नेकपाले तोक्यो उम्मेदवार छनोटका कडा मापदण्ड

नेकपाले तोक्यो उम्मेदवार छनोटका कडा मापदण्ड

केन्द्रबिन्दु
36
Shares

काठमाडौँ। नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले आगामी राष्ट्रिय सभा (माघ ११) र प्रतिनिधि सभा (फागुन २१) निर्वाचनका उम्मेदवार छनोटका लागि नयाँ मापदण्ड जारी गरेको छ । पार्टीले उम्मेदवारलाई कानूनी, आर्थिक, सामाजिक र वैचारिक रूपमा पूर्ण रूपमा स्वच्छ हुनुपर्ने स्पष्ट निर्देशन दिएको छ ।

परिपत्रअनुसार प्रतिनिधि सभाका उम्मेदवारले कम्तीमा २५ र राष्ट्रिय सभाका उम्मेदवारले ३५ वर्ष पुगेको नेपाली नागरिक हुनुपर्नेछ। भ्रष्टाचार, सामाजिक अपराध वा आर्थिक अस्वच्छतामा दोषी ठहरिएका व्यक्ति उम्मेदवार बन्न पाउने छैनन्। कर–राजश्व अद्यावधिक र सम्पत्ति–आय स्रोत स्पष्ट गर्न तयार हुनु अनिवार्य शर्त राखिएको छ ।

सामाजिक रूपमा पनि जातीय–लैंगिक भेदभाव, घरेलु हिंसा, यौन उत्पीडन वा मानव बेचबिखनमा दोषी ठहरिएका व्यक्ति उम्मेदवार बन्न नपाउने प्रावधान छ । राजनीतिक रूपमा पार्टीको नीति–कार्यक्रममा पूर्ण प्रतिबद्धता, आन्दोलनमा निरन्तर योगदान र जनप्रियता अनिवार्य मापदण्ड हुन्।

प्रत्यक्षतर्फ प्रत्येक क्षेत्रबाट कम्तीमा एक युवा र एक महिला समावेश गरी बढीमा पाँच जना सिफारिस गर्ने व्यवस्था छ भने समानुपातिकतर्फ महिला, दलित, जनजाति, मधेसी र शहीद–बेपत्ता परिवारलाई प्राथमिकता दिइने व्यवस्था गरिएको छ। एकै परिवारबाट एकभन्दा बढी व्यक्ति सिफारिस गर्न पूर्ण प्रतिबन्ध छ ।

नेकपा नेतृत्वले यी मापदण्ड कडाइका साथ कार्यान्वयन गर्दै स्वच्छ र जनमुखी उम्मेदवार मात्र मैदानमा उतार्ने प्रतिवद्धता जनाएको छ ।

Logo