काठमाडौँ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले देशलाई क्षणिक निर्णय र लोकप्रिय नाराबाट नभएर दीर्घकालीन दृष्टिकोण र इमानदार नेतृत्वबाट अघि बढाउनुपर्ने बताएका छन्।
भूकम्प सुरक्षा दिवसका अवसरमा सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै बालेनले विकासलाई सडक र भवनमा मात्र सीमित सोच्नु गलत भएको टिप्पणी गरेका छन्। उनका अनुसार विकास भनेको सुरक्षित संरचना, नागरिकको भरोसा र देशमै केही गर्न सकिन्छ भन्ने वातावरण निर्माण गर्नु भएको उल्लेख गरेका छन् ।
‘अब देशलाई अल्पकालीन सोच होइन, दीर्घकालीन दृष्टि चाहिएको छ। लोकप्रिय नारा होइन, इमानदार नेतृत्व चाहिएको छ,’ बालेनले लेखेका छन्।
२०७२ सालको भूकम्पपछिको अनुभव स्मरण गर्दै उनले सिभिल इन्जिनियरका रूपमा ३५ भन्दा बढी जिल्लामा काम गरेको उल्लेख गरेका छन्। काभ्रेमा मात्रै करिब २५ सय घर निर्माणमा संलग्न भएको उनको दाबी छ। ती अनुभवले नेपालजस्तो भूकम्पीय जोखिम भएको देशलाई केवल संरचना निर्माणले मात्र नबन्ने, नीति, समाज र भूगोललाई सँगसँगै अघि बढाउनुपर्ने पाठ सिकाएको उनको भनाइ छ ।
सुरक्षित राष्ट्र निर्माणका लागि स्ट्रक्चरल इन्जिनियरिङ, दीर्घकालीन योजना, जिम्मेवार नीति र इमानदार नेतृत्व अपरिहार्य रहेको बालेनको निष्कर्ष छ ।
भारतमा अध्ययनपछि सुविधा सम्पन्न देशमा बस्ने अवसर हुँदाहुँदै पनि स्वदेश फर्किएको उल्लेख गर्दै उनले काठमाडौं महानगरमा शब्दभन्दा कामलाई प्राथमिकता दिएको दाबी गरेका छन्। महानगरमा सुरु गरिएका पारदर्शी सेवा, संरचनागत सुधार र प्रत्यक्ष अनुभूति हुने कामलाई अब राष्ट्रिय स्तरमा विस्तार गर्दै अगाडि बढ्ने बालेनले संकेत गरेका छन् ।
































प्रतिक्रिया