सत्ता र सिट जोगाउन कांग्रेस–एमालेको गोप्य तालमेल, प्रतिनिधिसभा चुनावका लागि गठबन्धनको तयारी

सत्ता र सिट जोगाउन कांग्रेस–एमालेको गोप्य तालमेल, प्रतिनिधिसभा चुनावका लागि गठबन्धनको तयारी

केन्द्रबिन्दु
24
Shares

काठमाडौं । राष्ट्रिय सभा निर्वाचनमा बनेको गठबन्धनलाई निरन्तरता दिँदै नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले प्रतिनिधिसभा सदस्य निर्वाचनमा समेत संयुक्त रणनीतिका साथ अघि बढ्ने तयारी थालेका छन् । आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै दुई ठूला दलबीच औपचारिक–अनौपचारिक छलफल तीव्र बनेको छ ।

राष्ट्रिय सभा निर्वाचनमा कांग्रेस, एमाले, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र जनता समाजवादी पार्टी (जसपा)बीच गठबन्धन बनेपछि त्यसको प्रभाव प्रतिनिधिसभा निर्वाचनसम्म लैजाने विषयमा गृहकार्य सुरु भएको हो । जेनजी आन्दोलनपछि नयाँ राजनीतिक शक्तिहरू सक्रिय बन्दै गएपछि परम्परागत दलहरू एक–आपसमा सहकार्यको खोजीमा जुटेका छन् ।

यसअघि पुष्पकमल दाहाल ‘प्रचण्ड’ संयोजक र माधवकुमार नेपाल सहसंयोजक रहेको नेकपा (एकीकृत) सहितको गठबन्धन बने पनि सिट बाँडफाँटमा सहमति नजुटेपछि नेकपा उक्त गठबन्धनबाट बाहिरिएको थियो । प्रचण्ड नयाँ दिल्ली भ्रमणबाट फर्किएसँगै गठबन्धन पुनःसंरचना भएको र त्यसपछि कांग्रेस–एमालेको दूरी झनै घट्दै गएको राजनीतिक विश्लेषकहरूको टिप्पणी छ ।

कांग्रेसभित्र एमालेसँग गठबन्धन नगर्न सभापति शेरबहादुर देउवामाथि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासहितका नेताहरूको दबाब कायमै छ । तर, देउवाले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पटक–पटक छलफल गर्दै गठबन्धनप्रति सकारात्मक संकेत दिँदै आएका छन् । स्रोतका अनुसार देउवा–ओलीबीच प्रतिनिधिसभा निर्वाचनमा सहकार्य गर्ने विषयमा ‘वन टु वन’ संवादसमेत चलिरहेको छ ।

स्रोत भन्छ, “राष्ट्रिय सभा निर्वाचनमा बनेको गठबन्धन प्रतिनिधिसभा निर्वाचनसम्म लैजाने विषयमा दुवै पक्ष सहमत जस्तै देखिन्छन् । जहाँ कांग्रेस वा एमाले कमजोर छन्, त्यहाँ अनिवार्य गठबन्धन हुनेछ । जहाँ दुबैमध्ये कुनै एकको जित सुनिश्चित छ, त्यहाँ मित्रवत प्रतिस्पर्धा हुनसक्छ ।”

देउवा र ओलीबीच भक्तपुर–१ बाहेक अधिकांश निर्वाचन क्षेत्रमा सहकार्य गर्ने विषयमा छलफल भएको बताइन्छ । प्रारम्भिक छलफलमा १६४ सिटमध्ये कांग्रेस र एमालेले ८२–८२ सिट लिने विकल्पमा समेत कुरा भएको छ । अर्को विकल्पका रूपमा २०७९ को निर्वाचनमा जुन दल विजयी भएको थियो, सोही दललाई त्यस क्षेत्रमा निरन्तरता दिने र बाँकी सिटहरूमा मत प्रतिशतका आधारमा भागबण्डा गर्ने प्रस्तावसमेत टेबलमा रहेको छ ।

दुवै दलले १६५ वटै निर्वाचन क्षेत्रको राजनीतिक अवस्था, मत आधार र प्रतिस्पर्धी दलको प्रभावबारे गहन अध्ययन गरिरहेका छन् । विश्लेषणअनुसार करिब १०० सिटमा कांग्रेस र एमालेबीच प्रत्यक्ष प्रतिस्पर्धा हुनसक्ने र बाँकी सिटमा नेकपा, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), जसपा, आजपा, जनमत पार्टीलगायत दलहरूसँग कडा टक्कर हुने अनुमान गरिएको छ ।

सहरी क्षेत्र विशेषगरी काठमाडौं उपत्यकामा रास्वपाको प्रभाव देखिन सक्ने आकलन गरिएको छ । कर्णाली र सुदूरपश्चिममा नेकपाको चुनौती रहने, मधेश प्रदेशमा जसपा, आजपा र जनमत पार्टीसँग प्रतिस्पर्धा हुने र पूर्वी क्षेत्रमा हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टी प्रभावशाली बन्न सक्ने निष्कर्ष कांग्रेस–एमाले नेतृत्वले निकालेको स्रोतको भनाइ छ ।

Logo