काठमाडौं । नेकपा एमालेको ११औं राष्ट्रिय महाधिवेशनले पार्टीको नयाँ नेतृत्व चयन गर्दैछ । अध्यक्ष पदका दाबेदारहरू केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलबीचको प्रतिस्पर्धाले पार्टीमा हलचल मच्चिएको छ । ७७ वटै जिल्लाबाट नेताकार्यकर्ताहरु महाधिवेशनका लागि आएका छन् को आउला त नेतृत्वमा भनी सबैको मनमा जिज्ञासा नै छ ।
शनिबार भक्तपुरको सल्लाघारीमा भव्य उद्घाटन भएको यो महाधिवेशनकोे बन्दसत्र मंसिर २८ गतेदेखि काठमाडौंको भृकुटीमण्डपमा जारी छ, जहाँ सयौं प्रतिनिधिहरूको भीड लागेको छ ।
ब्यूँताइयो पूरानै विधान, वरिष्ठ उपाध्यक्ष पद हटाइयो
आइतबारको केन्द्रीय कमिटी बैठकले पदाधिकारी र स्थायी कमिटीको संख्या पुरानै कायम गरेको छ । गएको भदौ २२ गतेको विधान महाधिवेशनले पदाधिकारीको संख्या १५ र स्थायी कमिटी नै नराख्ने निर्णय गरेको थियो ।
तर आइतबार अध्यक्ष केपी शर्मा ओलीले बैठकमा पदाधिकारी बढाउने प्रस्ताव केन्द्रीय कमिटीमा राखेका थिए । यो प्रस्तावको ओलीसँग अध्यक्षमा प्रतिस्प्रर्धा गर्न लागेको वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलसहित नेताहरू अष्टलक्ष्मी शाक्य, योगेश भट्टराई, कर्ण थापालगायतले प्रतिवाद गरेका थिए । उनीहरूले फ्लोरबाट विधान संशोधन प्रस्ताव आउने हो भने आफूहरूले पनि फरक अवधारणा पेस गर्न पाउनुपर्ने माग राखेका जनाएका थिए । तर तीन महिनाअगाडीको विधान महाधिवेशनको निर्णयलाई अहिले आएर उल्ट्याइएको हो ।

अब अध्यक्ष १, वरिष्ठ उपाध्यक्ष १, उपाध्यक्ष ६ महासचिव १, उपमहासचिव ३, सचिव ७, स्थायी कमिटी ४५, पोलिटब्युरो ९९, केन्द्रीय कमिटी ३०१ सदस्यीय हुने गरी कायम हुने छन् । अहिले वरिष्ठ उपाध्यक्ष पद राखिएको छैन ।
विधान महाधिवेशनले पार्टीको ११औं महाधिवेशनबाट पदाधिकारी संख्या १५ सदस्यीय र केन्द्रीय कमिटीको आकार २५१ सदस्यीय बनाउने निर्णय गरेको थियो। यस अनुसार एक अध्यक्ष, तीन उपाध्यक्ष, तीन उपमहासचिव, एक महासचिव र ७ सचिव गरी १५ सदस्यीय पदाधिकारी राख्ने निर्णय गरेको थियो।
यसैगरी ४५ सदस्यीय स्थायी कमिटी र ९९ सदस्यीय पोलिटब्युरो बनाइएको छ । यसरी जम्मा केन्द्रीय कमिटी ३०१ सदस्यीय बनेको छ । एमालेको केन्द्रीय कमिटी पहिले ३०१ सदस्यीय नै थियो । तर, गत भदौमा भएको विधान महाधिवेशनबाट २५१ सदस्यीय बनाइएको थियो । त्यत्रो मिहिनेत र खर्च गरेर विधान महाधिवेशनबाट टुंगो लगाइसकेको विषयलाई अहिले फेरि संशोधन गरिएको हो ।
यस्तो चयन हुनेछ केन्द्रीय कमिटीको संरचना
महाधिवेशनबाट निर्वाचित हरेक भूगोल र क्षेत्रमा ४० वर्ष मुनिका युवालाई अनिवार्य हुने ३०१ सदस्यीय केन्द्रीय कमिटीको संरचना तय गरिएको छ । बन्दसत्रबाट पारित प्रस्तावअनुसार केन्द्रीय कमिटीमा महिला, युवा, आदिवासी–जनजाति, मधेसी, दलित, थारु, मुस्लिम, श्रमिक, अपाङ्गता भएका व्यक्ति तथा पिछडिएको क्षेत्रबाट समावेशी प्रतिनिधित्व सुनिश्चित गरिएको छ ।
