निर्मल पौडेल, पर्वत । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता तथा पोलिटब्यूरो सदस्य देवेन्द्र पौडेलले पार्टी एकता नै कम्युनिस्ट आन्दोलनको सबैभन्दा ठूलो शक्ति रहेको बताएका छन्। कुश्मा नगरपालिकामा आज सम्पन्न नगरस्तरीय पार्टी एकता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै पौडेलले भने, “पार्टी एकता हाम्रो सबैभन्दा ठूलो शक्ति हो। यो एकतालाई वैचारिक रूपले मजबुत बनायौँ भने आगामी निर्वाचनमा जनताले हामीलाई नै विजयी गराउनेछन्।”
प्रमुख अतिथि पौडेलले जेनजी आन्दोलनपछिको नयाँ राजनीतिक परिस्थितिमा कम्युनिस्टहरू एक हुनुको विकल्प नभएको दाबी गरे। “१० वामपन्थी दलहरू मिलेर बनेको यो नेकपा अब देशको सबैभन्दा ठूलो कम्युनिस्ट शक्ति हो। यसलाई संगठनात्मक र वैचारिक रूपमा अझ सुदृढ बनाउनु हाम्रो पहिलो दायित्व हो,” उनले थपे।
कार्यक्रममा पौडेलले युवा पुस्तालाई पार्टीमा जोडदार रूपमा आकर्षित गर्न र स्थानीय तहसम्म एकताको सन्देश पु¥याउन सबै कार्यकर्तालाई निर्देशन समेत दिए । उनले पर्वतलाई नेकपाको ‘मोडेल जिल्ला’ बनाउने घोषणा गर्दै आगामी स्थानीय निर्वाचनमा पूर्ण बहुमत ल्याउने लक्ष्यका साथ अगाडी बढ्न नेता तथा कार्यकर्ताहरुलाई आग्रह समेत गरे ।
नेकपा कुश्मा नगर कमिटीको आयोजनामा भएको प्रशिक्षणमा जिल्ला तथा प्रदेश तहका नेताहरूको विशेष उपस्थिति थियो। कार्यक्रमले पर्वत जिल्लामा नेकपाको संगठन विस्तारलाई थप गति दिएको नेताहरूले बताएका छन्।





























प्रतिक्रिया