काठमाडौं। नेपाली कांग्रेस केन्द्रीय सदस्य पुष्पा भुसालले पार्टीभित्र अब अवसरका लागि कुनै नेताको वरिपरि घुम्ने समय सकिएको स्पष्ट पारेकी छन्। उनले पार्टी गुटको आधारमा नभई विधान र नियम अनुसार चल्नुपर्ने बताइन्।
नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको उद्घाटन समारोहमा भुसालले भनिन्, “कांग्रेस अब गुटबाट मुक्त हुनुपर्छ, कृपाबाट मुक्त हुनुपर्छ। हामी गुट चिन्दैनौं, कृपा मान्दैनौं। दुई महामन्त्रीको नेतृत्वमा अब कांग्रेस बीपीको विचारमा आधारित भएर खडा हुनुपर्छ।”
भुसालले विशेष महाधिवेशनको मागलाई ५४ प्रतिशत प्रतिनिधिको हस्ताक्षरसहितको समर्थन जनाएको उल्लेख गर्दै, बन्दसत्रमा सबै प्रतिनिधि सहभागी हुन आह्वान गरिन्। उनले पार्टी सुधार र संगठन सुदृढीकरणतर्फ संस्थापन पक्षका ३० केन्द्रीय सदस्यहरूसहित आफूसमेत सक्रिय रहेको बताइन्।
विशेष महाधिवेशनको उद्घाटन समारोहमा उनले युवा नेतृत्व, संगठन सशक्तिकरण र पारदर्शी कार्यशैलीको सन्देश दिनुपर्नेमा जोड दिइन्। उनका अनुसार अब कांग्रेस पुराना गुट, कृपा र अवसरवादबाट मुक्त भएर भविष्यतर्फ अग्रसर हुनुपर्ने समय आएको छ ।





























प्रतिक्रिया