रास्वपाको समानुपातिक सूचीमा समेटिएका यी चर्चित अनुहार

रास्वपाको समानुपातिक सूचीमा समेटिएका यी चर्चित अनुहार

केन्द्रबिन्दु
93
Shares

काठमाडौं । सभापति रवि लामिछाने, काठमाडौं महानगरका मेयर बालेन शाह र ऊर्जामन्त्री कुलमान घिसिङबीच एकताको सहमति बनेसँगै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले निर्वाचन आयोगमा समानुपातिकतर्फका ११० जना उम्मेदवारको बन्द सूची बुझाएको छ । सूचीमा रास्वपाले कला, संगीत, खेलकुद, उद्योग व्यवसायमा परिचित अनुहारहरू समेटेको छ ।

सूचीमा समेटिएका चर्चित अनुहारमध्ये एक हुन् पूर्व मिस नेपाल अनुष्का श्रेष्ठ । उनी २०१९ की मिस नेपाल विजेता हुन् र आदिवासी महिला क्लस्टरको चौथो नम्बरमा राखिएकी छन्। अनुष्का उद्यमी समेत हुन्। उनले स्थानीय डेजर्ट ब्रान्ड माकुसी चलाउँछिन्।

यस्तै, चर्चित गायक एवं अभिनेता प्रकाश सपुत पनि समानुपातिक सूचीमा परेका छन्। उनी दलित क्लस्टरबाट दोस्रो नम्बरमा छन् भने सो क्लस्टरको पहिलो नम्बरमा रूपक विश्वकर्मा घिमिरे छन्। सपुतको नाम राजनीतिमा प्रवेशसँगै सामाजिक सञ्जालमा समेत व्यापक चर्चा भइरहेको छ।

चलचित्र क्षेत्रबाट अभिनेत्री रीमा विश्वकर्मा दलित महिला क्लस्टरको पहिलो नम्बरमा परेकी छन्। उनी कुलमान घिसिङको पार्टी उज्यालो नेपालकी केन्द्रीय सदस्य हुन्। यस्तै, फिल्म निर्माता तथा टेलिभिजन प्रस्तोता आसिफ शाह मुस्लिम क्लस्टरबाट पहिलो नम्बरमा समेटिएका छन्। निर्देशक र होस्टसमेत रहेका आशिफले २ रुपैयाँ, जन्ते बाख्रोलगायत फिल्म खेलेका छन्।

आसिफ यसअघि रास्वपाबाट समानुपातिक सांसद भइसकेका असीम शाहका दाजु हुन् । रवि र बालेनको पटकपटकको छलफल शाहकै घरमा भएको थियो ।

संगीत क्षेत्रबाट गायिका डा. त्रिसला गुरुङ र सत्यकला राई पनि सूचीमा समावेश छन्। एक स्थापित गायिकाका रूपमा डा. गुरुङले कला र संस्कृतिमार्फत सामाजिक चेतना अभिवृद्धि गर्दै आएकी छन् ।

यता खोटाङबाट आदिवासी जनजाति कोटामा समानुपातिक उम्मेदवार बनाइएकी सत्यकलाले ‘तिमी मसँग नबोल्ने अरे’, ‘आइडी कार्डैले’, ‘पूर्वे धरान’लगायत दर्जनौँ चर्चित गीतमा स्वर दिएकी छन्। प्राध्यापकसमेत रहेकी सत्यकला नवल खड्का निर्देशित फिल्म काँडेतारकी निर्मातासमेत हुन्।

खेलकुद क्षेत्रबाट नेपाली क्रिकेट टोलीका पूर्व कप्तान ज्ञानेन्द्र मल्ल आदिवासी जनजाति क्लस्टरको पाँचौं नम्बरमा छन्। उनीभन्दा अगाडि डा राम लामा, खुश्वुसरकार श्रेष्ठ, मिङ्मा ग्याबु शेर्पा र डा. मनोहर प्रधान रहेका छन्।

यसैगरी आउँदो निर्वाचनमा रास्वपाको समानुपातिक सूचीमा व्यवसायीहरु पनि छन्। युवा व्यवसायी सचिन ढकाल खस आर्य क्लटरको पुरुषतर्फ दोस्रो नम्बरमा छन्। उनी नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालका छोरा समेत हुन्। फ्रेन्चाइज फुटबल क्लब एफसी चितवनका अध्यक्ष पनि रहेका छन्।

