उपमहासचिवमा स्वतन्त्र उम्मेदवारी दिने राजेन्द्र गौतमको घोषणा

उपमहासचिवमा स्वतन्त्र उम्मेदवारी दिने राजेन्द्र गौतमको घोषणा

केन्द्रबिन्दु
60
Shares

काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनमा उपमहासचिव राजेन्द्र गौतमले उपमहासचिव पदमै स्वतन्त्र उम्मेदवारी घोषणा गरेका छन् ।

अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता ईश्वर पोखरेल दुवैका टिममा नअटाएका गौतमले कुनै गुटको छायाँबिनै चुनावी मैदानमा उत्रिने निर्णय गरेका हुन्। सञ्चारकर्मीहरूसँग कुरा गर्दै गौतमले स्पष्ट शब्दमा भने, “म कुनै टिमको प्रतिनिधि होइन, म कार्यकर्ताको आवाज बोकेर उम्मेदवारी दिँदैछु।” उनले पार्टीलाई विचार, संगठन र अनुशासनको बाटोमा अघि बढाउन सक्ने नेतृत्व आवश्यक रहेको भन्दै आफू त्यसका लागि योग्य रहेको दाबी गरे। “यो चुनाव केवल पदको होइन, पार्टीको भविष्यको दिशा तय गर्ने अवसर हो,” गौतमले जोड दिए।

गौतम लामो समयदेखि एमालेको संगठन निर्माणमा सक्रिय नेता मानिन्छन् । विद्यार्थी राजनीति हुँदै पार्टीको केन्द्रसम्म आइपुगेका उनी स्पष्ट वक्ता र संगठनात्मक क्षमताका कारण चिनिन्छन्। यद्यपि, पछिल्लो समय पार्टीभित्र देखिएको गुटबन्दीप्रति उनी खुलेर असन्तुष्टि जनाउँदै आएका छन्।

महाधिवेशन नजिकिँदै जाँदा गौतमको कदमले एमालेभित्र स्वतन्त्र सोच र आन्तरिक लोकतन्त्रको बहसलाई थप बल दिने अपेक्षा गरिएको छ।

Logo