काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)भित्र गहिरिँदै गएको असन्तुष्टिको निर्णायक मोड आज आउन सक्ने संकेत देखिएको छ । पार्टी एकतापछि असन्तुष्ट देखिएका कुलमान घिसिङले सभापति रवि लामिछानेसँग अन्तिम र निर्णायक वार्ता गर्ने तयारी गरेका छन्।
पार्टी स्रोतका अनुसार आज पार्टी समायोजन समिति र पदाधिकारीसहितको बैठकपछि कुलमान पक्षले रविसँग सीधा संवाद गर्नेछ। यसअघि मन्त्री पदबाट राजीनामा दिएपछि घिसिङले लामिछानेसँग भेट गरेका थिए भने त्यसलगत्तै तत्कालीन उज्यालो नेपाल पार्टीका नेताहरूसँग आन्तरिक परामर्श गरेका थिए ।
उनेपा वृत्तका अनुसार सो परामर्शमै “अब रास्वपासँग सहकार्य सम्भव छैन” भन्ने निष्कर्ष निकालिएको थियो। पार्टी एकताका बेला भएको सहमति कार्यान्वयन नभएको, पद–वरीयतामा पछाडि पारिएको र नीतिगत विषयमा गम्भीर मतभेद देखिएको भन्दै कुलमान पक्ष आक्रोशित छ ।
विशेषगरी संघीयता, धर्मनिरपेक्षता र समानुपातिक–समावेशी प्रतिनिधित्वजस्ता मुद्दामा सहमति नजुट्दा कुलमान पक्षले रास्वपाबाट बाहिरिने तयारी थालेको बुझिएको छ ।
यदि आजको वार्ता असफल भए कुलमान समूहले उज्यालो नेपाल पार्टीलाई निरन्तरता दिने, प्रत्यक्ष निर्वाचनमा आफ्ना उम्मेदवार उठाउने र समानुपातिकतर्फ वैकल्पिक राजनीतिक सहकार्य खोज्ने रणनीति बनाइसकेको स्रोतको दाबी छ ।































प्रतिक्रिया