नयाँ संरचनाअनुसार केन्द्रीय कमिटीमा १९ पदाधिकारी रहनेछन्, यसमा अध्यक्ष १, उपाध्यक्ष ५, महासचिव १, उपमहासचिव ३ र सचिव ९ जना रहने व्यवस्था गरिएको छ। वरिष्ठ उपाध्यक्षको व्यवस्था अब रहने छैन् । प्रदेशगत प्रतिनिधित्वअन्तर्गत उपत्यकासहित सबै आठ प्रदेशबाट ७२ जना केन्द्रीय सदस्य निर्वाचित हुनेछन् । प्रत्येक प्रदेशबाट नौ जनाको प्रतिनिधित्व रहनेछ, जसमा पाँच जना खुला, तीन जना महिला र एक जना युवा रहने एमालेको महाधिवेशन प्रचार कमिटीका संयोजक पदमा अर्यालले जानकारी दिइन् ।
खुला कोटाबाट १२५ जना केन्द्रीय सदस्य चयन हुनेछन् । उक्त कोटामा ७१ जना खुला, ५२ जना महिला र दुई जना युवा समावेश गरिएका छन् । समावेशी संरचनाअन्तर्गत आदिवासी–जनजातिबाट २५ जना (खुला १५, महिला आठ, युवा २०, मधेसीबाट १९ जना (खुला ११, महिला छ, युवा दुई), दलितबाट १२ जना (खुल्ला सात, महिला चार, युवा एक), थारु समुदायबाट आठ जना (खुला पाँच, महिला तीन), मुस्लिम समुदायबाट पाँच जना (खुला चार, महिला एक) प्रवासतर्फ भारतबाट एक र अन्य देशबाट एक गरी दुई जना, श्रमिकबाट तीन जना (खुला दुई, महिला एक), अपाङ्गता भएका व्यक्तिबाट एक जना, पिछडिएको क्षेत्रबाट दुई जना (खुला एक, महिला एक) सम्पर्क समन्वय कमिटीबाट दुई जना (खुला एक, महिला एक) रहने छ ।
बन्दसत्रमै ओली र पोखरेलको टसल

आइतबार बन्दसत्रमा कुनै अध्यक्ष मण्डल नबनाई पार्टी अध्यक्ष केपी शर्मा ओलीले नै बन्द सत्र सञ्चालन गरेका थिए । सो क्रममा आफ्नो मन्तव्य राख्दै पोखरेलले विद्या भण्डारीलाई आफ्नो घरमा आउन नदिनु गलत भएको बताएका थिए । पोखरेलले भनेका थिए, ‘केन्द्रीय उपाध्यक्ष भइसकेको व्यक्ति र आउँछु भनेपछि आउन पाउँदैनौँ भन्नु कति विवेक सम्वत् ? विल्कुल त्यो गलत हो त्यसरी भनिनु हुँदैन । नआउनुस् भन्न सकिन्छ, आउन उचित हुँदैन भन्न सकिन्छ । तर, आउँछु मेरो घर हो । म जहाँ जन्मिएँ, हुर्किएँ त्यही ठाउँमा मेरो अन्तिम जीवन बिताउँछु भन्दा इस्यू थिएन नन् इस्यूलाई इस्यू बनाइयो । यो गरिनु उचित थिएन ।’
तर त्यसअघि अध्यक्ष ओलीले एमालेमा फर्किन मन भए नयाँ सदस्यताका लागि निवेदन दिनुपर्ने बताएका थिए । उनको भनाइ थियो कि, ‘फर्किएर आए पनि भावनामा हैन, यथार्थमा चल्नुपर्छ विद्या भण्डारीको ७ वर्षको कार्यकालको सदस्यता दोहोरिँदैन । त्यो अघि एमालेको नेता हुनुन्थ्यो, त्यसपछि हुन सक्नुहोला तर त्यो अवधिमा उहाँ राष्ट्रको नायक हो । त्यो बीचको सदस्यता जोड्नु भनेको कानुनसँगको खेलबाड हो । लिन मन छ भने म सदस्य हुन चाहन्छु भनेर पार्टीमा निवेदन दिनुपर्यो ।’
