पहिलो विशेष महाधिवेशनले बीपी जन्मायो, दोस्रोले गगन उभ्याउँदै !

पहिलो विशेष महाधिवेशनले बीपी जन्मायो, दोस्रोले गगन उभ्याउँदै !

केन्द्रबिन्दु
21
Shares

काठमाडाैं । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनले नेतृत्व परिवर्तनको औपचारिक बाटो खोलेको छ । ६८ वर्षअघि पहिलो विशेष महाधिवेशनबाट बीपी कोइराला सभापति बनेजस्तै यसपटक महामन्त्री गगन थापा कांग्रेसको नेतृत्वमा अघि बढ्ने सम्भावना बलियो देखिएको छ।

कांग्रेसको दोस्रो विशेष महाधिवेशनले नेतृत्व परिवर्तनसमेत गर्न सक्ने गरी कार्यविधि पारित गरेको छ । आइतबार काठमाडौंमा सुरु भएको विशेष महाधिवेशनमा नीति र नेतृत्व परिवर्तनका लागि आवश्यक सङ्ख्यामा प्रतिनिधि उपस्थित भएको दाबी गरिएको छ।

पारित कार्यविधिको बुँदा नम्बर ५ मा नयाँ केन्द्रीय कार्यसमितिको निर्वाचन गर्ने व्यवस्था गरिएको छ। चौधौँ महाधिवेशन २०७८ (मंसिर २४–२८) बाट निर्वाचित केन्द्रीय कार्यसमितिको पदावधि समाप्त भइसकेकाले समितिको विघटन गरी १५ औँ महाधिवेशन सम्पन्न नहुँदासम्म नयाँ केन्द्रीय कार्यसमिति निर्वाचन गर्ने उल्लेख कार्यविधिमा छ।

७७ जिल्लामध्ये कम्तीमा ६२ प्रतिशत महाधिवेशन प्रतिनिधि सहभागी भएको दाबी गरिएको छ । १४ औँ महाधिवेशनमा ४ हजार ७ सय ४३ प्रतिनिधि थिए। प्रतिनिधिहरूको सहभागितासँगै विशेष महाधिवेशनमा नेतृत्व परिवर्तनको दबाब तीव्र बन्दै गएको छ।

केन्द्रीय समिति निर्वाचनअघि वा पछि महाधिवेशन गर्ने विषयमा लामो समयसम्म विवाद रह्यो । कार्यवाहक सभापति पूर्णबहादुर खड्काले विशेष महाधिवेशनलाई छलफलको औपचारिक एजेन्डामा राखेनन्। अन्ततः पुस २६ देखि २८ सम्म १५ औँ महाधिवेशन गर्ने कार्यतालिका मंसिर १५ मा पारित गरियो। तर, कार्यान्वयन हुन सकेन।

विशेष महाधिवेशन निष्क्रिय हुने एउटै शर्तसहित मागकर्ताहरूले प्रस्ताव अघि सारेका थिए। त्यो शर्त थियो—विशेष महाधिवेशनको समयसीमाभित्र नियमित महाधिवेशन हुनुपर्ने। संस्थापन पक्षले उक्त मागलाई बेवास्ता गरेपछि महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले अडानसहित विशेष महाधिवेशन अघि बढाए। यस क्रममा देउवा पक्षका केही नेता पनि विशेष महाधिवेशनमा सहभागी भए।

सभापति शेरबहादुर देउवानिकट नेताहरू भने विशेष महाधिवेशनको विपक्षमा छन्। नियमित महाधिवेशनको मिति तय भइसकेकाले विशेष महाधिवेशन विधानविपरीत रहेको उनीहरूको दाबी छ। यद्यपि संस्थापननिकट केही केन्द्रीय सदस्य र पदाधिकारीहरू महाधिवेशनमा सहभागी भएका छन्। शीर्ष नेताहरू अनुपस्थित रहे पनि बहुमत प्रतिनिधि सहभागी भएकाले नीति र नेतृत्व दुवै परिवर्तन गर्ने तयारी भइरहेको नेताहरूको भनाइ छ।

विशेष महाधिवेशनले सभापति शेरबहादुर देउवा नेतृत्वको वर्तमान केन्द्रीय कार्यसमिति विघटन गर्ने निर्णय पनि गरेको छ।

२०७८ मंसिर २४ देखि २८ गतेसम्म भएको चौधौँ महाधिवेशनबाट देउवा सभापतिमा निर्वाचित भएका थिए। अब देउवारहित कांग्रेस नेतृत्व गठन हुने संकेत देखिएको छ। उद्घाटन सत्रका अधिकांश वक्ता तथा प्रतिनिधिहरूको जोड महामन्त्री गगन थापालाई नेतृत्वमा अघि सार्ने विषयमा केन्द्रित देखिएको छ।

कांग्रेसको दोस्रो विशेष महाधिवेशन ऐतिहासिक सन्दर्भसँग पनि जोडिएको छ। पहिलो विधान अधिवेशनपछि ६८ वर्षपछि दोस्रो पटक विशेष अधिवेशन भएको हो। ९ माघ २०१२ मा भएको छैटौँ महाधिवेशनबाट सुवर्णशमशेर पार्टी सभापति बनेका थिए। राजा महेन्द्रले आम निर्वाचनको घोषणा गरेपछि सुवर्णशमशेरले कांग्रेस आफ्नो नेतृत्वमा चुनावमा जाँदा जित निकाल्न नसकिने निष्कर्षसहित विराटनगरमा विशेष महाधिवेशनको प्रस्ताव गरेका थिए।

२०१४ जेठ १० मा विराटनगरमा सम्पन्न विशेष अधिवेशनको उद्घाटन सत्रमै सुवर्णशमशेरले बीपी कोइरालालाई नेतृत्व लिन आग्रह गर्दै सभापति पदबाट राजीनामा दिएका थिए। दुई दिनसम्म चलेको महाधिवेशनले बीपी कोइरालालाई सभापतिमा सर्वसम्मत चयन गर्‍यो। सुवर्णशमशेर कोषाध्यक्ष बने भने विश्वबन्धु थापा र तुलसी गिरी महामन्त्री चयन भए।

त्यसपछि २८ चैत २०१५ मा सम्पन्न पहिलो प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसले १ सय ९ सिटमध्ये दुईतिहाइ बहुमतसहित ७४ सिट जितेको थियो।

त्यही ऐतिहासिक संयोग झल्किने गरी यस पटक पनि विधान महाधिवेशनलगत्तै फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन हुँदैछ। नेतृत्व परिवर्तनसहित चुनावमा जाने र विजयी हुने निष्कर्षमा महाधिवेशन प्रतिनिधिहरू पुगेका छन्।

विशेष महाधिवेशनले विधान संशोधन गरी नेताहरूको प्रवेश र बहिर्गमनको स्पष्ट व्यवस्था गर्ने, दुईपटक प्रधानमन्त्री भइसकेका व्यक्तिलाई पुनः प्रधानमन्त्री नबनाउने, एक पटकभन्दा बढी समानुपातिक सुविधा नदिने तथा एउटै व्यक्ति कति पटकसम्म मन्त्री बन्न पाउने भन्ने मापदण्ड तय गर्ने तयारी गरेको छ।

Logo