काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले झापा क्षेत्र नम्बर–५ बाट प्रतिनिधि सभाको चुनाव लड्ने चाहना व्यक्त गरेका छन्।
नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको निर्वाचन क्षेत्रसमेत रहेको झापा–५ मा आगामी फागुन २१ गते हुने भनिएको निर्वाचनमा आफू उम्मेदवार बन्ने संकेत बालेनले दिएका हुन्। चुनाव लड्नका लागि उनले माघ ४ गते राजीनामा दिने तयारीसमेत गरेका छन्।
आइतबार रास्वपा झापाका अध्यक्षसहितको टोलीसँगको भेटमा पनि बालेनलाई झापा–५ बाटै चुनाव लड्न आग्रह गरिएको थियो। त्यसपछि उनले आइतबार साँझ सामाजिक सञ्जालमा स्टाटस लेख्दै काठमाडौँबाहिर चुनावी अभियानमा निस्कने संकेत गरेका छन्— “शुभकामना सबैलाई!! हामी आउँदै छौं !!”
हालै रास्वपाका अध्यक्ष रवि लामिछानेसँगको सहकार्यपछि बालेनलाई पार्टीका वरिष्ठ नेता तथा भावी प्रधानमन्त्रीका सम्भावित उम्मेदवारका रूपमा समेत प्रस्तुत गरिएको छ। बालेन झापामा कुनै साइनो सम्बन्धका कारण होइन, एमाले अध्यक्ष केपी शर्मा ओलीसँग प्रत्यक्ष प्रतिस्पर्धा गर्ने उद्देश्यले जान लागेका हुन्। काठमाडौं महानगरको मेयर बनेदेखि नै एमाले र केपी ओलीसँग सुमधुर सम्बन्ध नरहेका बालेनको सम्बन्ध ‘जेन्जी आन्दोलन’पछि सरकार ढलेसँगै झनै तिक्त बनेको देखिन्छ।
झापाबाट चुनाव लड्न चाहेका बालेनलाई सोचेजति सहज भने छैन। भर्खरै मात्र रास्वपामा प्रवेश गरेका बालेनले निर्वाचन तयारीका रूपमा आफ्नो टिम परिचालन गरी एक सर्वेक्षण गराएका छन्। सो सर्वेक्षणमा चुनाव जित्ने सम्भावना देखिएपछि उनी झापा–५ रोज्न पुगेको बताइन्छ।
झापा–५ ओलीको बलियो निर्वाचन क्षेत्र हो, जहाँ उनले २०६४ सालबाहेक सबै चुनाव जित्दै आएका छन्। विकास निर्माणका ठूला काम र बलियो संगठनका कारण यो क्षेत्र एमालेको किल्लाका रूपमा चिनिन्छ।
तर रास्वपाका स्थानीय नेताहरू भने ‘बालेन आफैं नआए पनि स्वतन्त्र उम्मेदवार उठाएर ओलीलाई हराउन सकिन्छ’ भन्दै ढुक्क देखिन्छन्। सर्वेक्षणहरूले पनि यस क्षेत्रमा ‘घन्टी’ चिन्हप्रतिको आकर्षण देखाएको बताइन्छ, जसमा बालेन र रविको सहकार्यले थप उत्साह थपेको छ।
२०७९ को निर्वाचनमा ओलीले ५२ हजार ३ सय १९ मत प्राप्त गरेका थिए, जुन नेपाली कांग्रेसका उम्मेदवारभन्दा २८ हजार ५ सय ७६ मत बढी हो। सोही निर्वाचनमा रास्वपाका उम्मेदवार सुरेश पोखरेलले ११ हजार ७ सय ५९ मत प्राप्त गरेका थिए।
झापा–५ मा दमक नगरपालिका, कमल गाउँपालिका, गौरादह नगरपालिकाका वडा १–८ तथा गौरीगन्ज गाउँपालिकाका वडा ३–६ समेटिएका छन्। स्थानीय तहको निर्वाचनमा दमक नगरपालिकामा राप्रपा र कांग्रेसको चुनावी तालमेलबाट राप्रपाका राम थापा ५५९ मत अन्तरले विजयी भएका थिए।
कमल गाउँपालिकामा कांग्रेस–माओवादी गठबन्धनले एमालेलाई पराजित गरेको थियो भने गौरादह एमालेको पकड रहेको क्षेत्र हो। गौरीगन्जमा भने एमाले पराजित भएको थियो। यी स्थानीय तहमा एमालेविरुद्ध कांग्रेस, माओवादी र राप्रपासमेतको तालमेल बनेका कारण एमालेको हार भएको देखिन्छ।
पालिका मात्र होइन, वडागत मत परिणाम हेर्दा पनि एमाले सो क्षेत्रमा बलियो शक्तिका रूपमा देखिन्छ। कुल २९ वटा वडामध्ये १८ वडामा एमालेले एकल जित निकालेको छ भने बाँकी ११ वडामा कांग्रेस, माओवादी, राप्रपा, नेकपा (एस) र स्वतन्त्र उम्मेदवार विजयी भएका छन्।
ओलीले पाएको ५२ हजार ३ सय १९ मतको तुलनामा केही कम भए पनी स्थानीय तहमा एमालेका वडाध्यक्षहरूले पाएको कुल मत ४२ हजार ४ सय १९ रहेको छ। अन्य दलहरूको तालमेल र एमाले एक्लै चुनाव लड्दा प्राप्त परिणाम हेर्दा पनि एमाले अन्य दलभन्दा अगाडि देखिन्छ।
ओलीले प्रतिनिधि सभामा पाएको मत र स्थानीय तहमा एमाले उम्मेदवारहरूले पाएको मतले पनि यो क्षेत्रमा एमालेको बलियो पकड पुष्टि गर्छ। यस क्षेत्रमा अघिल्लो निर्वाचनको तुलनामा ९ हजार ९० नयाँ मतदाता थपिएका छन्।
फागुन २१ गते हुने निर्वाचनमा सबै दलले आ–आफ्ना उम्मेदवार उठाएमा एमाले अध्यक्ष ओलीले सहज जित निकाल्ने सम्भावना देखिन्छ। तर बालेन उम्मेदवार बनेर राप्रपा वा अन्य दलको सहयोग पाएमा निर्वाचन प्रतिस्पर्धात्मक बन्न सक्ने अनुमान गरिएको छ।





























प्रतिक्रिया