म्याग्दीमा १३ उम्मेदवारको मनोनयन

म्याग्दीमा १३ उम्मेदवारको मनोनयन

केन्द्रबिन्दु
36
Shares

म्याग्दी। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि म्याग्दीमा दुई स्वतन्त्रसहित १३ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

सदरमुकाम बेनीमा स्थापना भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर आयोगले तोकेको समयसीमाभित्र उम्मेदवारहरूले मनोनयन दर्ता गराएको सहायक जिल्ला निर्वाचन अधिकृत जगतबहादुर भण्डारीले जानकारी दिएका छन् ।

अन्नपूर्ण गाउँपालिका–८ नाङ्गी घर भएका राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्षसमेत रहेका महावीर पुनले स्वतन्त्रबाट उम्मेदवारी दिएका छन् । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीबाट राजीनामा दिएर उनी उम्मेदवार बनेका हुन् । पुनसँगै स्वतन्त्रबाट नविन जिसीले पनि उम्मेदवारी दिएका छन् ।

यस्तै नेकपा (एमाले)बाट हरिकृष्ण श्रेष्ठ, नेपाली कांग्रेसबाट कर्णबहादुर भण्डारी, नेपाली कम्युनिष्ट पार्टीबाट अर्जुनबहादुर थापा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट युवराज रोका मगर, नेकपा (माओवादी)बाट क्षेत्रबहादुर घिमिरे, राप्रपाबाट डम्बरबहादुर सुवेदी, श्रम संस्कृति पार्टीबाट विनोद राना, मङ्गोल नेशनल अर्गनाइजेसनबाट भीमबहादुर लामा, राष्ट्रिय जनमोर्चाबाट छेमबहादुर विश्वकर्मा, प्रगतिशील लोकतान्त्रिक पार्टीबाट देवेन्द्र कामी र नेशनल रिपब्लिक नेपाल पार्टीबाट तुलप्रसाद गर्बुजाले उम्मेदवारी दर्ता गरेका छन् ।

निर्वाचन आयोगको निर्णयअनुसार उम्मेदवारहरूले शान्तिपूर्ण रूपमा मनोनयन दर्ता गरेका छन् । आगामी निर्वाचनका लागि म्याग्दीमा कुल ८६ हजार ३९७ मतदाता कायम भएका छन् । एक नगरपालिका र पाँच गाउँपालिकामा समेटिएको प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको म्याग्दीमा अन्य एक जना, महिला ४४ हजार ६४ र पुरुष ४२ हजार ३३२ मतदाता रहेका छन् । निर्वाचनका लागि जिल्लामा ८२ मतदान स्थल र १२० मतदान केन्द्र कायम गरिएका छन् ।

Skip This
Skip This
Logo