एमाले महाधिवेशनबारे महासचिव पोखरेलको १० बुँदे निष्कर्ष

एमाले महाधिवेशनबारे महासचिव पोखरेलको १० बुँदे निष्कर्ष

केन्द्रबिन्दु
30
Shares

काठमाडौँ। नेकपा(एमाले)का महासचिव शंकर पोखरेलले पार्टीमा सक्षम र निर्णायक नेतृत्व चयन भएको दाबी गरेका छन्। दोस्रो पटक महासचिवमा निर्वाचित भएपछि पोखरेलले एघारौँ राष्ट्रिय महाधिवेशन ऐतिहासिक रूपमा सफल भएको बताए ।

पोखरेलका अनुसार महाधिवेशनले पार्टीको गौरव बढाउने सन्देश प्रवाह गरेको छ र अब पारित नीतिहरू जनतासम्म पु¥याउन नेतृत्व सक्षम भएको छ । उनले महाधिवेशनको १० प्रमुख उपलब्धि पनि सार्वजनिक गरे, जसमा विदेशी पाहुनाको अनुपस्थितिमा पनि प्रमुख दलका नेताहरूको सहभागिता, नयाँ पुस्ता र नवयुवाको प्रवेश, प्रतिस्पर्धात्मक निर्वाचन प्रक्रिया, अग्रज नेताहरूको स्वेच्छिक अवकाश, र तीन पुस्ताको संयोजन उल्लेखनीय रहेको छ ।

महासचिव पोखरेलले भने, “चौतर्फी घेराबन्दी र भ्रमको सामना गर्दै पार्टीको एकता र लोकतान्त्रिक प्रक्रिया दृढतापूर्वक स्थापित गरिएको छ। अब एमालेले राष्ट्रिय राजनीतिक चुनौती सामना गर्न सक्ने निर्णायक शक्ति तयार पारेको छ ।”

उनले महाधिवेशन सफल बनाउन भूमिका खेलेका सबै कार्यकर्ता र नेताहरूप्रति आभार व्यक्त गर्दै पार्टीको नेतृत्वलाई सुदृढ बनाउने दृढ प्रतिवद्धता व्यक्त गरे।

पोखरेलले दावी गरेका १० बुँदा

१. एघारौँ राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोह नेपालको राजनीतिक इतिहासमै भव्य र ऐतिहासिक समारोह बन्न सफल भयो। भक्तपुर सल्लाघारीस्थित करिब १०० रोपनी क्षेत्रमा फैलिएको मैदान उद्घाटन समारोहका लागि साँघुरो देखिनु यसको प्रमाण हो।

२. पार्टी र नेतृत्व, विशेषतः पार्टी अध्यक्ष केपी शर्मा ओलीमाथि भइरहेको घेराबन्दीलाई चिर्दै राष्ट्रिय राजनीतिक चुनौती सामना गर्न उहाँको नेतृत्व अपरिहार्य रहेको सन्देश महाधिवेशनले स्पष्ट रूपमा प्रवाह ग¥यो।

३. नयाँ पुस्ताको सहभागिता बढाउन विशेष आरक्षणको व्यवस्था गरिएकोले उल्लेख्य संख्यामा नवयुवाहरू केन्द्रीय कमिटीमा प्रवेश गर्न सफल भएका छन्।

४. यस पटक प्रायः सबै पदमा प्रतिस्पर्धा भयो। विजयी र पराजित दुवैले निर्वाचन प्रक्रिया र परिणामलाई स्वाभाविक रूपमा स्वीकार गरे, जसले पार्टीको लोकतान्त्रिक छविलाई अझ सुदृढ बनाएको छ।

५. आन्दोलनका अग्रज नेताहरूले स्वेच्छिक अवकाश लिने घोषणा गर्नु सकारात्मक र अनुकरणीय परम्पराको सुरुआत हो।

६. महाधिवेशनको व्यवस्थापन अत्यन्त चुस्त र दुरुस्त रह्यो। निर्वाचन प्रक्रियामा केही प्राविधिक समस्या आएर एक दिन लम्बिए पनि विगतका महाधिवेशनको तुलनामा छोटो समयमा सम्पन्न हुन सक्यो।

७. छोटो तयारी समयका कारण विदेशी पाहुनाहरू आमन्त्रण गर्न नसकिए पनि उद्घाटन समारोहमा नेपालका प्रमुख राजनीतिक दलका नेताहरूले व्यक्त गरेका विचारले नेकपा(एमाले)को नेतृत्वकारी भूमिका स्थापित ग¥यो।

८. महाधिवेशन सफल पार्न महत्त्वपूर्ण भूमिका खेल्नुभएका कमरेड विष्णु रिमालको निर्वाचनमा पराजय दुःखद पक्ष रह्यो। यस घटनाले पार्टी पंक्तिमा कामभन्दा प्रचारको प्रभाव बढ्दै गएको संकेत गरेको छ, जसलाई सच्याउन वैचारिक र राजनीतिक प्रशिक्षण आवश्यक देखिन्छ।

९. समग्रमा एघारौँ महाधिवेशन भव्य र ऐतिहासिक रूपमा सफल रह्यो। यसले निर्णायक राष्ट्रिय शक्ति निर्माणको आधार तयार गरेको छ ।यद्यपी महासचिव पदमा मेरो उम्मेदवारी अत्यन्त प्रतिस्पर्धात्मक र पेचिलो रह्यो। अनेकन् भ्रम र अफÞवाह सिर्जनागरी गरिएको चौतर्फी घेराबन्दी र प्रहारलाई कार्यकर्ता पंक्तिले दृढतापूर्वक सामना गर्यो र असफल तुल्यायो ।

१०. एघारौँ महाधिवेशनले पार्टी निर्माणमा तीन पुस्ताको संयोजनको नीतिलाई व्यवहारमा उतारेको छ। ४० वर्षमुनिका नवयुवासहित करिब एकतिहाइ नयाँ केन्द्रीय सदस्यहरू महाधिवेशनबाट निर्वाचित भएका छन्।

महाधिवेशनलाई ऐतिहासिक रुपमा सफल बनाउन र आफूलाई महासचिवमा जिताउन भूमिका खेल्ने प्रति आभार व्यक्त गरेका छन् ।

Logo