कांग्रेसको आन्तरिक संकटमा सहमति खोज्दै शेखर कोइराला

कांग्रेसको आन्तरिक संकटमा सहमति खोज्दै शेखर कोइराला

केन्द्रबिन्दु
18
Shares

काठमाडौँ। नेपाली कांग्रेसभित्र चुलिँदै गएको आन्तरिक असमझदारीका बीच वरिष्ठ नेता डा. शेखर कोइरालाले पार्टीको भावी दिशा र एकताका सम्भावनाबारे परामर्श प्रक्रिया अघि बढाएका छन्। उनले काठमाडौँमा उपलब्ध पार्टी पदाधिकारी, केन्द्रीय सदस्य, जिल्ला सभापतिहरूसँग अलग–अलग संवाद गर्दै वर्तमान परिस्थितिको निकास खोज्न थालेका हुन्।

बिशालनगरस्थित सम्पर्क कार्यालयमा भएको छलफलमा पार्टीभित्र बढ्दै गएको असन्तुलन, निर्णय प्रक्रियामा देखिएको दूरी तथा त्यसले आम राजनीतिक वातावरणमा पारेको प्रभावबारे खुलेर विचार–विमर्श भएको बताइएको छ। सहभागीहरूले पार्टीको आन्तरिक विवादले संगठन कमजोर बनाउने खतरा औँल्याउँदै समयमै सहमति आवश्यक रहेको धारणा राखेका छन्।

छलफलमा हालै कार्यसम्पादन समितिबाट भएका निर्णय, विशेष महाधिवेशनको बहस, अनुशासन कारबाही तथा आगामी निर्वाचनमा कांग्रेसको रणनीतिलगायत विषय उठान गरिएको थियो। नेताहरूले पार्टीभित्र देखिएका फरक धारलाई संवादमार्फत नजिक ल्याउने प्रयास अपरिहार्य भएको निष्कर्ष निकालेका छन्।

विशेष गरी अनुशासन समितिबाट कारबाहीमा परेका नेताहरूको विषयमा पुनरावलोकन हुनुपर्ने आवाज बैठकमा बलियो रूपमा उठेको छ । पार्टी एकता बिना आगामी चुनाव चुनौतीपूर्ण हुने भन्दै सहभागीहरूले नेतृत्व तहमा परिपक्व समझदारी आवश्यक रहेको बताएका छन्।

कांग्रेसभित्र बढ्दो असन्तोष र द्वन्दका बीच डा. कोइरालाको पहललाई पार्टीलाई फुटबाट जोगाउने प्रयासका रूपमा हेरिएको छ। आगामी दिनमा यस प्रकारका छलफल थप व्यापक बनाइने संकेत पनि स्रोतहरूले दिएका छन्।

Skip This
Skip This
Logo