काठमाडौं । नेकपा (एमाले)का विदेश विभागका सदस्य विष्णुहरि पाण्डेले केन्द्रीय सदस्यमा दाबी प्रस्तुत गरेका छन् । उनले आसन्न ११औँ महाधिवेशनमा एमालेको केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका हुन् ।
३३ वटा एमाले केन्द्रीय विभागहरूमध्ये विदेश विभाग उच्च–प्रोफाइल व्यक्तिहरु समेटिएको महत्वपूर्ण विभाग मानिन्छ । यसमा पूर्व सचिवहरू, राजदूतहरू र बहालवाला सांसदहरू समेत समावेश छन् । पार्टी सचिव रघुविर मासेठ प्रमुख रहेको विभागमा पूर्व राजदूत तथा राष्ट्रिय सभा सदस्य अञ्जान शाक्य सचिव रहेकी छन् ।
विभागको सदस्यतामा पूर्व राजदूत उदयराज पाण्डे, पूर्व राजदूत नारद वाग्ले, विदेश मामिला जानकार गोपाल खनाल, पूर्व राष्ट्रपति विद्या भण्डारीकी छोरी उषाकिरण भण्डारी, नेपाल एयरलाइन्सका पूर्व महाप्रवन्धक दिपप्रकाश पौडेल, पूर्व राजदूत लक्की शेर्पासहित २५ सदस्य रहेका छन् । विभागका सचिव तथा अन्य आकांक्षीहरूसँग सहमति जुटाउँदै पाण्डे सर्वसम्मत प्रतिनिधि चयन भएका थिए ।
अनेरास्ववियुको राजनीतिबाट एमालेको विदेश विभागमा पुगेका पाण्डे अखिलको विदेश विभाग प्रमुखसमेत भएका थिए । विदेश विभाग प्रमुख रहँदा उनले १८ देशका युवाहरू भेला गरी युथ क्याम्प सञ्चालन गरेका थिए । उनी नेपाल कमर्स क्याम्पसको स्ववियूका पूर्वउपसभापति र नेपाल शैक्षिक परामर्श संघ (इक्यान) का पूर्व अध्यक्ष पनि हुन् ।
विद्यार्थी कालदेखि उद्यम र व्यवसायमा सक्रिय पाण्डे प्रत्येक पार्टीले अघि सारेका युवा उद्यमशीलता प्रवर्द्धन अभियानमा सक्रिय रहँदै आएका छन् । ‘‘अन्तर्राष्ट्रिय सहकार्य, लगानी सम्भावना, प्रविधि हस्तान्तरणजस्ता क्षेत्रमा युवाको भूमिका सुदृढ गर्ने उद्देश्यले नै यसपटक केन्द्रीय सदस्यका लागि उम्मेदवारी दिएको हुँ,’’ उनले भने ।
विभिन्न संघ–संस्थाको नेतृत्व गरिसकेका पाण्डेले पार्टीका हरेक कार्यकर्तालाई रोजगारीसँग जोडेर आत्मनिर्भर बनाउने, उनीहरूसँगै आम नागरिकले आर्थिक समृद्धि हासिल गर्दै समृद्ध मुलुक, सुखी नेपाली अभियान सफल बनाउन लाग्ने बताएका छन् । उनले राजनीतिक पृष्ठभूमि र व्यवसायिक छवि भएका व्यक्तिहरूको संयोजन पार्टी नेतृत्वमा आवश्यक रहेको बताउँदै आएका छन् ।
एमालेको ११औँ महाधिवेशनको उद्घाटन सत्र मंसिर २७ मा भक्तपुरको सल्लाघारीमा र बन्दसत्र काठमाडौंको भृकुटीमण्डपमा हुनेछ ।































प्रतिक्रिया