काठमाडाैं । नेपाली कांग्रेसको दोस्रो विधान सम्मेलनबाट नेतृत्व परिवर्तनसँगै विधान संशोधन गर्ने भनिए पनि पुरानै विधानअनुसार केन्द्रीय समितिको निर्वाचन हुने भएको छ।
भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनमा बहुमत महाधिवेशन प्रतिनिधिको सहभागितासँगै कांग्रेसमा नेतृत्व परिवर्तन हुने देखिएको छ। सार्वजनिक कार्यतालिका अनुसार मध्यान्ह १२:३० बजे प्रथम मतदाता नामावली प्रकाशन गरिनेछ भने दिउँसो ४ बजे अन्तिम मतदाता नामावली सार्वजनिक गरिनेछ। त्यसैगरी साँझ ८:४५ बजे उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गर्ने उल्लेख गरिएको छ।
यसपटक पनि यसअघिकै कार्यसमितिका पदहरूका लागि निर्वाचन हुन लागेको हो। जसअनुसार १ जना सभापति, २ जना उपसभापति, २ जना महामन्त्री र ८ जना सहमहामन्त्री चयन गरिनेछन्।
८ सहमहामन्त्री पदमा महिला, दलित, आदिवासी जनजाति, खस–आर्य, मधेसी, मुस्लिम, थारु र पिछडिएको क्षेत्र क्लस्टरबाट निर्वाचन हुनुपर्ने व्यवस्था छ।
केन्द्रीय समितिमा खुल्ला सदस्यतर्फ ३५ जना र महिला सदस्यतर्फ ९ जनाको कोटा निर्धारण गरिएको छ। प्रदेशअनुसार अपाङ्गता तथा अल्पसंख्यक समुदायबाट २–२ जना, दलित महिलातर्फ ४ जना र दलित खुल्लातर्फ ५ जनाको कोटा तोकिएको छ।
त्यसैगरी आदिवासी जनजाति महिलातर्फ ७ जना र आदिवासी जनजाति खुल्लातर्फ ८ जना चयन हुनेछन्। खस–आर्य महिलातर्फ ६ जना र खस–आर्य खुल्लातर्फ ७ जना, मधेसी महिलातर्फ ४ जना र मधेसी खुल्लातर्फ ५ जना निर्वाचित हुने व्यवस्था छ।
मुस्लिम महिलातर्फ १ जना र मुस्लिम खुल्लातर्फ २ जना, थारु महिलातर्फ २ जना र थारु खुल्लातर्फ २ जना सदस्य निर्वाचित हुनेछन्।





























प्रतिक्रिया