संयुक्त नागरिक पार्टीको घोषणाः फागुन २१ को चुनावका लागि तयारी पूरा

संयुक्त नागरिक पार्टीको घोषणाः फागुन २१ को चुनावका लागि तयारी पूरा

केन्द्रबिन्दु
6
Shares

काठमाडौं । संयुक्त नागरिक पार्टीले आगामी फागुन २१ गते हुने संघीय संसदीय निर्वाचनका लागि तयारी पूरा भएको घोषणा गर्दै सरकार र निर्वाचन आयोगप्रति आभार व्यक्त गरेको छ । बिहीबार सार्वजनिक गरिएको प्रेस विज्ञप्तिमार्फत पार्टीले २०८२ भदौ २३ गते जेन–जी नेतृत्वमा भएको ऐतिहासिक नागरिक आन्दोलनपछिको संक्रमणकालीन अवस्थामा अन्तरिम नागरिक सरकारले निर्माण गरेको स्वस्थ राजनीतिक वातावरण को प्रशंसा गरेको हो ।

पार्टीका अध्यक्ष दल मर्दन कामी र महासचिव डा. तेजबहादुर रोक्काद्वारा हस्ताक्षरित विज्ञप्तिमा भदौ २३ पछि अवसान भएको ‘अलोकतान्त्रिक र भ्रष्ट शासन’ को अन्त्य सम्भव बनाउन भूमिका खेलेका सहिदप्रति श्रद्धाञ्जली तथा घाइते नागरिक, सुरक्षाकर्मी र आन्दोलनकारीहरूको स्वास्थ्यलाभको कामना गरेको उल्लेख छ । संयुक्त नागरिक पार्टीले दल दर्तासहित निर्वाचनमा सहभागी हुने सम्पूर्ण प्रक्रिया पूरा भइसकेको जानकारी गराउँदै नवयुवा पुस्ता, महिला, आदिवासी, दलित (शिल्पी), सिमान्तकृत समुदाय तथा धार्मिक अल्पसंख्यकलाई प्रत्यक्ष र समानुपातिक दुबै तर्फका उम्मेदवारका रूपमा अघि आउन आह्वान गरेको छ ।

पार्टीले उदीयमान वैकल्पिक शक्ति तथा पुराना दलभित्रका अग्रगामी धारहरूसँग आवश्यक समन्वय र सहकार्य गर्दै नेतातन्त्र र दलालीको जरा उप्काउने लक्ष्य राखेको स्पष्ट गरेको छ । विज्ञप्तिमा भदौ २३–२४ मा राज्य संयन्त्रबाट भएको भनिएको दमनबारे न्यायिक आयोगले निष्पक्ष छानबिन गरी प्रतिवेदन सार्वजनिक गर्न र प्रमाणित दोषीमाथि कारबाही हुनुपर्ने माग पनि राखिएको छ । भदौ २३ गतेको जनआक्रोशका क्रममा भएका घटनाहरूलाई ‘न्यायपूर्ण ढङ्गले सम्बोधन गर्न’ सरकारले कदम चाल्नुपर्ने पार्टीको धारणा छ ।

पार्टीले विदेशमा रहेका नेपाली नागरिकलाई मताधिकार सुनिश्चित गर्न आवश्यक कानुनी तथा प्राविधिक व्यवस्था तुरुन्त लागू गर्न, साथै स्वदेशमै स्थानान्तरण वा अस्थायी बसोबासमा रहेका मतदाताले सहज रूपमा मतदान गर्न सक्ने प्रणाली अवलम्बन गर्न सरकारसँग आग्रह गरेको छ । परिवर्तनका लागि जेन–जी पुस्ताले दिएको उच्च त्याग र सहादतलाई सार्थक बनाउन आगामी चुनावमा आफ्नो ‘गितार’ चुनाव चिन्हमा मतदान गर्न सम्पूर्ण मतदातासमक्ष पार्टीले अपिल गरेको छ ।

Logo