काठमाडौं। नेकपा एमालेले आगामी राष्ट्रियसभा निर्वाचन र प्रतिनिधिसभा तयारीलाई पूर्ण रूपमा चुनावी मोडमा ल्याएको छ । मंगलबार बसेको सचिवालय बैठकले अध्यक्ष केपी शर्मा ओलीलाई राष्ट्रियसभा निर्वाचनमा चुनावी तालमेल गर्ने जिम्मेवारी दिएको छ ।
सचिवालय बैठकले अध्यक्ष ओलीकै नेतृत्वमा घोषणा पत्र समिति गठन गरेको छ । समितिमा उपाध्यक्ष रामबहादुर थापा ‘बादल’, विष्णु पौडेल, महामसचिव शंकर पोखरेल, केन्द्रीय सदस्य प्रदीप ज्ञवाली र पूर्वउपमहासचिव विष्णु रिमाल सदस्य रहेका छन्। समितिको मुख्य जिम्मेवारी पार्टीको घोषणापत्र तयार पार्ने, नीति–रणनीति निर्धारण गर्ने र चुनावी संदेश व्यवस्थित रूपमा अघि बढाउने हो।
एमालेको यो निर्णयसँगै अध्यक्ष ओली कांग्रेससँग तालमेल गर्ने, उम्मेदवार टुंग्याउने र पार्टीको चुनावी मोर्चा व्यवस्थापन गर्ने रणनीतिक भूमिकामा सक्रिय भएको देखिन्छ । पार्टी स्रोतका अनुसार, अध्यक्षको नेतृत्वमा यी कार्यहरू समन्वयात्मक र प्रभावकारी रूपमा अघि बढाइनेछ ।
सचिवालय बैठकले अध्यक्ष ओलीको नेतृत्वलाई केन्द्रीय निर्णयको मूल आधार बनाएर, आगामी चुनावमा पार्टीलाई केन्द्रदेखि प्रदेशसम्म परिचालन र रणनीतिक रूपमा बलियो बनाउन रणनीति अघि सारेको छ ।





























प्रतिक्रिया