बामपन्थी हुँ भन्नेहरु नेकपामा सामेल हुनुको विकल्प छैनः माधवकुमार नेपाल

बामपन्थी हुँ भन्नेहरु नेकपामा सामेल हुनुको विकल्प छैनः माधवकुमार नेपाल

केन्द्रबिन्दु
33
Shares

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका सह–संयोजक माधवकुमार नेपालले अहिलेको स्थितीमा बामपन्थी हुँ भन्नेहरु नपाली कम्युनिष्ट पार्टीमा सामेल हुनुको विकल्प नभएको बताएका छन् ।

शनिवार काठमाडौँको भृकुटीमण्डपमा आयोजित एकता सन्देश सभालाई सम्बोधन गर्दै उनले वर्तमान राजनीतिमा आरोप–प्रत्यारोप र भावनात्मक उत्तेजनाभन्दा जिम्मेवारी, इतिहास र परिणामका आधारमा दलहरूको मूल्यांकन हुनुपर्ने बताए । नेता नेपालले नेपाली राजनीतिलाई नयाँ नैतिक धरातलतर्फ लैजान नेकपा गठन भएको बताए । नेपालले सबै बाम शक्तिहरु एकैठाउँ हुनुको विकल्प नभएको भन्दै ध्रुविकरणको आवश्यकता औँलाए । आगामी निर्वाचनमा पहिलो शक्तिको रुपमा नेकपा आउने उनले जिकिर समेत गरे । अहिलेको स्थितीमा बाम शक्तिहरु नेकपामा सामेल हुनुको विकल्प नभएको समेत उनको निष्कर्ष रहेको छ ।

नेपालले गणतन्त्र स्थापना, निर्दलीय व्यवस्थाको अन्त्य, संविधान निर्माण र लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्ने प्रक्रियामा वाम आन्दोलन र आफ्नो व्याक्तिगत तथा सामुहिक निर्णायक भूमिका रहेको स्मरण गराए । “यी उपलब्धिहरू आकस्मिक होइनन्,” उनले भने, “त्यसका पछाडि लामो संघर्ष, बलिदान र जिम्मेवारीपूर्ण राजनीतिक निर्णय छन्।” उनले ती भूमिकाको निष्पक्ष र समग्र मूल्यांकन गर्न जनतालाई चुनौती दिए ।

उनले सत्ता प्राप्तिलाई अन्तिम लक्ष्य ठान्ने प्रवृत्तिको आलोचना गर्दै राजनीतिलाई जनसेवा, सुशासन र राष्ट्रिय हितसँग जोड्नुपर्ने बताए । “हामीले इमानदारीको राजनीति गरेका छौँ कि छैनौँ, त्यो तपाईंहरूले काम र परिणामबाट मूल्यांकन गर्नुपर्छ,” नेपालले भने, “राम्रोलाई राम्रो भन्नुस्, कमजोरी देखिए आलोचना गर्नुस् र त्यसलाई स्वीकार गर्ने नै लोकतन्त्र हो।”

नेपालले आजको राजनीतिक संकटको मूल कारण नै उत्तरदायित्वहीनता र सिद्धान्तविहीन गठजोड भएको उल्लेख गर्दै वैचारिक स्पष्टता र नीतिगत निरन्तरताको खाँचो औँल्याए । उनले एकपटक अवसर दिए देश विकासका ठोस एजेन्डामा काम गरेर देखाउने प्रतिबद्धता व्यक्त गरे।

Logo