काठमाडौं । नेकपा (एकीकृत समाजवादी) पुनर्गठन अभियानका नेता घनश्याम भूसालले नेपाली काङ्ग्रेसको विशेष महाधिवेशनलाई सभापति शेरबहादुर देउवाको मात्र नभई ‘नालायक पुस्ता’कै सामूहिक सङ्कटको रूपमा व्याख्या गरेका छन् । उनले सत्ताको वरिपरि घुमिरहने र कुनै नयाँ भिजन दिन नसक्ने नेतृत्वका कारण सिंगो राजनीतिक प्रणाली नै जोखिममा परेको बताएका छन् ।
भूसालका अनुसार, वर्षौँदेखि सत्ताको कुर्चीमा टाँसिइरहने पुराना नेताहरूको पुस्ता अब असान्दर्भिक भइसकेको छ। “यो केवल देउवाको सङ्कट होइन, घुमीघुमी सत्ताको कुर्चीमा बस्ने नालायक पुस्ताकै सङ्कट हो,” उनले भनेका छन्, “र, त्यो पुस्ताको डोली बोकेर जीविका चलाउने नयाँ पुस्तामाथि पनि उत्तिकै सङ्कट छ।”
भूसालले वर्तमान राजनीतिक परिदृश्यमा बालेन शाह र रवि लामिछाने जस्ता पात्रहरूको उदयलाई सामाजिक मागको उपज मानेका छन् । “संविधान बनेपछि समाजले त्यसलाई बोक्न सक्ने नयाँ शक्ति खोजेको थियो, जुन कम्युनिस्ट र काङ्ग्रेसले दिन सकेनन्। बालेन वा रविहरूलाई त्यही अभावले जन्माएको हो। यद्यपि उनीहरू लोकप्रिय भए पनि अझै भरपर्दो शक्ति बन्न सकेका छैनन्।”
उनले बेलायती र जर्मन सामन्तहरूको उदाहरण दिँदै जो समयसँगै बदलिन तयार भए, उनीहरू जोगिएको बताए । तर, फ्रान्सेली र रुसी शासकहरू कूपमण्डुक भएका कारण उनीहरूको अन्त्य हिंसात्मक भएको स्मरण गराए । उनले चेतावनी दिँदै भने, “इतिहासमा बाँच्ने भनेको रुपान्तरित हुँदै बाँच्ने हो। अयोग्यले समयको शक्तिसँग सामना गर्नै पर्छ।”





























प्रतिक्रिया