साथै दुनियाँले लखेटेर सत्तोसराप गरेका बेला आफ्नो पार्टीभित्र वरिपरिका साथीहरूबाट माया पाउनुपर्नेमा नेतृत्व छाड भनेको भन्दै उनले असन्तुष्टिसमेत व्यक्त गरेका थिए ।
सहमतिको ढोका बन्द, प्यानल घोषणा
ओलीको प्यानलमा लेखराजको अडान
संस्थापन पक्ष अर्थात् अध्यक्ष केपी शर्मा ओली समूहले पदाधिकारीका सबै उम्मेदवारको टुंगो लगाएको छ । यसअनुसार पार्टी अध्यक्षमा केपी शर्मा ओलीकै निरन्तरता हुने गरी उम्मेदवारी रहनेछ ।
उपाध्यक्ष पदमा विष्णु प्रसाद पौडेल, रामबहादुर थापा बादल, गुरु बराल, पृथ्वी सुब्बा गुरुङ र प्रदीप ज्ञवालीलाई उम्मेदवार बनाउने सहमति जुटेको हो । महासचिवमा वर्तमान महासचिव शंकर पोखरेल नै दोहोरिने गरी टुंगो लागेको छ भने उपमहासचिव पदमा रघुवीर महासेठ, विष्णु रिमाल र लेखराज भट्ट उम्मेदवार हुने भएका छन् । यसअघि रिमाल उपमहासचिव र महासेठ सचिव थिए ।
यसैगरी सचिव पदमा भानुभक्त ढकाल, छविलाल विश्वकर्मा, पद्मा अर्याल, खगराज अधिकारी, शेरधन राई, यामलाल कँडेल, हिक्मत कार्की, महेश बस्नेत र राजन भट्टराईलाई उठाउने तयारी छ। भट्ट, विश्वकर्मा र अर्याल यसअघि पनि सचिव थिए । महाधिवेशनबाट नौ जना सचिव निर्वाचित हुनेछन् ।
यसअघि ओली प्यानलमा लेखराज भट्टको नाम सचिवमा समावेश थियो ।भट्टले फेरि पनि सचिव नबन्ने भन्दै उपमहासचिवमा उम्मेदवारी दिन अडान लिएपछि ओली प्यानलले उम्मेदवारको सूची हेरफेर गर्दै भट्टलाई उपमहासचिवमा बढुवा गर्दै भानुभक्त ढकाललाई सचिवमा झारिएको हो । ढकालको नाम यसअघि उपमहासचिवमा थियो ।
कस्तो छ ईश्वर पोखरेलको टोली ?
संस्थापन इतर पक्षबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले अध्यक्ष पदमा ओलीसँग प्रतिस्पर्धा गर्ने निश्चित भएको छ । महासचिवमा सुरेन्द्र पाण्डेको नाम टुंगो लागेको छ ।
यसैगरी उपाध्यक्षमा गोकर्ण विष्ट, परशुराममेघी गुरुङ, विन्दा पाण्डे र अरुण नेपाल उम्मेदवार बन्ने पक्का भएका छन् भने उपमहासचिव पदमा योगेश भट्टराईको नाम तय भएको छ ।
सचिव पदमा रचना खड्का, विनोद ढकाल, कर्ण थापा, ठाकुर गैरे, इन्द्रलाल सापकोटा, पुरुषोत्तम पौडेल लगायतको नाम करिब टुंगो लागेको छ भने सूचीमा कृष्णगोपाल श्रेष्ठ र गोकुल बास्कोटाको नाम पनि चर्चामा छ ।
एक्लिएका अग्नि खरेल

पूर्व महान्यायाधिवक्तासमेत रहेका नेता अग्नि खरेलले सचिव पदमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका छन् । अध्यक्ष ओली समूहमा राखिएको केन्द्रीय सदस्यको उम्मेदवार बन्न अस्वीकार गर्दै उनले सचिव पदमा उम्मेदवारी दिने भएका हुन् । खरेलले आफू कुनै अर्को समूह वा प्यानलबाट नभई नितान्त स्वतन्त्र रूपमा चुनावी मैदानमा उत्रिने स्पष्ट पारेका छन् ।
कुन उम्मेदवारको दर्ता शुल्क कति ?
