काठमाडौँ । नेकपा एमालेको महाधिवेशनले निर्णायक मोड लिँदै गर्दा अध्यक्ष केपी शर्मा ओलीको प्यानलमा अन्तिम क्षणमा राजनीतिक फेरबदल भएको छ ।
सुरुमा सचिव पदका उम्मेदवारका रूपमा अगाडि सारिएका पूर्वमाओवादी पृष्ठभूमिका नेता लेखराज भट्टले असन्तुष्टि जनाएपछि ओली पक्षले रणनीति बदल्दै उनलाई उपमहासचिव पदको उम्मेदवार बनाउने निर्णय गरेको हो।
सोमबार बिहान ओली निवास गुण्डुमा बसेको ओली पक्षीय बैठकले भट्टलाई सचिवको उम्मेदवार बनाउने निर्णय गरेको थियो। तर, उक्त निर्णय सार्वजनिक हुनासाथ भट्टले सचिव पदमा उम्मेदवारी नदिने स्पष्ट संकेत गरे। पार्टीभित्र आफ्नो भूमिका र हैसियतलाई लिएर असन्तुष्टि जनाएका भट्टलाई समेट्न ओली स्वयं लचिलो बने र सूची संशोधन गर्दै उपमहासचिव पद प्रस्ताव गरे।
भट्टले आफूलाई ओली प्यानलबाट उपमहासचिवको उम्मेदवार बनाइएको पुष्टि गर्दै सोही पदमा उम्मेदवारी दिने बताएका छन्। यससँगै ओली प्यानलको शक्ति सन्तुलनमा नयाँ समीकरण बनेको छ। भट्ट उपमहासचिवमा प्रवेश गरेपछि भानुभक्त ढकाल सचिवको उम्मेदवार बन्ने निश्चित भएको छ।
अब ओली प्यानलबाट उपमहासचिव पदमा लेखराज भट्टसहित रघुवीर महासेठ र विष्णु रिमाल उम्मेदवार रहनेछन्। तीनै जना प्रभावशाली नेताबीचको प्रतिस्पर्धाले महाधिवेशनको चुनावी माहोल थप तातिएको छ।
एमालेको ११ औँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि मंगलबार मतदान हुँदैछ। नेतृत्व चयनको यो प्रक्रियामा अन्तिम क्षणसम्म हुने समीकरण र रणनीतिक परिवर्तनले महाधिवेशनलाई अझ चासोको केन्द्र बनाएको छ। ओली प्यानलको यो निर्णयले न केवल भित्री सन्तुलन मिलाएको छ, बल्कि पूर्वमाओवादी पृष्ठभूमिका नेताहरूसँगको सम्बन्धलाई पनि सन्देश दिएको विश्लेषण हुन थालेको छ।





























प्रतिक्रिया