पार्टीभित्र प्रतिस्पर्धा हुनु स्वागतयोग्य कुरा हो : पृथ्वीसुब्बा गुरुङ

पार्टीभित्र प्रतिस्पर्धा हुनु स्वागतयोग्य कुरा हो : पृथ्वीसुब्बा गुरुङ

केन्द्रबिन्दु
36
Shares

काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङले पार्टीभित्र प्रतिस्पर्धा स्वागतयोग्य भएको भन्दै विधानलाई जड रूपमा बुझ्न नहुने बताएका छन्। जारी ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनको प्रक्रियाबारे धारणा राख्दै गुरुङले लोकतान्त्रिक प्रतिस्पर्धाले नै पार्टीलाई बलियो बनाउने बताए।

एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनबाट नयाँ नेतृत्व चयनको प्रक्रिया औपचारिक रूपमा सुरु भइसकेको छ। निर्वाचन समितिले सार्वजनिक गरेको तालिकाअनुसार आज उम्मेदवारी दर्ता तथा त्यससँग सम्बन्धित कार्यक्रमहरू सञ्चालन भइरहेका छन्।

निर्वाचन तालिकाअनुसार मंगलबार बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुने कार्यक्रम रहेको छ। नेताहरू प्रतिस्पर्धामार्फत चयन हुनेछन्।

गुरुङले पार्टीको विधान समयअनुसार संशोधन हुन सक्ने दस्तावेज भएको उल्लेख गर्दै युवा प्रतिनिधित्वलाई थप प्राथमिकता दिनुपर्ने आवश्यकता औँल्याए। उनका अनुसार युवाहरूको नेतृत्व क्षमता विकास गर्दै पार्टीलाई भविष्यका चुनौती सामना गर्न सक्षम बनाउनु आजको मुख्य एजेन्डा हो।

एमालेको ११ औँ महाधिवेशन शनिबार भक्तपुरको सल्लाघारीमा उद्घाटन भएको थियो भने आइतबारदेखि बन्दसत्र काठमाडौँको प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा जारी छ।

Logo