एमालेले सार्वजनिक गरेको निर्वाचन कार्यतालिकाअनुसार केन्द्रीय अध्यक्ष पदका उम्मेदवारले १५ हजार रुपैयाँ शुल्क बुझाएर उम्मेदवारी दर्ता गर्नुपर्ने व्यवस्था गरिएको छ । त्यस्तै, केन्द्रीय पदाधिकारी पदका लागि १० हजार रुपैयाँ र केन्द्रीय सदस्य पदका लागि ५ हजार रुपैयाँ शुल्क तोकिएको छ । पार्टीका विभिन्न केन्द्रीय आयोगहरूका हकमा पनि शुल्क निर्धारण गरिएको छ, जहाँ आयोग अध्यक्ष पदका लागि १० हजार रुपैयाँ तथा आयोगका पदाधिकारी तथा सदस्यका लागि ५ हजार रुपैयाँ शुल्क लाग्नेछ ।

महाधिवेशनको निर्वाचन कार्यक्रम संशोधन
आइतबार सार्वजनिक भएको महाधिवेशनको निर्वाचन कार्यक्रम संशोधन गरिएको छ । केन्द्रीय निर्वाचन आयोगले एक सूचना प्रकाशित गर्दै यसबारे जानकारी दिएको हो ।
संशोधित तालिका अनुसार उम्मेदवारी दर्ता गर्ने समय दुई घण्टा थप गरिएको छ । सूचनामा भनिएको छ, ‘महाधिवेशनबाट निर्वाचित हुने पार्टी केन्द्रीय कमिटी, केन्द्रीय अनुशासन आयोग, केन्द्रीय लेखा आयोगका पदाधिकारी तथा सदस्यहरूको निर्वाचन प्रयोजनको लागि पार्टीको विधान, निर्वाचन नियमावली समेतको अधीनमा रही केन्द्रीय निर्वाचन आयोगको निर्णयानुसार यसअघि प्रकाशित सूचनामा निम्नबमोजिम संशोधन हुने भएकोले तपसिल बमोजिमको संशोधित निर्वाचन कार्यक्रम प्रकाशित गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि अनुरोध छ।’
निर्वाचन पुस १ गते हुने भएको छ। त्यसदिन बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुनेछ।

१४०० बढीले लिए मनोनयन फारम
महाधिवेशन प्रचार कमिटीका अनुसार हालसम्म १४ सय बढी फाराम वितरण भएको छ । फारम वितरणको समय १२ बजेसम्म तोकिएको थियो, यद्यपी निर्वाचन कार्यक्रम संशोधनसँगै यो समय पनि बढेको छ । उम्मेदवारहरुको प्रारम्भिक नामावली सार्वजनिक भएपछि उम्मेदवारहरुको नामावली उपर उजुरी दिने समय सुरु हुने छ ।
चर्चामा महाधिवेशन मेन्यू
एमाले महाधिवेशन राजनीतिक बहस र नेतृत्व चयनका कारण मात्र होइन, सहभागीहरूका लागि गरिएको आकर्षक खाना–नास्ता व्यवस्थाका कारण पनि चर्चामा छ ।
बन्दसत्रमा सहभागी प्रतिनिधि, पर्यवेक्षक तथा अतिथिहरूका लागि एमालेले बिहानदेखि बेलुकासम्मको खानपानमा कुनै कसर बाँकी राखेको छैन। बिहानको नास्तामा ब्रेड, चना, फ्रेन्चफ्राइ, ससेज, अण्डा, चिया र कफीको व्यवस्था गरिएको छ। यसका साथै फलफूलमा मेवा, खरबुजा लगायतका ताजा आइटमहरू राखिएका छन्।
दिउँसो र बेलुकाको खानामा मासु–भातको आकर्षक व्यवस्था गरिएको छ । मासु नखाने सहभागीहरूका लागि भने दाल, भात, विभिन्न तरकारी, सलाद र अन्य शाकाहारी परिकार छुट्टै राखिएका छन्। भृकुटीमण्डपको प्रदर्शनी कक्षको एक ठूलो हललाई खाना तथा नास्ता खाने स्थानको रूपमा प्रयोग गरिएको छ।





























प्रतिक्रिया