रास्वपासँग एकीकरण गर्नुअघि मेयर बालेनले गरेको श्रृंखलाबद्ध भेटघाटका क्रममा सचिनसँग पनि कुराकानी गरेका थिए । त्यहीबेला उनले सचिनलाई राजनीतिमा आउन आग्रह गरेका थिए । र उनी समानुपातिकको सूचीमा परेका हुन् ।

स्कुल तहको अध्ययन भारतको दिल्लीबाट गरेका ढकालले अमेरिकाबाट ‘उद्यमशिलता’ विषयमा स्नातकोत्तर गरेका छन् । अध्ययन पूरा गरेसँगै ढकालले आइएमई ग्रुप अन्तर्गतका हस्पिटालिटीका क्षेत्रमा समेत सक्रियता बढाएका छन् । उनकै ब्यवस्थापनमा इला कम्फर्ट होटलहरू सन्चालनमा छन् । समानुपातिक सूचीको दोस्रो नम्बरर्मै परेका उनी सांसद बन्ने प्रबल सम्भावना छ ।

यसैगरी व्यवसायिक क्षेत्रबाट गोल्डस्टार जुत्ता कम्पनीकी कार्यकारी निर्देशक विदुषी राणा खस आर्य महिला क्लस्टरको दोस्रो नम्बरमा छिन् भने सो क्लस्टरको पहिलो नम्बरमा प्रतिभा रावल रहेका छन्। गोल्डस्टार नेपालको एक चर्चित ब्राण्ड हो । यो नेपालमा मात्र नभई विदेशमा समेत निर्यात हुने गरेको छ। बहराइनन, अमेरिकालगायतका देशमा गोल्डस्टारका आधिकारिक शोरुम नै खुलेका छन्।

यस्तै, रास्वपाले खस आर्य महिला क्लस्टरको तेस्रो नम्बरमा लिमा अधिकारी आचार्यलाई राखेको छ। उनी यसअघि नै रास्वपाको कोषाध्यक्ष रहिसकेकी व्यक्ति हुन्। नेकपा एमालेका दिवंगत नेता भरतमोहन अधिकारीकी छोरी उनी निफ्राको सञ्चालक समिति सदस्य हुन्। उनको श्रीमान सुदीप आचार्य डिशहोमका कार्यकारी निर्देशक हुन्।

डा. राम लामा भने ऊर्जा व्यवसायी हुन्। काठमाडौं विश्वविद्यालयका प्राध्यापक रहेका उनले मेकानिकल इन्जिनियरिङमा पीएचडी गरेका छन्। उनी ग्रिन हाइड्रोजन ल्याबका कोअर्डिनेटर रहेका छन्। जलविद्युत्मा उनको १० वर्ष बढीको औद्योगिक अनुभव रहेको छ । डा. लामा र कुलमान घिसिङ सम्बन्धले मामा भाञ्जा रहेको रास्वपा स्रोतको भनाइ छ ।

यता सामाजिक अभियानको क्षेत्रमा परिचित जेनजी अभियानी पुरुषोत्तम यादव पनि सूचीमा समेटिएका छन्। यसैगरी, राष्ट्रिय मानवअधिकार आयोगकी पूर्व सदस्य मोहना अन्सारी, अधिकारकर्मी उर्मिला चौधरी र डा. रामजी राम जस्ता व्यक्तित्वहरूको समावेशले पार्टीको समावेशी दाबीलाई बल दिएको छ।

रवि, बालेन र कुलनमानको यो त्रिकोणात्मक भागबण्डाले सूचीमा फेरबदल हुँदा विरोधका आवाज पनि सुनिन थालेको छ । प्राइमरी इलेक्सनमा तल परेकाहरू समानुपातिक सूचीको उच्च स्थानमा रहेका छन् । सहमहामन्त्री विपिनकुमार आचार्य खस आर्यतर्फ १ नम्बरमा छन् । जबकि, यही क्लस्टरमा सबैभन्दा बढी भोट ल्याउने रमेश प्रसाईं थिए । प्रसाईंले १८ हजार २२३ मत ल्याएर पहिलो बन्दा आचार्यले १२ हजार २४५ मत ल्याएर सातौँ स्थानमा थिए । यस्तै, आदिवासी र दलित क्लस्टरका नेता पनि सूचीको पछाडि धकेलिएका छन् ।

Logo