गते बसेको महाधिवेशन सचिवालय बैठकले महाधिवेशनको मुख्य नारा ’निर्णायक राष्ट्रिय शक्ति निर्माणको संकल्पः समृद्ध नेपाल र सुखी नेपाली हाम्रो गन्तव्य’ लाई अनुमोदन गरेको छ। यो नारालाई दोस्रो विधान महाधिवेशनबाट पारित नाराको रूपमा राष्ट्रिय महाधिवेशनमा प्रस्तुत गरिनेछ। प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बैठकमा १२ वटा उपसमितिहरूले आफ्नो प्रतिवेदन पेस गरेको र लोगोको अन्तिम रूप दिने तयारी भइरहेको जानकारी दिए।
महाधिवेशनमा सहभागी हुने प्रतिनिधि छनोटको प्रक्रिया तीव्र बनेको छ।
संगठन विभागले मंसिर १३ गते एकैदिन सबै तहमा प्रतिनिधि छनोट सम्पन्न गर्ने कार्यतालिका तोकेको छ। चैतसम्म सदस्यता नवीकरण गरेका करिब ६ लाख ६७ हजार सदस्यहरू मात्र प्रतिनिधि बन्न योग्य छन्। विभागले पाँच बुँदे निर्देशन जारी गर्दै मतदाता सूची प्रकाशन, सर्वसहमतिका लागि अन्तिम प्रयास र उम्मेदवारी शुल्क १ हजारभन्दा बढी नउठाउन स्पष्ट पारेको छ। केही जिल्लामा अस्वाभाविक शुल्क लिइएको गुनासो आएपछि यो सीमा तोकिएको हो। साथै, प्रतिनिधि छनोटमा समन्वयका लागि १७ नेतालाई जिम्मेवारी दिइएको छ।
वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले मंसिर ९ गते अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन्। उनले पार्टी पुनर्गठन र रूपान्तरणको उद्देश्यसहित सामूहिक नेतृत्वमार्फत नेकपा (एमाले) लाई निर्णायक राष्ट्रिय शक्तिका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। यो घोषणाले महाधिवेशनमा नेतृत्व चयनको बहसलाई थप तातो बनाएको छ।
महाधिवेशन तयारीका लागि विभिन्न उपसमिति गठन गरिएका छन्। प्रतिनिधि व्यवस्थापन समिति (संयोजक:काशीनाथ अधिकारी), जनपरिचालन, स्वास्थ्य (संयोजक: कृष्ण गोपाल श्रेष्ठ), आर्थिक (संयोजक : विष्णु रिमाल) लगायतका समितिहरू सक्रिय छन्। महासचिव शंकर पोखरेलले महाधिवेशनलाई नेतृत्व चयनमा केन्द्रित पार्ने बताएका छन्।
यसैबीच, पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले महाधिवेशनको पूर्वसन्ध्यामा पार्टी परिवारलाई शुभकामना दिँदै यसलाई सामाजिक–आर्थिक रूपान्तरणको ऐतिहासिक अवसर मानेकी छन्। उनले आफ्नो सदस्यता नवीकरणमा देखिएको विवादका बावजुद पार्टीको अभिन्न सदस्यको हैसियतले निरन्तर साथ रहने बताएकी थिइन्। यो सन्देशले पार्टीभित्र उत्साह थपिएको छ।
एमालेले संसद् पुनःस्थापनाको पक्षमा रहेको र संवैधानिक संशोधनका लागि निवेदन दिएको पनि प्रचार विभागले स्पष्ट पारेको छ। करिब २,००० प्रतिनिधिहरूको सहभागिता रहने यो महाधिवेशनले देशभक्त, राष्ट्रवादी र प्रगतिशील नेपाली जनताको आशालाई सम्बोधन गर्ने विश्वास गरिएको छ।
































प्रतिक्रिया